लेखसमाचारस्थानीय

‘बसन्तका पाइलाहरूका नारायणप्रसाद खतिवडा’

कृति समीक्षा
पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाँही आकास जमिनको अन्तर हुन सक्छ भन्ने कुरा गायक तथा संगीतकार नारायणप्रसाद खतिवडाले पुष्टि गरेका छन् । तीन दशकयता निजामी सेवामा प्रशासनिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका खतिवडा भद्रपुर १० निवासी व्यक्ति हुन् । इलामको सुन्दर पहाडी भूमिमा जन्मिएका खतिवडा सिर्जनशीलतामा कोमल हृदय भएका सर्जक हुन् ।

स्थानीय निकायको शासन सेवामा प्रशासनको कठोर जिम्मेवारी सम्हालिराखेका खतिवडाको मन कोमल र सिर्जनशील छ भन्ने कुरा बसन्तका पाइलाहरु नामक गीति संग्रहले खतिवडालाई मानवतावादी सर्जकका रुपमा नेपाली गीत संगीतको क्षेत्रमा उभ्याइ दिएर पुष्टि गरेको स्पष्ट छ । स्वर तथा संगीत दुवैका सर्जक खतिवडाका ५ वटा गीतले निस्वार्थ प्रेम, विछोड विरह, उर्वर जिन्दगी, नेपाली भूगोलको महिमा, जीवन जगतमा मान्छेको भूमिकालाई कलात्मक रुपमा वर्णन गर्न सफल छन् ।

सन्सारमा कहिलै पुरानो नहुने र नसकिने विषयबस्तु प्रेमील भावलाई विपरित लिङ्गी प्रेम, प्रकृति प्रेम, राष्ट्र अनि माटोको प्रेम र जीवन जगत बीचमा रहने प्रेमलाई कलात्मक रुपमा खतिवडाका गीत संगीतले पुष्टि गरेका छन् । पूर्वेली भाकासित शास्त्रीयता र आधुनिकताको मिश्रण गरेर तयार भएका यी गीतहरुले मान्छेको जीवन र वास्तविकतालाई परिभाषित गर्न सफल छन् । गायक, संगीतकार र रचनाकारको भूमिकामा समेत आएका खतिवडालाई नारायणप्रसाद चँदरा र विन्दु लाम्गादेले गीतकारको रुपमा सहयोग गरेका छन् । यी गीतहरुले नेपालको हिमाल, पहाड र तराइको महिमासँगै मादल, बाँसुरी, बिनायो, मुर्चुङ्गाको सम्भना गरेका छन् । विविधतामा एकता रहेको नेपाली भूमि सन्सारमै उत्कृष्ट भएको चर्चा समेत गरिएको यस संग्रहले नेपाली मौलिकपन बचाउन हरतरहले प्रयास गरिरहेको छ ।

विष्णु अधिकारीको संगीत संयोजन रहेको बसन्तका पाइलाहरु गीतिसंग्रह भित्र रहेका गीतहरु मध्ये पहिलो नम्वरमा टुक्रा टुक्रा मुटुपारी दियौ माया कसैलाई, मर्न पनि संँगै भन्थेऊ पागल बनायौ उसैलाई…… बोलको गीत रहेको छ । यस गीतको स्वर, संगीत र रचना गायक नारायणप्रसाद खतिवडा आफैँले दिएका छन् । बैँस र प्रेमील भाव बीचमा तालमेल मिल्न नसक्दा आइ परेको विछोडको वेदना सहने युवाको कथालाई यस गीतले वियोग भावका रुपमा उठाएको छ । यस गीतमा चोखो माया र स्वार्थी पे्रमिका विपरित बाटोमा रहेको देखाउन खोजिएको स्पष्ट हुन्छ । विशेष गरी किशोर अवस्थामा हुने प्रेम युवा वा बैँसालु दिनमा मिलन विन्दुमा आउन नसक्ने वास्तविकतालाई खतिवडाले चित्रण गर्न खोजेका छन् । यहाँ विगतको श्रृङ्गार रसपूर्ण भाव वर्तमानमा करुण रसमा रुपान्तरण भएको देखाइएको छ ।

