एसईईमा झापाबाट १७ हजारभन्दा बढी विद्यार्थी सहभागी
भद्रपुर । झापामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १७ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
चैत १९ गतेदेखि २९ गतेसम्म हुने परीक्षामा नियमित र ग्रेड वृद्धि गरी १७ हजार छ सय ६३ जना विद्यार्थी सहभागी भएका हुन् ।
झापा जिल्लामा नियमिततर्फ १५ हजार चार सय एक जना र ग्रेड वृद्धितर्फ दुई हजार दुई सय ६२ जनाले एसईई परीक्षामा सहभागी भएका छन् । जिल्लाभरिका ५७ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षामा आठ हजार नौ सय ३२ जना छात्र र आठ हजार सात सय १३ जना छात्राले परीक्षा दिदै छन् ।
जिल्लामा २०७९ सालमा एसईई परीक्षा दिएका विद्यार्थीहरूले समेत यस वर्ष ग्रेड वृद्धिका लागि परीक्षा दिन अवसर पाएका छन् । उनीहरुका लागि झापा सदरमुकाम स्थित चन्द्रगढीको वीरेन्द्र माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
