राजनीतिसमाचार

समानुपातिकतर्फको सिट संख्या सार्वजनिक

 

झापा । फागुन २१ गते सम्पन्न संघीय संसदको निर्वाचन अन्र्तगत दोश्रो हुने निर्वाचन प्रणालीको दलहरूलाई परिणाममा प्राप्त हुने सिट संख्या सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरी सार्वजनिक गरेको हो ।

आयोगले २८ फागुनमा विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०९२० अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानून बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको संख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण भएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ४७.८० प्रतिशत मत प्राप्त गर्दा ५७ सिट, नेपाली कांग्रेसले १६.२७ प्रतिशत मत प्राप्त गर्दा २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) ले १३.४६ प्रतिशत मत प्राप्त गर्दा १६, नेपाली कम्युनिष्ट पार्टीले ७.५० प्रतिशत मत प्राप्त गर्दा नौ तथा श्रम संस्कृति पार्टी ३.५७ प्रतिशत मत प्राप्त गर्दा चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.०६ प्रतिशत मत प्राप्त गर्दा चार सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको आजको निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका र त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएको छ ।

उल्लिखित सिट संख्याअनुसार ऐनको दफा ६०(४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई आजै पत्राचार गरिएको आयोगले जनाएको छ ।