राजनीतिसमाचारस्थानीय

झापा १ मा पुराना दलका नयाँ उम्मेदवार नै प्रतिष्पर्धी

सन्दर्भ समचारदाता
भद्रपुर । झापा क्षेत्र नम्वर १ मा आसन्न निर्वाचनमा पनि पुराना दलका नयाँ उम्मेदवार र नयाँे दलबाट आएकी पुरानै उम्मेदवार बिच प्रतिष्पर्धा हुने देखिएको छ ।

यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा जीत निकालेको नेपाली काँग्रेस, उपविजेता दल नेकपा एमाले र तेस्रो भएको रास्वपा बिच नै कडा प्रतिष्पर्धा हुने देखिएको हो ।

नेपाली काँग्रेसले नयाँ अनुहारका रूपमा जिल्ला उपसभापति केशवराज पाण्डे, एमालेले नयाँ अनुहारकै रूपमा पूर्व जिल्ला सदस्य रामचन्द्र उप्रेतीलाई मैदानमा उतार्दा रास्वपाले समानुपातिकबाट संसद छिरेकी निर्वतमान सांसद निशा डाँगीलाई उम्मेदवार बनाएर पठाएपछि चुनावी प्रतिष्पर्धा अझ रोचक बन्ने देखिन्छ । यी तीन उम्मेदवारले आ—आफूले जित्ने दावी पेश गरिरहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अशेष घिमिरे र राप्रपाका हेमराज कार्की आफूलाई मतदाताले अनुमोदन गर्नेमा ढुक्क देखिएका छन् ।

बहुदल पुनस्थापनापछि भएका निर्वाचनमा नेकपा एमालेको बलियो प्रभाव क्षेत्र मानिएको झापा क्षेत्र नम्वर १ पछिल्लो निर्वाचनयता गैर कम्युनिस्ट क्षेत्रमा रूपान्तरण भएपछि एमाले कम्जोर भएको आँकलन गर्न थालिएको छ ।

२०४८ र २०५१ सालमा भएको निर्वाचनमा सानदार जीत निकालेको नेकपा एमालेले २०५६ सालमा पहिलो पटक नेपाली काँग्रेससित हार व्यहोर्नु परेको थियो । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा नेकपा माओवादीले जीत निकालेको सो क्षेत्रमा २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेले आफ्नो पुरानो विरासत फर्काएको थियो ।

२०७४ सालको पहिलो संघीय संसदको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई एमालेले भागवण्डा गरेर जित दिलाएको थियो भने २०७९ सालको निर्वाचनमा काँग्रेसले पराकिलो मतान्तर सहित नेकपा एमालेलाई हराएपछि एमालेको बलियो भनिएको जनमत छिन्नभिन्न हुन पुगेको थियो ।

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला तल्लोतहसम्म संगठन चलायमान बनाएर मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् ।

यस क्षेत्रमा यसपटक १३ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले यसपटक जिल्ला उपसभापति केशवराज पाण्डेलाई चुनावी मैदानमा उतारेको छ । अहिले पार्टीको आन्तरिक संगठनलाई चुस्त र व्यवस्थित बनाउँदै वडा तहसम्म प्रचार कार्यालय खोलेर रणनीतिमा जुटिरहेको काँग्रेसले बदलिदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेरे पार्टीप्रति मतदाताकोे आकर्षण बढाउने नीति लिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले पार्टीले पनि वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माणलाई तीव्रता दिदै चुनावी माहौल बनाइरहेको छ । युवा, विद्यार्थी, महिला र मजदुरका सुझावका आधारमा चुनावी अभियान सञ्चालन गरिरहेको बताउने एमालेभित्र उत्साह जगाउने अभियान पनि चलाइरहेको देखिन्छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुशासन कायम गर्ने प्रतिबद्धतासहित पार्टीले युवा उम्मेदवार अशेष घिमिरेलाई चुनावमा उतारेको छ । पहिलो चरणमा जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता–कार्यकर्ता व्यस्त रहेको जनाइएको छ ।
त्यसैगरी, नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसक्षेत्रमा निर्वतमान सांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा पार्टीले अहिले वडा–वडाबाट सुझाव संकलन गरी ‘वाचा पत्र’ तयार पार्ने काम गरिरहेको जनाए पनि मतदातासित भोट माग्ने अभियान पहिलो चरणबाटै थालिसकेको छ । मतदाताले पुराना दलहरूबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी एजेन्डा बनाएको देखिन्छ ।

अरू दलभन्दा फरक बताउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दू राष्ट्र स्थापना र संघीयता खारेजीको मुद्दा बोकेर घरदैलो सुरु गरेको जनाएको छ । ठूला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको दाबी गरिएको छ ।

निर्वाचन कार्यालय झापाका अनुसार यस क्षेत्रमा कूल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । जसमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन् । यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन् ।
झापा निर्वाचन क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं. गरी चार वटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुई वटा वडा समेटिएको छ । जहाँ ४३ मतदानस्थल र १४५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेद्वारहरुले औपचारिक रूपमा भोट माग्नका लागि निर्वाचन आयोगले तोकिदिएको समय फागुन ४ गतेदेखि भए पनि दल तथा उम्मेद्वारहरु भित्री रूपमा मतदाता रिझाउने र संगठन बलियो बनाउने काममा व्यस्त देखिएका थिए ।

निर्वाचन कार्यालयको विवरण अनुसार झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, श्रम संस्कृति पार्टीबाट केवलराम राई, नेकपा (एमाले) बाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे, उज्यालो नेपाल पार्टीबाट नरेशकुमार लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की, नेपाली काँग्रेसबाट केशवराज पाण्डे, नेपाल जनमुक्ति पार्टीबाट खान्द्रु कुरुवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनबहादुर साँवा लिम्बू, जनता समाजवादी पार्टीबाट रमा मेचे, नेपाल मजदुर किसान पार्टीबाट हिरणकुमार भट्टराई, नेपाल सद्भावना पार्टीबाट ओलिन राजवंशी, स्वतन्त्रबाट दुर्गाबहादुर साँवा लिम्बू र गणेशकुमार पोखरेलले उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालिन महामन्त्री हालका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कानून मन्त्री अग्नीप्रसाद खरेललाई फराकिलो मतान्तरले पराजित गरेका थिए । हाल शर्मा र खरेल चुनावी प्रतिष्पर्धामा छैनन् । निकट प्रतिष्पर्धी काँग्रेस र एमालेले नयाँ उम्मेदवारलाई चुनावी प्रतिष्पर्धामा उतारेका छन् भने रास्वपाले समानुपातिक तर्फबाट सांसद बनाइएकी निवर्तमान सांसद निशा डाँगीलाई चुनावी मैदानमा उतारेको छ । विगतको आधार हेर्दा एमालेको आधार क्षेत्र रहेको यस क्षेत्रमा पछिल्लो समय काँग्रेसप्रति जनाकर्षण देखिन्छ तर नयाँ विचार भन्दै रास्वपाले जित्ने दावी गरिरहेको यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी पनि जनाधार फेरेर जीत निकाल्ने दाउमा देखिन्छ । रास्वपाको बाहेक सवै दल र स्वतन्त्र उम्मेदवार नयाँ अनुहार लिएर आएका छन् । मतदाताले कसलाई रोज्ने हुन् ? हेर्न बाँकी नै छ ।

फोटो साभार लोकतन्त्र पोष्ट अनलाइन