झापामा पहिलो पटक मखना खेती गर्दै चन्द्र राजवंशी
द्रोण अधिकारी
भद्रपुर । धानको राजधानी भनेर चिनिने पूर्वी दक्षिणी झापाको कचनकवलमा नेपालमै पहिलो पटक हिलोमा फल्ने कमल प्रजातिको पोषक खाद्य तत्व भएको मखना खेतीको थालनी गरिएको छ ।
युवा कृषक चन्द्र राजवंशीले सिमावर्ती छिमेकी देश भारतको विहारबाट सिकेर पहिलो पटक कचनकवल ४ केचनामा २० विगाह क्षेत्रफलमा मखना खेती थालेका हुन् ।
१० वर्षका लागि प्रति विगाह ३० मन धानको मूल्य अग्रिम तिरेर भाडाको जमीनमा राजवंशीले धान, मकैको ठाउँमा मखना रोपेका हुन् । फराकिला पातको माथिल्लो भाग पूरै काँडाले ढाकिएको मखना बैशाख अन्तिम साताबाट फुल्न थाल्ने र साउन अन्तिम साताबाट पाक्न थाल्ने लामो चक्र भएको खाद्य पदार्थ रहेको राजवंशीको भनाइ छ ।
३९ वर्षीय राजवंशी २० वर्षयता कृषि व्यावसायमा जीवन चलाइ रहेका भए पनि धान, मकै खेती तथा माछा पालनमा मात्र सिमित थिए । उनले नजिकै सिमाना जोडिएको भारतीय जमिनमा महंगो उत्पादन लिन सकिने मखनाको खेती नजिकबाट निहालेपछि राम्रो लाभ हुने आशमा पहिलो पटक नेपालमा मखना खेती भित्र्याएको बताउँछन् ।
कसरी हुन्छ खेती ?
पौषबाट खनजोत गर्दै सुरू हुने मखनाले उत्पादन दिन भदौसम्म ८ महिना कुर्नु पर्ने हुन्छ । सुरूवातमा दर्जन बढी पटक खनजोत गरी मिहिन माटो मनाएर खेतका गह्राहरू सम्याउने, पानी राम्ररी जम्ने गरी बलिया आली लगाउने काम सकेपछि बिऊ वा विरूवा रोपेर पोखरी जस्तै अटुट पानी जमाउने गरिन्छ ।
मखनाको बिरूवा ठूला काँडेदार पातले भरिएका हुन्छन् । एउटा बोटमा सरदर ४ वटासम्म पात रहने गर्दछ । तिनै पातको बीचबाट फलका लागि फुल टुसाएर फक्रने गर्दछ । बैशाखको अन्तिम साताबाट टुसाएको फूलले असारभित्र पूर्ण फल लगाउँछ भने त्यसको दुई महिनाभित्र फल पाक्ने समय रहने कृषक राजवंशी बताउँछन् ।
राजवंशीले बिऊदेखि रोप्ने प्रविधिसम्म भारतबाट आयात गरेर खेती लगाउँदा करिब १४ लाख खर्च भइसकेको बताउँछन् । उनले उत्पादित मखना बिना अवरोध भारततिर निकासी गर्न पाए प्रति बिगाह ३ लाख हाराहारीमा नाफा कमाउन सकिने आँकलन गरेका छन् ।
बजार कहाँ छ ?
भारतीय सिमावर्ती क्षेत्रमा गरिएको मखनाखेतीको उपज बिक्री गर्ने बजार समेत भारतलाई आधार मानिएको छ । सरकारी स्तरबाट यो खेतीको कुनै पहिचान र सहयोग पनि नरहेका कारण सहज रूपमा भारतमा लगेर बेच्न पाइने हो कि होइन भन्नेमा कृषक भने चिन्तित छन् ।
अहिलेसम्म नेपाली भूमिमा यस खाले खेती नगरिएका कारण हेर्नकै लागि पनि धेरै मान्छेहरू चन्द्रको मखना खेतमा पुग्ने गरेका छन् । यो खेतीका कारण कचनकवलमा आन्तरिक पर्यटक समेत बढिरहेको सो क्षेत्रकी स्थानीय खुसी राजवंशीको भनाइ छ । प्रति बिगाह ३० मन धानको मूल्य तिर्ने गरी दश वर्षका लागि भाडामा लिइएको धान खेतमा पानी जमाएर गरिएको मखना खेती सवैका लागि अनौठो व्यवसाय मानिएको छ ।

यसको महत्व के छ ?
