महिला श्रमिकको अधिकार स्थापित हुने वातावरण बन्नु पर्छ
मञ्जु खतिवडा
नेपाली राजनीति परिवर्तनको बाटोमा लागेको छ । विगतका बदनाम राजनीतिक दृष्य नआओस् भनेर भर्खरै सम्पन्न निर्वाचनमा नयाँ अनुहारलाई सत्ताको चावी दिने गरी मत परिणाम आइरहेको अवस्था छ । यस जनमतले अब उपरान्त विकृति सलवलाउनु हुँदैन भन्ने खवरदारी पनि गरिरहेको प्रष्ट छ । विभिन्न विकृति मध्ये नारी अस्तित्व र सम्मानको पालना हुने वातावरण अबको प्राथमिकता बन्नु पर्छ । यहाँ परम्पराका रूपमा नर र नारीबीच ठूलो विभेदको खाडल छ । यस खाडललाई चिर्ने गरी नियम कानून परिवर्तन गर्नु पर्ने पनि हुन सक्छ । सरकारमा बस्नेहरूले हिजो सोचेनन् अब सोच्नै पर्छ ।
सन् १९११ मार्च ८ देखि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको इतिहास भेटिन्छ । विश्वका विभिन्न देशमा महिला अधिकारको आन्दोलनको प्रतीकका रूपमा यो दिवस मनाउन थालिएको पाइन्छ । इतिहासलाई नजिकबाट नियाल्दा विश्वमा भएका श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिएका महत्वपूर्ण आन्दोलनको सम्झना र सम्मानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको हो । यस दिवसको ऐतिहासिकता नै श्रमिक महिलामाथि भएको असमानता, अन्याय र विभेद बिरूद्धको प्रतिकार हुन गएको छ । श्रमको मूल्यांकन नहुने अनौपचारिक तथा घरेलु श्रमिकका रुपमा काम गरिरहेका आम श्रमिक महिलामा समर्पित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष नयाँ नयाँ नारा लिएर आइरहेको छ ।
शाताब्दीऔंदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११५औं सिलसिला ८ मार्चका दिन ‘टु अल विमेन एन्ड गल्र्स ः राइट, इक्वालिटी एन्ड इम्प्लोइमेन्ट’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘सबै महिला तथा बालवालिको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ यो वर्ष भव्य रूपमा मनाइँदैछ । हरेक घरपरिवारबाटै शिक्षा, स्वास्थ्य, खानपान, जीवनशैली, स्वतन्त्रता र अवसरमा छोराछोरी दुवैलाई समान अधिकार दिने संस्कार विकास हुँदै जाने हो भने कुन समाजमा महिला श्रमिकमाथि विभेद हुन्थ्यो होला र ? अभियानका रूपमा चेतना बढाए पनि विभेद अन्त्य तथा सुधार भएको छैन ।
हरेक वर्ष निरन्तर सञ्चालनमा रहेको अभियानको सार्थकता भविष्यमा देखिएला तर अपेक्षित उपलब्धिका लागि सरकार, नागरिक समाज, महिला अधिकारकर्मी लगायत विभिन्न निकायबाट घटनाको गाम्भीर्य र व्यक्तिको मनोविज्ञान बुझेर योजना तथा कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । लैंगिक विभेद महिला विशेषको सवाल मात्र नभएर घर, समाज, राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि सबै पक्षको पहल आवश्यक देखिन्छ । त्यो पहल चेतना जागृत गराउने कार्यक्रमहरूबाट सुरु गर्दा प्रभावकारी हुनेछ । लैंगिक विभेदलाई गहन रूपमा बुझ्न जरुरी छ । यो आर्थिक शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक÷सांस्कृतिक लगायत विविध विभेद नै समग्रमा लैंगिक विभेदभित्र पर्ने भएकाले यसको अन्त्य गर्न घर, समाज र राज्यले संयुक्त पहल गर्नुपर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले महिला सशक्तीकरणका लागि विभिन्न अभ्यास र अभियान गर्दै आएको छ तर परिणाम सकारात्मक अवस्था देखिएको छैन । आजको परिवर्तित, शिक्षित, आधुनिक र सभ्य समयसम्म आइपुग्दा पनि संसारभर नै भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, मानसिक विभिन्न तरिकाले महिलालाई विभेद गर्ने प्रवृत्ति कायम रहनु दुर्भाग्य हो । आगामी दिनमा महिलालाई आत्मनिर्भर बनाउन सकिए उनीहरूविरुद्ध हुने घरेलु हिंसा, शोषण र विभेद समेत न्यूनीकरण गर्न सकिने सत्य जानेर पनि नजाने जस्तो व्यवहार देखाउने प्रवृत्तिले महिला भएकै कारण पाउनु पनेृ पारिश्रमिकमा हुने गरेको विभेद निर्मुल हुन सकेको छैन । नेपाली महिला सिर्जनशील, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील र साहसी छन् ।
तर पनि सामाजिक–आर्थिक पक्षबाट हेर्दा महिला सबै किसिमका अवसरबाट वञ्चित देखिन्छन् । जबसम्म महिलाको जीवनस्तर माथि उठ्दैन तबसम्म देशको विकास सम्भव छैन । किनभने हरेक क्षेत्रमा महिलाको नेतृत्व र सहभागिता अभावले नै देश भष्ट्राचारको भुमरीमा परेको छ । समाजमा रहेका व्यक्तिहरूका बीचमा महिला र पुरुषका सम्बन्धमा सोच र व्यवहारमा विभेद आउञ्जेल समानताको आभाष अनुभव गर्न सकिँदैन । मानिस महिला–पुरुष दुवैको संयुक्त गुण हो । मानसिक, शारीरिक र भावनात्मक रूपमा प्रत्येक मानिस एउटै हुन्छन् र सबैको लक्ष्य जीवनमा सुख, शान्ति र आनन्द प्राप्त गर्दै एउटा सामाजिक प्राणीको उदाहरण प्रस्तुत गर्नु नै हो । महिला र पुरुष समान हुन् भन्ने सोचको विकास हुन प्रत्येक व्यक्तिमा आन्तरिक रूपमै चेतनाको विकास हुन जरुरी हुन्छ ।
परम्परागत तथा अमानवीय घटनालाई न्यूनीकरण गर्न बाहिरी शिक्षाले भन्दा पनि आत्मिक ज्ञान विकास गराउन सक्नु पर्दछ अनि मात्र महिलामाथि भइरहेको विभेद घट्नसक्छ । वर्षमा एक दिन मात्र भव्य रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले सन्सारका महिलालाई पुरूष सरह अधिकार सम्पन्न बनाउन सक्दैन तर, निरन्तर खवरदारी गर्ने हो भने कुनै दिन समानताको वातावरण भने बन्ने छ । दशकौंदेखिको संघर्ष अब भने पूरा हुनै पर्छ अनि मात्र नर नारी बराबर अधिकार सम्पन्न हुने अवस्था निर्माण हुन्छ ।
