भद्रपुरमा १७ औं नगर परिषदको अवरमा पत्रकार र खेलाडीलाई सम्मान
भद्रपुर । भद्रपुर नगरपालिकाले सञ्चार कर्मको माध्यमबाट नगर विकासमा योगदान दिएको भन्दै दुई भद्रपुरका जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
नगरको उन्नतिमा योगदान दिएको भन्दै दुई जना पत्रकारसहित विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई समेत सम्मान गरिएको हो ।

नगरपालिकाले १७ औं नगर परिषद समापनको अवसर पारेर पत्रकार हुतराज नेपाल उत्तम तथा डिल्लीरमण नेपाल र नगर भित्र रहेर खेलको माध्यमबाट योगदान दिने विभिन्न उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ ।
नगरपालिकाले यस वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार हुतराज नेपाल (उत्तम) र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरेको छ । नेपाल समाचारपत्र र ब्लाष्ट दैनिकमा आबद्ध पत्रकार उत्तमलाई नगद ३१ हजार तथा वर्तमान साहित्यिक पत्रिकामा आबद्ध पत्रकार डिल्लीरमणलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रले पुरस्कृत गरिएको थियो । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै भलिबल खेलाडी तथा कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा स्वर्ण पदक ल्याउने खेलाडीहरू प्रमोद पाण्डे, भरत यादव, अभिषेक कामती, रेशल साह, आलोक सिंह, निखिल कामती, आदित्य कामती, आयुष सिटौला, आकाश ठटाल, नितिन मण्डल र रिदम दर्जीलाई कदर पत्रसहित जनही ५ हजार एक सयले पुरस्कृत गरिएको थियो । त्यसैगरी भद्रपुरमा आठौँ नगर स्तरीय तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न गराउन सहयोगी भूमिका निर्वाह गर्नेहरूलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।
सभामा विषयगत समितिहरूको अर्धवार्षिक समीक्षा, विनियोजन विधेयक २०८२ संशोधन स्वीकृति र अनुमोदन, जेनजी आन्दोलनको क्रममा क्षति भएको जानकारी गराइएको थियो । साथै सहभागी जनप्रतिनिधिहरूले सडक, सरसफाइ विद्युत् ,खानेपानी, बिजुली, पुल लगायतका विषयमा राखेको जिज्ञासाबारे नगरप्रमुख पोखरेलले जवाफ दिएका थिए ।