पूजापाठमा पवित्र अन्नका रूपमा चढाइने पर्सादी भए पनि नेपालमा भने यसको उपयोग मात्र गरिने गरिएको छ । पूजा पाठका लागि भारततिरबाट आयातित गरिने गरिएको मखनाको फल मानव स्वास्थ्यका लागि महत्वपूर्ण पौष्टिक तत्वका रूपमा लिइने गरिन्छ । भारतमा बालकालिका तथा बृद्धबृद्धाका लागि पनि मखनाका विभिन्न परिकार बनाएर खुवाइने गरिन्छ । यस कारण पनि यसको माग हरेक वर्ष बढ्दै जाँदा महंगो मूल्यमा बिक्री हुने गरेको छ ।
नेपाली बजारमा पनि मखाना छ्यापछ्याप्ती भेटिन्छ । ठूला मार्टदेखि किराना पसलसम्म मखाना उपलब्ध छन् । खासगरी स्वास्थ्यप्रति सचेत व्यक्तिले यसलाई बढी रूचाइएको पाइन्छ । खानालाई फक्स नट, लोटस सीड र केही अन्य नामले पनि चिनिन्छ । यो कमलको प्रजातिमा पर्ने महत्वपूर्ण पोषक तत्व भएको फल हो । भारतको बिहारमा मखाना सबैभन्दा बढी उत्पादन गरिन्छ । लगभग ९० प्रतिशत मखानाको उत्पादन बिहारमा हुन्छ । मखाना संकलन गर्ने सुकाउने र भण्डारण गर्ने प्रक्रिया निकै लामो र झञ्झटिलो हुन्छ । मखानालाई ‘अर्गानिक खाद्य’ भनिन्छ किनभने यसलाई रासायनिक मल वा कीटनाशक विषादीको उपयोगविनै उमारिन्छ । यसलाई आफ्नो आहारामा नियमित रूपमा सामेल गर्न सके स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा पाउन सकिने स्वास्थ्यकर्मी बताउने गर्छन् ।
पानीमा फल्ने मखाना पोषक तत्वले भरिपूर्ण हुन्छ । यसमा पाइने पोषक तत्वका कारण यसलाई सुपर फुड पनि भनिन्छ । मखानामा सोडियम र फ्याट कम हुन्छ । साथै यसमा प्रोटिन र फाइबरको मात्रा राम्रो हुन्छ । मखानामा भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, म्याग्नेसियम, पोटासियम र फस्फोरस प्रशस्त मात्रामा पाइने पोषणविद बताउने गछन् ।
धर्मशास्त्रमा समेत महत्व दिएको फल
यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना भनिएको छ । आयुर्वेदका अनुसार मखानाको सधैंजसो खाने गर्दा वीर्यको गुणस्तर र मात्रा बढ्दै जान्छ, शीघ्रपतनलाई रोक्छ । कामेच्छा बढाउँछ । महिलाको बाँझोपन हटाउन पनि यो सहयोगी मानिन्छ । मखानामा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । यसैले यो खाने गरे जोर्नीको दुखाइ, गठियाजस्ता बिमारले त्यति पिरोल्न पाउँदैन ।
सरकारी सहयोग र सदभावविनै आकाशे पानीमा खेती भइरहेको कचनकवलमा आफ्नै लगानीले बोरिङ गरेर मखनाका लागि पानी जमाइ रहेका नेपाली किशानको लाखौं लगानीमा फल्दै गरेको केचनाको मखनाले बजार पाउन सके आगामी वर्ष यो खेती निकै विस्तार हुने संकेत देखिन्छ ।
