राजनीतिलेख

युद्धको त्रासदी र भूराजनीति

प्रकाश अधिकारी

“युद्ध कुनै पनि हालतमा एक व्यक्तिको अर्को व्यक्तिसँगको सम्बन्ध होइन, बरु राज्यहरूबिचको सम्बन्ध हो जसमा व्यक्तिहरू खालि संयोगले गर्दा न त व्यक्तिका रूपमा न त नागरिकको रूपमा बरू सिपाहीका रूपमा दुश्मन हुन्छन्,” भन्ने जँ–ज्याक रुसोको कालजयी शब्दहरू इरानविरुद्धको युद्धमा प्रासङ्गिक भएनन् । युद्ध चलिरहँदा युद्धको तत्कालको र चिरस्थायी परिणाम सामान्यजनले बेहोर्नु परिरहेको छ । यो युद्ध अन्यायविरुद्धको युद्ध होइन, आत्मरक्षाका लागि पनि होइन, यो युद्ध ‘इच्छाधीन’ को युद्ध हो, गरे पनि हुने, नगरे पनि हुने ।

युद्ध त्रासदी हो र अमानवीय पनि । यो अनिश्चित हुन्छ । पहिलो विश्वयुद्धको अन्त्यसम्म सशस्त्र शक्तिको सहारा लिनुलाई अवैध कामका रूपमा होइन बरु विवाद समाधान गर्ने स्वीकार्य उपायका रूपमा ग्रहण गरिन्थ्यो । सन् १९१९ को लिग अफ नेसन्सको सन्धि र १९२८ को प्यारिस सन्धि (ब्रियान्ड केलोग सन्धि) ले युद्धलाई गैरकानुनी बनाउन खोजे पनि त्यसको कार्यान्वयन गर्ने संस्थागत संरचनाको अभावमा दोस्रो विश्वयुद्ध हुन पुग्यो । दोस्रो विश्वयुद्धका विजयी राष्ट्रले जारी गरेको एटलान्टिक चार्टरमा पहिलो पटक राष्ट्रको क्षेत्रीय अखण्डता, जनतालाई आफ्नो शासनव्यवस्था आफैँ छनोट गर्ने आत्मनिर्णयको अधिकार, सबै राष्ट्रलाई समान रूपमा व्यापार गर्ने र आर्थिक सहयोग आदानप्रदानको अवसर र युद्धपछिको विश्वमा शान्ति कायम गर्न र आक्रामक राष्ट्रलाई निःशस्त्रीकरण गर्ने प्रावधानमा हस्ताक्षर गरिएको थियो । उल्लिखित सन्धिको भावनाको जगमा संयुक्त राष्ट्र सङ्घको बडापत्र तयार पारिएको हो ।

संयुक्त राष्ट्रसङ्घको बडापत्रले सदस्य राष्ट्रलाई आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्की दिनलाई निषेध गर्छ । युद्धको वैधानिकता वा औचित्य अन्तर्राष्ट्रिय कानुन अन्तर्गत संयुक्त राष्ट्र सङ्घले निर्धारण गर्छ । “सङ्गठनका सदस्यहरू आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको धम्की दिने अथवा प्रयोगको सहारा लिने कार्यबाट टाडै रहने छन् ।” बडापत्रको धारा ५१ मा आत्मरक्षाका लागि गरिएको युद्ध मात्र वैध हुने प्रावधान छ । जब कुनै राज्य अथवा राज्यको समूहले अर्को राज्य अथवा राज्यको अर्को समूहमाथि आक्रमण गर्छ, संयुक्त राष्ट्रसङ्घको बडापत्रले व्यक्ति अथवा सामूहिक आत्मरक्षाको अधिकार भन्ने कुरालाई समर्थन गर्छ । अन्तर्राष्ट्रिय कानुनमा युद्धलाई निषेध गर्ने बडापत्रको यो प्रावधान पहिलो हो ।

