भद्रपुरमा नाम मात्रको बजार अनुगमन
भद्रपुर । झापाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकामा भने बजार अनुगमनको नाममा वर्षौंदेखि ‘नौटंकी’ चल्दै आएको छ ।
भद्रपुर नगरपालिकाको अगुवाइमा हुँदै आइरहेका हालसम्मका बजार अनुगमनहरू केवल सुझाव, निर्देशन र नसीहतमै मात्र सीमित हुँदै आएका छन् ।
भद्रपुरको बजारमा बेलगाम ढंगले दैनिक उपभोग्य लगायतका सामग्रीको मूल्य वृद्धि भइरहेको छ । यदाकदा हुने बजार अनुगमन झारा टार्ने नाटक मात्रै हुँदै आएको पाइने गरेको छ । कैफियत भेटिएका पसलेहरूलाई न त कारवाही गरिन्छ, न त दण्ड वा जरिवाना नै गराइन्छ ।
नगर क्षेत्रमा आजसम्म भएका कैयौं अनुगमनले बजारलाई रत्तिभर अनुशासित बनाउन सकेको छैन । भद्रपुरमा हुने अनुगमनमा पसल–पसल छिरेर म्याद गुज्रेका सामान छुट्याउनु, व्यवसाय अनुमति नलिइकन वा नवीकरण म्याद गुजारेर वर्षौदेखि पसल सञ्चालन गर्दै आएका पसलेहरूलाई ‘चाँडै अनुमति लिनु र नवीकरण गर्नु’ भन्ने बाहेक कुनै कार्वाही गर्ने गरिएको छैन ।
नगरपालिका क्षेत्रमा पारि इण्डियाबाट ल्याइएका महिनौंअघिका माछा बिक्री गरिन्छ, कतिपय मासु पसलेले खसी भनेर बाख्राको मासु बेच्ने गरेका छन् । कतिपय होटलहरूमा ग्राहकलाई खसीको भनेर बाख्राको मासु बेचिन्छ । बधशाला बाहेकका स्थानमा मासु पसलेले खसी, कुखुराका भुत्ला एवम् त्यसका अन्य फोहर पसलै वरपरका नालामा फ्याँक्छन् र त्यस्ता पसल छेउछाउमा दुर्गन्ध फैलिने गरेको छ । तर, अनुगमन टोलीले स्थानीयको बारम्बार शिकायतका बाबजुद त्यो हेर्दैन, हेरेको छैन ।
स्थानीय नगरबासीका अनुसार, अनुगमनको नाममा विनियोजित बजेट टोलीको नेतृत्व गर्ने जनप्रतिनिधिदेखि लिएर जिल्ला प्रशासन, जिल्लास्थित सरोकारवाला सरकारी अड्डा र नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरूलाई भत्ता र खाजा खर्च बाँडेर सक्नु बाहेक यसको कुनै उपलब्धि देखिएको छैन ।
नगरमा भइरहेको बजार अनुगमनले स्थानीय सर्वसाधारणलाई कुनै राहत दिन सकेकै छैन । जिल्लाको सदरमुकाम जस्तो संवेदनशील नगरमा भइरहेको यस्तो सिलसिलेवार निकम्मापन र लाचारीपन अत्यन्तै आलोच्य र निन्दनीय छ ।
