राजनीतिसमाचारस्थानीय

बन्द भए चिया उद्योग तथा बगानहरू

भद्रपुर । नेपालको वैदेशिक व्यापार घाटा घटाउन उल्लेख्य योगदान गर्नेे कृषिमा आधारित उद्योग चिया क्षेत्रमा समेत भारतीय बक्र दृष्टि परेपछि भूराजनीतिक चक्रमा चियाको व्यापार चेपिन जाँदा उत्पादन नै रोकिने अवस्था निर्माण भएको छ ।

भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाउन विभिन्न परीक्षणको बाहनाबाजी गरेर राजनीतिक चालावाजी मार्फत सहजै भारतीय वजार पुग्न नसक्ने वातावरण बनाएका कारण चिया उद्योगहरू धमाधम बन्द हुन थालेका हुन् ।

१ असारदेखि इलामका ५६ उद्योग बन्द भएका थिए भने असार ४ गते विहिवारदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।

चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किए पनि सरकारले कूटनीतिक पहल नगर्दा बाध्य भएर असार ४ गतेदेखि उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले प्रष्ट पारेको छ ।

 

संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले चिया निर्यातमा गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि व्यवसायीहरू उद्योग बन्द गरेर उत्पादन रोक्न बाध्य भएका हुन् ।

नेपालकै सबैभन्दा धेरैे चिया उत्पादन हुने जिल्ला झापामा सीटीसी र अर्थोडक्स गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया उत्पादन भइ कारोबार हुने गर्दछ । संघको तथ्यांक अनुसार कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ । यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजगारीमा गम्भीर संकटमा पर्ने अवस्था छ ।