समाचारस्थानीयस्वास्थ्य

झापामा ८४ प्रतिशत नागरिक स्वास्थ्य विमामा

भद्रपुर । झापामा स्वास्थ्य विमा कार्यक्रममा ८४ प्रतिशत नागरिक जोडिएका छन् । चालु आर्थिक वर्ष २०८२÷८३ को चैत २४ गतेसम्म जिल्लाका आठ लाख ४२ हजार ३३० नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोक कार्यालयको विवरणले देखाएको हो । जसलाई झापाको कुल जनसंख्याको आधारमा ८४ दशमलव ३९ प्रतिशत देखिन आउँछ ।

नेपाल सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको हरेक वर्षका विवरणले देखाउने गरेको छ ।

“राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान” मूल नारासहित स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले मनाइएको दशौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको थियो ।

सोही अवधिसम्म जिल्लामा बीमित परिवारको संख्या दुई लाख १७ हजार ५२३ पुगेको छ, जुन जिल्लाभरका कुल परिवार सङ्ख्याको ९८ प्रतिशत हो । स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय संयोजक लक्ष्मी कँडेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमाको पहुँच विस्तार भइसकेको छ ।

स्थानीय तहगत विवरणअनुसार दमक नगरपालिकामा सबैभन्दा बढी एक लाख २२ हजार ७९७ नागरिक बीमित भएका छन् भने झापा गाउँपालिकामा सबैभन्दा कम १९ हजार ४९ जना बीमामा आबद्ध छन् ।

जिल्लामा हाल २७ स्वास्थ्य सेवा प्रदायक संस्था स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भई सेवा प्रवाह गर्दै आएका छन् । सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको संयोजक कँडेलले जानकारी दिइन् ।