संयुक्त राष्ट्रसङ्घको बडापत्रको अध्याय ७ का आधारमा अन्तर्राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने राज्यविरुद्ध शान्ति स्थापना गर्ने उद्देश्यले सुरक्षा परिषद्ले शाक्तिको सामूहिक प्रयोगका सम्बन्धमा निर्णय गरेमा युद्ध हुन सक्छ । युद्धका समेत सीमा हुन्छन् । युद्धमा भाग नलिएका र भाग नलिने व्यक्तिलाई सुरक्षा प्रदान गर्न र युद्धका साधन तथा तरिकालाई नियन्त्रण गरी यसलाई कम पीडादायी बनाउन (अमिलिओरेट) सभ्यताको उषाकालदेखि नै सतत् प्रयास भइरहेको छ । महाभारत, बाइबल, कुरान जस्ता धेरै प्राचीन ग्रन्धमा शत्रुपक्षको सम्मानको वकालत गर्ने नियम छन् । महाभारतमा धर्मयुद्धका नियमको वर्णन पाइन्छ । युद्धरत पक्षले सदैव नागरिक र लडाकु तथा नागरिक संरचना र सैनिक उद्देश्यका बिच भेद गर्न सक्नु पर्छ ।

अमेरिका–इजरायल गठबन्धन र इरानबिच पाँच हप्ताभन्दा बढी चलेको भीषण भिडन्त ३९ औँ दिनमा दुईहप्ते युद्धविरामको सहमतिसँगै हालका लागि रोकिएको छ । प्रकाशमा आए अनुसार युद्धको उद्देश्य इरानको आणविक क्षमतालाई निस्तेज पार्नु, लामो दुरीका क्षेप्यास्त्र विकास गर्ने क्षमतालाई तहसनहस पार्नु र क्षेत्रीय सहयोगीलाई कमजोर पार्नु हो । सामाजिक सञ्जालमा बेला बेलामा गरिएका पोस्टमा इरानको धार्मिक नेतृत्वलाई सत्ताच्युत गर्न इरानियनहरूलाई जगाउनु, प्रेरित गर्नु पनि हो भनी दोहोराइएको पाइन्छ । युद्धको चौथो दिन विश्वमा उत्पादन हुने पेट्रोलियम पदार्थ उत्पादनको पाँचौँ भाग निर्यात गरिने हर्मुज जलडमरु बन्द गरिएपछि तनाव गल्फ क्षेत्रभरि फैलिएको छ । यो नाटकीय रूपले तेलको भाउ वृद्धिको तनावको तीव्रता वैश्विक आर्थिक गुञ्जनमा रेखाङ्कित हुन पुगेको छ । गल्फ राष्ट्रहरूको निर्यात ९० प्रतिशत जति झरेको छ र अर्थतन्त्र नौ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको छ । यसले ‘पेट्रोडलर’ को समाप्तिको भविष्यवाणी गरिएको छ र अमेरिकी दबदबाको पनि ।

युद्धको अवधिमा अमेरिकी सेनाले इरानको भूमिमा १३ हजार पटक हवाई प्रहार गरेको थियो । पहिलो दिनको प्रहारबाट दक्षिणी इरानको मिनाभ विद्यालयका १७५ जना बालिका मारिएका थिए । यो युद्धमा उच्चपदस्थ २५० इरानियन इजरायलले मारेको दाबी गरिएको छ । इरानले गरेको प्रहारबाट १३ अमेरिकी सैनिकको मृत्यु भयो । अमेरिकी–इजरायल हमलामा परी तीन हजारभन्दा बढी इरानियनको मृत्यु भएकोमा त्यसमा एक हजार सात सय सर्वसाधारण थिए । इरानको मिसाएल प्रहारले मर्ने इजरायलीको सङ्ख्या २३ थियो । लेबनानमा इजरायल आक्रमणबाट मरेका मानिसको सङ्ख्या झन्डै दुई हजार तीन सय पुगेको लेबनिज अधिकारीलाई उद्धृत गरी समाचार प्रकाशित र प्रसारित भएका छन् । गल्फ अरब मुलुकमा अमेरिकी सैनिक शिविरहरूलाई ताकेर इरानले गरेको मिसाएल र ड्रोनको प्रतिशोधात्मक प्रहारमा परी कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ ।

