राजनीतिसम्पादकीय

चिया निर्यात समस्या हल गर

सम्पादकीय

भारतीय बजारमा नेपाली चिया र सुपारीको माग उच्च छ । केही वर्षयता भारत सरकारले नेपाली उत्पादन चिया र सुपारीलाई त्यस देशमा आयात गर्न कडाइ गरेपछि चिया तथा सुपारी कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाउने अवस्था निर्माण भएको छ । यसको प्रमुख कारण चियाका लागि विषदीको प्रयोग अधिक भएको आरोप छ भने सुपारीका लागि तेस्रो देशबाट आयतित हुने सुपारी मिसाएर नेपालले भारत पठाउँदा गुणस्तर कमजो भएको भनिएको छ ।

नेपालमा सुपारी प्रशोधन गर्ने स्तरीय प्रशोधन केन्द्र नहुनु, भएका सुपारी प्रशोधन केन्द्र पनि तेस्रो देशको सुपारी नेपाली बनाउने र रातारात करोडौं कमाउने कालो व्यापारिक केन्द्र बन्दा बास्तविक नेपाली उत्पादन सुपारीले मार खप्नु परिरहेको छ । तेस्रो देशबाट आयातित हुने सुपारी नेपाली सुपारी जस्तो गुणस्तरीय नभएका कारण नेपाली सुपारीमा मिसावट गरी भारततिर पठाउन थालेपछि भारत सरकारले गुणस्तरको प्रस्न उठाउँदै केही वर्ष अघिबाट नेपाली सुपारी आयातमा कडाइ गरेको देखिन्छ । तर बैध बाटोबाट नेपाली सुपारी भारत जान नसके पनि अबैध बाटोबाट दिनहुँ हजारौं किलो सुपारी भारतीय वजारमा गइरहेको छ ।

नेपाली उत्पादन सुपारीले उचित मूल्य पाउँदैन, तस्कर यही सुपारीबाट मालामाल छन् भने कानुनको रक्षक सुरक्षाकर्मी सिद्धान्तमा सिमित भएर तस्करी सुन्य बताइ रहेको छ । तर अर्को उत्पादन चिया भने सुपारीको शैलीमा भारत निकाशी हुन सक्दैन । सरकारी पक्षबाट चिया निकासीका लागि भारत सरकारसित ठोस पहल नहुँदा अहिले चिया प्रशोधन लगभग ठप्प छ ।

नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको वार्षिक कारोवार लगभग १२ देखि १४ अर्ब रुपैयाँ बराबरको हुने गरेको छ । करीब ५ अर्ब रुपैयाँ बराबरको चिया छिमेकी देश भारत निर्यात हुने गरेको छ भने बाँकी तयारी चियामध्ये ५ अर्ब जतिको आन्तरिक रूपमा नेपालमै खपत हुँदा २ अर्ब जति मूल्य बराबरको चिया तेस्रो मुलुक निकासी हुने गरेको छ । नेपाल चिया उत्पादक संघका अनुसार नेपालमा लगभग १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक करीब २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गरेको छ भने भारततर्फ वार्षिक अढाई करोड केजी चिया निर्यात हुने गरेको छ ।

पछिल्ला वर्ष भारत सरकारले विभिन्न बहाना बनाएर नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि नेपालको चिया उत्पादनका केन्द्र झापा र इलाममा सञ्चालित चिया उद्योगहरू बन्द गर्नु पर्ने अवस्था आएको छ । चिया र सुपारी कृषि व्यवसाय अन्र्तगतका नगदे बाली भए पनि नेपाल सरकारले वैदेशिक व्यपारका लागि महत्वपूर्ण यी क्षेत्रका निकासी समस्या हल गर्न नसक्दा बास्तविक किशान तथा उद्यमी मारमा परेका छन् ।

सायद त्यही भएर हुनु पर्छ सुपारी व्यपारमा सिधा देखिने गरी सुपारी तस्करीमा प्रहरीले कडाई गरे पनि घुमाउरो शैलीमा विभिन्न नाका र माध्यमबाट तस्करी भइरहेको छ । मुख्य गरी झापाको काकरभिट्टा, बाहुण्डाँगी, सतिघट्टा, नकलबन्दा, भद्रपुर, पाठामारी, बनियानी, केचना, घेरावारी लगायत क्षेत्रबाट अबैध निर्यात नाकाका रुपमा उपयोगी बनाइ रहेका तस्कर समूहले पछिल्लो समय उत्तरी नाका बाहुण्डाँगी र दक्षिणी नाका केचना, घेरावारी झापा, गौरीगञ्ज लगायत सिमावर्ती क्षेत्रलाई सुपारी भारत निकासीका लागि सहज रुपमा प्रयोग गरीरहेका छन् । झापाका विभिन्न ग्रामिण क्षेत्रमा उत्पादन हुने सुपारी तस्कर समूहले भारत निर्यातमा रोक लागेको भन्दै न्युन शुल्कमा खरिद गरी प्रहरी प्रशासनसित मिलेमतोमा भारत निकासी भने गरिरहेका छन् ।

दक्षिणी नाकाबाट भारत पठाउने व्यापारिक समूहले जम्मा गरेको नेपाली सुपारीमा तेस्रो देशबाट आयातित सुपारी मिसाएर विभिन्न झुण्ड बनाई भारततिर पठाइ रहेका छन् । तर चिया किशानले सुपारीको शैलीमा चियालाई भारत पठाउन सक्ने अवस्था छैन । भारतमा अधिक माग रहे पनि वैध बाटोको विकल्पमा तयारी चिया भारतीय वजारमा पुर्याउन नसकिने कारण पनि नेपाल सरकारले चिया निकासीको समस्या सधैका लागि अन्त्य गर्नै पर्छ ।