दोश्रो नम्वरमा रहेको विन्दु लाम्गादेको शब्द रचना र स्वर संगीत गायक खतिवडाकै भएको शीर्षस्थ गीत बसन्तका पाइलाहरु पालुवामा टेकी सके, हेर्दा हेर्दै जिन्दगीका पानाहरु मेटी सके…. । यो गीत मान्छेको उर्वर बैंसलाई सम्झेर तयार भएको छ । जन्मदा पालुवाका रुपमा जन्मने मानिस बैँस बढ्दै जाँदा एकाएक बुढौलीमा ढल्कदा मात्र जीवनको महत्व बुझ्ने अवस्था चित्रण गरेको छ । बसन्त भन्ने वित्तिकै उर्वर र रमाइलो प्रकृतिक सैन्र्दय हो । यो उर्वर जिन्दगीमा अलमल हुनु नहुने विश्वास गीतले राखेको छ । आध्यात्मको प्रभाव समेत रहेको यो गीत जीव र जगतको वास्तविकता झल्काउन सफल छ ।

तेस्रो नम्वरमा रहेको गीत तिमीविना जिन्दगीमा बाँच्ने होला कसरी ?, भनमाया दिन काट्ने कसरी ?…..। यो गीको रचना नारायणप्रसाद चँदराले गरेका हुन् । पागल प्रेम भावका रुपमा आएको यस गीतले पे्रमीसित विछोड भए भविश्य कस्तो हुन्छ ? भनेर कल्पना गर्न खोजेको छ । विशेषगरी किशोर किशोरीको पे्रमील भावको अर्थ बोकेर आएको श्रृङ्गारिक गीत हो जहाँ सभ्य प्रेमलाई रमाइलो तरिकाले पोखिएको छ ।
चौथो नम्वरमा रहेको गीत सन्सारभरी मन डुलाउँदा अन्त कँही पाइन, मेरो नेपाल भन्दा अर्को स्वर्ग कँही छैन…..। यो राष्ट्रिय भाव बोकेर आएको गीत हो । विन्दू लाम्गादेले रचना गरेको यस गीतले नेपालको महिमा गान गर्दै स्वर्गसित जोडेर जन्म भूमिको माया व्यक्त गरिएको छ । काम गर्न सन्सारको जुनसुकै कुनामा पुगेपनि नेपालीले नेपालको मायाँ रममता नभुल्ने राष्ट्रवादी भाव गीतमा पोखिएको छ । यो गीत संग्रहकै उत्कृष्ट सिर्जनाका रुपमा श्रोताले बुझ्ने छन् ।

पाँचौ नम्वरमा रहेको गीत मान्छेको जीवन कच्चा छ कसलाई के हुने कसैलाई थाहा छैन, राम्रा राम्रा कामहरु अहिले नै गरौं भोलि बिहान आउँ छ कि आउँदैन…….। यस गीतले मान्छेलाई असल हुन जागरण पैदा गराएको छ । नारायणप्रसाद चँदराले रचना गरेको यस गीतले स्वार्थ र लोभमा पर्ने मानिसहरुलाई व्यङ्ग्य गर्दै मानवताका लागि असल काम गर्न अध्यात्सको भावनात्मक विचारलाई मिसाएर जागरुपता जोडेको छ । जे गर्नु छ राम्रो गरौं अहिले नै गरौं भोलिलाई नपर्खौं भन्ने सन्देश बोकेको यो गीत असल मान्छेको परिकल्पनामा आएको महसुस श्रोताले गर्ने छन् ।

खतिवडाको पहिलो प्रयासका रुपमा आएको यस गीति संग्रहले पूर्वेली गायक गायिका कुन्ति मोक्तान, पुजन प्रधान जस्ता अग्रजको प्रभावलाई पनि स्वीकार गरेजस्तो अनुभूति श्रोताले गर्ने छन् । यो आर्दशका रुपमा आएको हुन सक्छ । नेपाल सरकारको कर्मचारीका रुपमा रहेका खतिवडाले जनताको सेवासितै राष्ट्रको पहिचान र सेवाका लागि अर्का सेवक चँदरासित मिलेर ल्याएको यस गीति संग्रह नेपाली गीत संगीतको आकाशमा एउटा इटा भएर बस्ने छ । राष्ट्र सेवक खतिवडा प्रशासन र सँगीत दुवैमा अवल रहेको नेपाली भूमिका असल पुत्र बन्न सफल छन् ।