अमेरिकाको यो सैनिक अभियानमा २५ अर्ब डलर शस्त्रास्त्र र औजार उपकरणको मर्मतसम्भारमा खर्च भएको अमेरिकी संसद्मा जानकारी दिए पनि समग्रमा यो युद्धले अमेरिकी अर्थतन्त्र र ३३ करोड अमेरिकीलाई ६३० अर्बदेखि एक खर्बसम्मको खर्च गराएको भनी समाचार प्रकाशमा आएको छ ।

सिन्थेटिक रबर र सिलिकन तेलको आपूर्तिमा आएको झट्काले कण्डम उत्पादन गर्ने विश्वको शीर्ष कम्पनीले कण्डमको भाउ ३० प्रतिशतले वृद्धि गरेको छ । आल्मुनियमको भाउ बढेसँगै क्यान बनाउन नसकेपछि भारतमा डाइटका रूपमा प्रयोग हुने कोकको बजारमा अभाव हुन थालिसकेको छ । हेलियमको बढ्दो मूल्यले एमआरआई सेवा महँगो भएको छ । यो मेसिन ग्यासले चिस्याउनु पर्छ, ग्यास पनि महँगो छ । युद्धले त्यस क्षेत्रमा रहेका जीर्ण रोगीको व्यवस्थापन र सुत्केरी तथा नवजात शिशुको हेरचाहमा अवरोध पु¥याउँछ, सङ्क्रामक रोगको नियन्त्रण र मानसिक स्वास्थ्यसेवा प्रवाह हुन नसकी मृत्युदर बढ्छ, दीर्घकालीन रोगीको सङ्ख्या बढेर युद्धमा भएको मानवीय क्षतिलाई उछिन्छ । यो युद्धले कुनै पनि राष्ट्र स्वतन्त्र छैन, अन्तरनिर्भर छ भन्ने तथ्य स्थापित गरेको छ ।

युद्धले खाद्यान्नमा सङ्कट ल्याउने छ । मलखादको धेरै ठुलो भाग स्ट्रेट अफ हर्मुज भएर तेल र ग्याससँगसँगै आउँछ । युद्धको सुरुवात उत्तरी गोलार्धमा खेती लाउने सिजनमा भएकाले आसन्न भविष्यमा खाद्य सङ्कटलाई टार्न सकिने छैन । बाह्य संसारसँग जोडिने एक मात्र हर्मुज जलडमरु खाडी युद्धको आरम्भसँगै बन्द भएपछि ग्यास र मलखादको ठुलो निर्यातकर्ता कतारको संसारसँगको ढोका पनि बन्द हुन पुगेको छ । विश्व खाद्य कार्यक्रम अनुसार इरान युद्धका कारण साढे चार करोडभन्दा बढी मानिस गम्भीर भोकमरीतिर धकेलिने छन् । युद्धग्रस्त दक्षिणी सुडानमा अकालको जोखिम बढेर गएको छ ।

विश्व अर्थतन्त्रको कुनै भाग युद्धबाट अछुतो रहन सकेको छैन । यसबाट पृथ्वीका धेरै मानिस प्रभावित भएका छन् । संसारभरिकै गरिब देशका जनतालाई युद्धले गहिरो पीडामा पु¥याएको छ । कोभिडकालीन पाराको घरबाट काम र हप्तामा चार दिन मात्र काम गर्ने आपत्कालीन नीति सरकारहरूले लिइरहेका छन् । कच्चा पदार्थको आपूर्तिमा भएको अवरोधले उद्योगको उत्पादनमा अङ्कुश लागेको छ । युद्ध फर्किने सम्भावना न्यून भए पनि यसले विश्व अर्थतन्त्रलाई आफ्नो सिकन्जामा पारिसकेको छ । इरान युद्धको विषम लाभ लिन सफल भएको छ । रुसका भूतपूर्व राष्ट्रपति डिमित्रि मेदभेदेवका शब्दमा इरानको हर्मुज जलडमरु परमाणु शस्त्रागार समकक्ष हतियार हो । युद्धमा प्रतिद्वन्द्वीको जमिनमा बर्दीधारी सेनाको उपस्थिति भएको छैन । संसारलाई नै असर पार्ने समयसीमा नभएको अधिपत्य जारी छ । यो युद्धलाई विश्वयुद्ध भनिएको छैन तर युद्धको असरको फैलावट समष्टिमा छ । शान्ति सन्धि भएको अवस्थामा पनि उल्लिखित कुनै पनि कुरालाई कुनै फरक पार्न सक्ने देखिँदैन । यो सम्पूर्ण युद्ध भएको छ ।

