राजनीतिसमाचारस्थानीय

वीपी कोइरालाको ११२ जन्मजयन्तीमा विचार गोष्टी सम्पन्न

भद्रपुर । महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११२ औँ जन्मजयन्तीको अवसरमा झापाको सदरमुकाम चन्द्रगढीमा विचार गोष्ठी सम्पन्न गरिएको छ ।

वीपी प्रतिष्ठान झापाको आयोजनामा भद्रपुर–१० स्थित चन्द्रगढीको वीपी चोकमा रहेको वीपीको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै विचार गोष्ठी सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले सालिकमा माल्यार्पण गरेर गरेका थिए । गोष्ठीको औचित्यमाथि प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालले प्रकाश पारेका थिए ।

कार्यक्रममा युवा नेता भरत प्रसाईँले बीपीको अवधारणालाई औँल्याउँदै उनको राजनीतिक तथा साहित्यिक जीवनीवारे चर्चा गरका थिए । उनले बीपीको राष्ट्रवाद, प्रजातन्त्रान्तिक समाजवाद र लोकतन्त्रप्रतिको निष्ठालाई पार्टीका अग्रजहरूले कहिल्यै भुल्न नहुनेमा जोड दिए ।
सो अवसरमा प्रमुख अतिथि थेबे, पार्टीका महासमिति सदस्य राम कट्टेल, झापा जिल्ला उपसभापति केशवराज पाण्डे, क्षेत्र नं. १ का क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी लगायतले मन्तव्य राख्दै वक्ताहरूले बीपीले प्रतिपादन गरेको सिद्धान्तबमोजिम पार्टीलाई एकताबद्ध बनाउँदै आसन्न १५ औँ महाधिवेशन सफल पार्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लावण्यकुमार पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष लता कार्कीले गरेकी थिइन् । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य, क्षेत्रीय सभापतिहरू लगायत जिल्लास्थित पार्टी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।