निर्वाचन २०८२राजनीतिसमाचारस्थानीय

झापामा ७८ जना उम्मेदवारको जमानत जफत

भद्रपुर । संघीय संसदका लागि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा झापाका ७८ जना उम्मेदवारको जमानत जफत भएको छ ।

झापाका ५ वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका ७८ जना उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुने उल्लेख छ । सोही प्रावधान अनुसार यस निर्वाचनमा मत प्रतिशत पाउन नसक्ने धेरै उम्मेदवार जमानत जफतमा परेका हुन् ।

झापामा जमानत जफत हुनेहरुमा यस अधिका निर्वाचनमा बलियो जनमत पाएका नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीदेखि यसै पटक खुलेको श्रम संस्कृति पार्टीसम्मका उम्मेदवारहरू पनि छन् ।

झापा क्षेत्र नं १ मा १२ जना उम्मेदवारको जमानत जफत भएको छ । नेकपा एमालेका रामचन्द्र उप्रेती , राप्रपाका हेमराज कार्की , नेकपाका अशेष घिमिरेलगायतको जमानत जफत भएको छ । उनीहरूले सदर मतको १० प्रतिशत मतसमेत ल्याउन नसक्दा जमानत जफतमा परेका हुन् ।

त्यस्तै क्षेत्र नं २ मा राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत), श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी, नेकपाकी धर्मशीला चापागाँईसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

त्यस्तै क्षेत्र नं ३ मा १५ जना उम्मेदवारको जमानत जफत भएको छ । नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा एमालेका हरिबहादुर राजवंशी, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना , नेकपाका डिल्लीराम घिमिरे हिक्मतसहितको जमानत जफत भएको छ ।

त्यस्तै क्षेत्र नं ४ मा राप्रपाका भक्तिप्रसाद सिटौला , नेकपाका पुरुषोत्तम चुडालसहित १३ जना उम्मेदवारहरूले सदर मतको १० प्रतिशत मत ल्याउन सकेनन् ।

त्यस्तै क्षेत्र नं ५ मा नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीका समिर तामाङसहित २२ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाको विवरणले देखाउँछ ।