नैतिकता सवै नेताले देखाउनु पर्छ
सम्पादकीय
भदौ २३ को विद्रोह र २४ को बिध्वम्सपछि नेपालको राजनीतिमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको औचित्य लगभग समाप्त भएको आम नेपाली जनमानसमा परिसकेको थियो । त्यस विकराल परिस्थितिबाट यी पार्टीलाई बाहिर ल्याउन समयानुकुल परिवर्तन हुने संकल्प सहित अगाडि आउने नेताको खोजी पनि भइरहेकै थियो तर नेतृत्वमा रहेका शेरबहादुर देउवा, केपी ओली र प्रचण्डहरूले त्यस विद्रोहलाई कुनै आन्दोलन नै ठानेनन् । उनीहरूका ओरपर परिक्रमा गरेर राजनीतिक भविष्य बनाउने गिरोहले समयको माग प्रतिकुल नेतृत्वमा रहेका नेपाली राजनीतिलाई बदनाम बनाउने यी तीन पात्र सही भएको भजन गाइरहँदा प्रमुख ३ पार्टीका मतदाता तथा शुभचिन्तकहरूले मत बदल्ने अठोट गरिसकेका थिए ।
यसैबीच नेपाली काँग्रेसभित्र समयानुकुल बदलिन तल्लो तहका कार्यकर्ताले दबाब बढाएपछि तत्कालिन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेर काँग्रेस बदल्ने हिम्मत गरे । परिणाम स्वरूप २७ पुषदेखि ३० पुससम्म काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले गगनकुमार थापालाई सभापतिको जिम्मेवारी समेत दियो । जेनजी आन्दोलन पछिको विशेष महाधिवेशनमा नेपाली काँग्रेसले आफ्नो पुरानो चोला फेरेर समय सापेक्ष एजेन्डाहरू सहितको नयाँ चोलामा प्रस्तुत भएको अनुभूति आम कार्यकर्तामा परेको थियो । काँग्रेस पक्षधर मात्र नभएर गैर काँग्रेसी बुद्धिजीविमा समेत यो नेतृत्व परिवर्तनले काँग्रेसभित्र दशकौंदेखि जाम भएको भ्रष्ट आचरण, पद र पैसाप्रतिको मोह भंग भएको उत्साह पैदा गराएको थियो तर फागुन २१ को निर्वाचन परिणामले काँग्रेसभित्रको रूपान्तरण प्रयास स्वीकार गरेको सुखद संकेत देखिएन ।
पुरानो नेतृत्व र यसका अदूरदर्शी निर्णय प्रक्रियालाई हटाई दीर्घकालसम्म पार्टी र नेपाली समाजको समय सापेक्ष रूपान्तरणका लागि अङ्गिकार गरिएका युगान्तकारी मुद्धाहरू एउटै चुनावको पराजयसगैं असफल भएको तीव्र प्रचारवाजी काँग्रेसभित्रका तरमारा वर्गका झोलेहरूले गर्न थाले । कहिलेकाँही पार्टीका नयाँ विचार र मुद्धाले मात्र चुनाव हाँकिदैन, पार्टीका विचार र मुद्धालाई जनस्तरसम्म पु¥याएर विश्वस्त बनाउन निकै समय पनि लाग्न सक्छ भन्ने तथ्य तरमाराहरूले बुझेर पनि बुझपचाउँदा रूपान्तरणको बाटोमा रहेको काँग्रेसलाई रोक्ने प्रयास भइरहेको छ । पुरानो नेतृत्वको विगतका अकर्मन्यताले जनस्तरमा टुटेको सम्बन्ध यस निर्वाचनमा पराजयको कारक थियो । नेतृत्व फेरिएको थोरै समयभित्र युगान्तकारी नयाँ मुद्धाहरू जनस्तरमा पु¥याउन त्यति सहज थिएन । पुरानो नेतृत्व, नीति, कार्यक्रम, कार्यान्वयन प्रक्रिया नै जनस्तरमा परिरहेको प्रभाव थियो । पार्टी सभापति गगनकुमार थापाका कारणले यस निर्वाचनको परिणाम निर्धारण गरेको थिएन । पार्टीको हार तथा आफ्नो व्यक्तिगत पराजयका कारणले सभापति थापाले राजिनामा दिएर नैतिक जिम्मेवारी बहन गरिसकेका छन् । थापाले नेतृत्व लिएपछि पार्टीले स्वामित्व लिएका युगान्तकारी मुद्धा र निर्णयहरूको कार्यान्वयन सबैभन्दा बढी महत्वपूर्ण छ । यसले नै पार्टीको आगामी कार्यदिशा र कार्यक्रमहरू निर्धारण गर्दछ । समयानुकुल नयाँ जनमत बनाउंदै लानेछ ।
नेतृत्वमा रहनेले विषयवस्तुको गहनता र संप्रेषण क्षमता प्रदर्शन गर्दै नीतिगत आधार तयार गरी जनसरोकारका मुद्धा सफल कार्यान्वयनका लागि अगाडि बढाउँछ । काँग्रेसभित्र दशकौंदेखि तरमारिरहेका उपल्लो वर्गमा रहेका सुकिलामुकिलाहरूले आफ्ना कर्तुत बिर्सिएर गगन थापाको नैतिककसी जाँच्ने दुस्साहस गरिरहेका छन् । विशेष महाधिवेशनको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ । तर विशेष महाधिवेशनको आयोजनामाथि नै प्रश्न गर्ने नेताहरू नै सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गर्न लम्पसार परेर गएका दृष्यले उनीहरूको नैतिकतामाथि कुरीकुरी गरिरहेको अवस्थामा गगनकुमार थापाले पराजयलाई स्वीकार गर्दै पद छोडेर नैतिकता देखाए काँग्रेस बिगार्न दशकौंदेखि जिम्मेवार रहेका नेताहरूले कहिलेदेखि काँग्रेस राजनीतिबाट सन्यास लिने हो आम जनमानसमा रहेको प्रश्नले उत्तर खोजिरहेको छ । यस्तै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमाथि पनि नैतिकताको प्रश्न तेर्सिएको छ ।
