नेतृत्व गर्ने व्यक्तिमा सतबुद्धि पलाओस्
सम्पादकीय
राजनीतिक रूपमा सवल नेता नपाएकै कारण नेपाल विधि र प्रकृयाको लयमा जान सकेन । विधि र प्रकृया मिलेन भने व्यक्ति, परिवार, समाज वा राष्ट्रले सही बाटो भेट्न सक्दैन । यही समाज र राष्ट्रका लागि गठित कुनै पनि संस्था या राजनीतिक दल सञ्चालनको आ–आफ्नै विधि र पद्धति हुन्छ । जसले नेतृत्वलाई बाँधेर राखेको हुन्छ र सो बमोजिम चल्न मार्ग निर्देश गर्दछ । आफ्ना स्थापित मान्यताले सबैलाई डो¥याएको हुन्छ । तर, कहिले काँही समयको क्रममा नयाँ मान्यताहरू पनि विकसित हुँदै जान सक्छन् । लोकतन्त्रमा कसैले पनि आफूखुसी मनलाग्दी कुनै काम गर्न पाउँदैन र गर्न पनि हुँदैन तर सिंंगो संंस्था र अरू सदस्यहरू पनि यही बाटोमा मनलाग्दी गर्न होमिनुचाँहि सोचनीय विषय बन्न सक्छ । विगतमा प्रदेशको सरकारी राजनीतिलाई उदाहरण मानेर विकृतिको पोषक भएको आरोप लाग्ने गथ्र्यो किनभने सरकारमा पुग्नेहरू विधि प्रकृया र कानूनभन्दा माथि गएर स्वेच्छाचारी निर्णयमा रमाउथे ।
अहिले अत्यासलाग्दो बहुमतको नेतृत्व गरिरहेका संघीय सरकारका प्रधानमन्त्री बालेन्द्र शाह त्यही बाटोतिर छन् कि भन्ने प्रश्नले घेर्न थालेको छ । बाहिर आएर जनमानसमा बोल्न नचाहने आफ्नै संसदीय दलको कार्यालयमा समेत पुग्न अस्वीकार गर्ने तर मध्यरातमा फेसबुकबाट गलत संस्कारको शुत्रपात हुने अभिव्यक्ति छोड्ने परम्परा स्थापित गर्न खोज्दै छन् । अहिलेका लागि प्रधानमन्त्रीको यस्तो कदम सामान्य लागे पनि भविष्यका लागि निकेै ठूलो जोखिमको सुरूवात मान्न सकिन्छ । दलीय व्यवस्थामा दलगत अनुसाशन नमान्ने अवस्थाले देश र समाजको विकासमा समेत बाधा सिर्जना गर्न सक्छ ।
दशकौंदेखि नेपाल किन बनेन र अब बन्छ कि बन्दैन भन्ने प्रश्न नेपाललाई माया गर्ने हरेक नेपालीले गरिरहेका छन् । उत्तर नपाएपछि हामी नेपालीहरू आफ्नो भाग्यको खोजीमा अर्काको देशमा भौंतारिरहनु पर्ने बाध्यता दिनप्रतिदिन बढ्दै छ । यो अवस्था कति पुस्तासम्म रहने हो ? र यो क्रम कहिलेसम्म चल्ने हो ? अनि रोकिने कहिले ? राजनीतिक नेतृत्वले जवाफ दिनु पर्ने हो तर जवाफ बिहीन राजनीति सत्ता र शक्ति आर्जनमै केन्द्रीत छ । देशले सही बाटो समात्यो भन्ने लाग्यो या विश्वास भयो भने मात्र विदेशमा रहेका नागरिक देश फर्किएलान् । दुई÷चार पैसा जोडेका ल्याउलान् । उतै लगानी गरेर नबस्लान् । तर परदेशिएका हरेक घरका छोराछोरीलाई आश्वस्त पार्ने कसरी ? यसको जवाफ दिने दलका नेताहरू कुर्सीको सुविधाभोगमा लडिरहेका छन् । समाज र देश परिवर्तनको दायित्व बोकेका दलका नेताहरू गतिछोडेर कुबाटो लागे भने रूपान्तरणचाँहि कसरी संभव होला ? वडा दशैं २०८३ ले नेपालका नेतामा सतबुद्धि प्रदान गरोस् यही शुभकामना छ ।
हरेक वर्ष जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? आर्यहरूको कि जनजातिको पनि ? के जनजातिले दशैं मनाउन हुन्छ ? हरेक वर्ष यस्ता प्रश्नमा मानिसहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् । कोही दशैं हिन्दुको मात्र चार्ड हो भन्दछन् । कोही सम्पूर्ण नेपालीको महान चाड हो भन्छन् । कोही जनजाति विरोधी चाड हो पनि भन्दछन् । जब दशैं सकिन्छ, एक वर्षका लागि विवाद पनि हराउँछ ।
अवश्य धर्मपन्थमा विकृति छन् । धर्मले देवी खोज्न बाहिर नजाऊ, तिम्रो शरीर स्वयं देवी (प्रकृति) हुन् भनेको थियो । तर मानिसहरू आफ्नो शरीरभन्दा परको मूर्तिमा देवी खोज्न थाले । आफूभित्रको पशुवृत्तिको बलि चढाउ भनेको थियो । मानिसले निर्दोष पशुको हत्या गरेर रगत चढाउँदा देवी खुशी हुन्छिन् भन्ने अर्थ लगायो । धर्मलाई बुझ्दा यस्ता विकृतिलाई होइन, यस भित्रको विज्ञानलाई चाहिं बुझ्न जरुरी छ । राजनीतिभित्रको विकृति पनि यही अन्ध शक्तिआर्जनसित जोडिएको कारणले हुन सक्छ अनुहार फेरिए पनि नेतृत्वमा पुग्नेको चरित्र परिवर्तन हुन नसकेको हो । मुहारचित्रमा लेखेर होइन जनभावना अनुकुल काम गरेर अगाडि बढ्ने सतबुद्धि प्रदान हाोस् यही बडादशैको यही शुभकामना छ ।
