एमरेल्ड एकेडेमीले मनायो ३९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
भद्रपुर। एमरेल्ड एकेडेमी, भद्रपुर–७ ले आफ्नो ३९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्वक मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षा क्षेत्रका व्यक्तित्व, पत्रकार, खेलाडी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल रहनुभएको थियो। उहाँले मन्तव्य राख्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै उहाँले निजी तथा सामुदायिक विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

विशिष्ट अतिथिका रूपमा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, पूर्व प्राध्यापक चिन्तामणि दाहाल, कमला दाहाल, ग्रिनफिल्डका स्कुलका प्रधानाध्यापक सन्देश राई, फुलमुनन एकेडेमीका प्रधानाध्यापक रुद्र दाहाल, पत्रकार दीपक अधिकारी तथा धन हर्क राई , भूतपूर्व विद्यार्थी संगठन अध्यक्ष आरोग्य तिम्सिना, समितिका सञ्चालक समितिका सदस्य निर्मल खतिवडासमेतको रहनुभएको थियो। अतिथिहरूले विद्यालयको दीर्घकालीन योगदानको प्रशंसा गर्दै शैक्षिक सुधार र नवप्रवर्तनमा निरन्तर लागिरहन सुझाव दिनुभयो। कार्यक्रममा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। नृत्य, गीत, नाटक तथा समूहगत प्रस्तुतिहरूले दर्शकको मन जितेका थियो। कार्यक्रमको आकर्षणका रूपमा लकी ड्र पनि सञ्चालन गरिएको थियो, जसलाई विद्यालयकी प्रधानाध्यापक बबिता राईले सञ्चालन गर्नुभयो।
त्यस्तै, विद्यालयको समग्र उन्नति तथा प्रगति विवरण प्रधानाध्यापक डिगम्बर अधिकारीले प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, सह–पाठ्यक्रम गतिविधि तथा भावी योजनाबारे जानकारी दिनुभयो। यस अवसरमा लामो समयदेखि शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएका टहल दास अधिकारीलाई सम्मान गरिएको थियो। विद्यार्थीहरू नोया नेम्बाङ, प्रमिस गिरी, निकोल तुलाधर, आरोही तिम्सिना, रियान्स गोयल, श्रीयम अधिकारी, माङमा सुब्बा रितु वनले कार्यक्रम सञ्चालन गर्दै आत्मविश्वास र नेतृत्व क्षमता प्रस्तुत गरेका थिए। स्वागत मन्तव्य विद्यार्थी सोनाक्षी राईले राखेको सो कार्यक्रमको सभाध्यक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष कुमार बस्नेत गर्नुभएको थियो। उहाँले विद्यालय स्थापना कालदेखि हालसम्मको यात्राबारे चर्चा गर्दै अभिभावक, शिक्षक तथा कर्मचारीहरूको योगदानको कदर गर्नुभयो। विद्यालय र अभिभावकबीच आत्मीय सम्बन्ध कायम गर्न अभिभावक दिवसको आयोजना गरिएको विद्यालयका प्रबन्धक निर्देशक प्राध्यापक डा. पृथ्वीविक्रम राईले बताउनुभयो। उहाँले अभिभावकको सक्रिय सहभागिताले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने धारणा राख्नुभयो।
