निर्वाचनका लागि झापामा सुरक्षा व्यवस्था कडा पारियो
भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धाका कारण झापा–५ लाई लक्षित गर्दै सुरक्षा सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
यसबाहेक अन्य निर्वाचन क्षेत्रमा पनि ‘हेभिवेट’ उमेदवारहरू प्रतिस्पर्धामा रहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ९ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहितको एकीकृत टोली खटाइएको छ । सुरक्षा समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको नेतृत्वमा जनशक्ति परिचालन गरिएको छ ।
झापाका २८५ मतदानस्थलमध्ये ९५ वटालाई अतिसंवेदनशील १४७ लाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखेर सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।
“हामीले संयुक्त गस्ती र पेट्रोलिङ तीव्र पारेका छौँ,” प्रजिअ गेलाल भन्छन्, “नागरिकहरू ढुक्क भएर मतदान गर्न आउन सक्नुहुनेछ, सुरक्षाको पूर्ण ग्यारेन्टी छ ।”
झापा यसपटक मुख्य राजनीतिक शक्तिहरूको शक्ति प्रदर्शनको केन्द्र बनेको छ । झापा–५ मा नेकपा एमालेका अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता बालेनका साथै क्षेत्र नं.२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको उमेदवारका कारण सुरक्षा चुनौती बढेको स्थानीय प्रशासनको वुझाइ छ । त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा–३ बाट उमेदवार रहेकाले सो क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहीबार (फागुन २१) हुने मतदानका लागि झापाका २८५ वटा मतदानस्थल र ८१५ मतदान केन्द्रमा सोमबार साँझ नै कर्मचारी र आवश्यक निर्वाचन सामग्री पुगिसकेको बताइएको छ । मंगलबारदेखि नै कर्मचारीहरू मतदान केन्द्रको तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
झापामा सात लाख १३ हजार ५३७ मतदाता छन् । निर्वाचनका लागि चार हजार ९४५ स्थायी कर्मचारी र दुई हजार ४४५ स्वयंसेवक खटाइएको छ ।
