पत्रकार महासंघ झापाको प्रशासन कार्यालयमा धर्ना
भद्रपुर । अधिनायकवादी बोटो रोज्दै गरेको बालेन्द्र साह नेतृत्वमा रहेको सरकारको विभेदकारी र स्वेच्छाचारी सूचना विज्ञापनसम्बन्धी निर्णय खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएको छ ।
पत्रकार महासंघ केन्द्रको आन्दोलन सम्बन्धी निर्देशन अनुसार महासंघ झापा शाखाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय झापाको मुख्य प्रवेशद्वारमा झापाली पत्रकारहरू एक घण्टा धर्ना बसेका हुन् ।

सरकारी रवैया बिरूद्ध ‘सूचना विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर, जिम्मेवारी पत्रकारिता हामी गर्छौ प्रेस स्वतन्त्रताका लागि अघि बढ्छौ ,नेपाल पत्रकार महासंघका मागहरु तत्काल सम्बोधन गर, प्रेस स्वतन्त्रता जिन्दावाद, निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर ’लगायतका नारा लेखिएका प्लेकार्डसहित झापाली पत्रकारहरु धर्नामा बसेका थिए ।

नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन गरिरहेको छ । वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएको भन्दैं महासंघले थप आन्दोलनका कार्यक्रम तय गरि २१ जेठमा प्रदेश समिति, जिल्ला, प्रतिष्ठान र एसोसिएट संस्थालाई सर्कुलर गरेको थियो ।
१८ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूपता बनाउन भन्दै सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन प्रसारण गर्न निर्देशन दिएको थियो ।
महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा सम्पन्न धर्नापछिको कोण सभालाई महासंघ झापाका सल्लाहकार राजेन्द्र गौतम, पूर्व सभापति चिन्तमणि दाहाल तथा पूर्व अध्यक्ष गणेश पोखरेलले सम्बोधन गर्दै नबोल्ने प्रधानमन्त्रीको नेतृत्वको सरकार आफ्नो अभिष्ठा पूरा गर्न अधिनायकवाद लाद्न लागि परिरहेकाले सवै पक्ष सजग रहन आग्रह गरेका थिए ।