युरोपमा अमेरिकाबिनाको नेटोको विषयमा छलफल भइरहेको छ । गल्फ क्षेत्रका अमेरिकी सुरक्षा छातामा रहेका भनिएका अरब राष्ट्रलाई इरानले पु¥याएको क्षतिलाई हेर्दा अमेरिकी सेनाले ताइवान माथि चीनले आक्रमण गर्दा के जोगाउन सक्ला भनेर संशय व्यक्त गर्न थालिएको छ । हवाई युद्धले मात्र इरानको परमाणु कार्यक्रम सखाप पार्न र सत्ता परिवर्तन गर्न नसकिने ट्रम्प प्रशासनले महसुस गरेको अहिलेको अवस्था हो ।

परम्परागत युद्धमा सेनाको सङ्ख्या र गोलाबारुद एवं अन्य सैन्य उपकरणले सैन्य शक्तिलाई बुझाउने गरेकामा यो युद्धले नवप्रवर्तन र प्रविधिका उपकरण प्रयोग गरी खास लक्ष्यमा अचुक निसाना लगाउन सक्नेले मात्र युद्धलाई आफ्नो पक्षमा पार्न सक्ने प्रमाणित गरेको छ । युद्धले अमेरिकी सैन्य शक्तिको सेखी झरेको छ, युद्धको योजना बनाउने पेन्टागनको समिति लज्जित भएको छ र विश्व रङ्गमञ्चमा रहेको अमेरिकी प्रतिष्ठा छिन्नभिन्न भएको छ । बाराक ओबामा वा जो बाइडेनका पालामा जस्तो वैश्विक नेतृत्व गर्ने अवसर अब अमेरिकालाई आउला भन्ने सम्भावना मधुरो देखिन्छ । युद्धले विश्वमा अमेरिकी वर्चस्वको समाप्तितिर सङ्केत गरिरहेको छ ।

अर्को दृष्टिकोणबाट हेर्दा युद्धले अमेरिकालाई क्षति पुगे पनि अमेरिका शीर्षस्थानमा नै टिकेको स्थिति छ । युद्धमा लिएको अग्रताले कम्तीमा तत्कालका लागि अमेरिका विश्वशक्ति रहेको कुरालाई विकृत रूपमा अनुमोदन गर्छ । आखिरमा बिना कुनै ठोस कारण युद्ध गरेर यो सबै लथालिङ्ग पारेर वैरभावबापत अमेरिकालाई के प्राप्ति भएको छ ? व्यर्थको यो युद्धले संसारभरि नै ल्याएको उथलपुथल र आममानिसको जीवनमा थोपरेको पीडा एउटा महाशक्ति राष्ट्रले मात्र गर्न सक्छ, अमेरिकाले ग¥यो । युद्धले विविध सङ्कट (पोलिक्राइसिस) निम्त्याएको छ । विविध सङ्कट एउटा नाजुक वैश्विक माकुराको जालो जस्तै हो र माकुरो चाहिँ अमेरिका हो । अहिले सारा संसार नै अमेरिकी अतिक्रमणको ‘बन्दी’ भएको छ जसमा एकपछि अर्को आर्थिक उथलपुथलले मुलुक थिचिएका छन् । अमेरिकाको छुट्टै भौगोलिक अवस्थिति, विश्वको सबैभन्दा ठुलो पेट्रोलियम पदार्थको उत्पादक भएकाले ऊर्जामा आत्मनिर्भर र धनधान्यले भरिपूर्ण मुलुक हो ।

(लेखक अधिकारी जिल्ला न्यायाधीश हुनुहुन्छ ।)