अबको निर्वाचनले नेतृत्व फेर्नु पर्छ
सम्पादकीय
भदौ २३ को विद्रोहलाई अनुमोदन गर्दै २४ गतेको बिध्वम्सलाई कानुनी दायरामा ल्याउन सक्ने नेतृत्व अबको निर्वाचनको लक्ष्य बन्नु पर्ने छ किनकी नेपाली राजनीतिमा पुरानो पुस्ता अब अपच भयो भन्ने सन्देश अबको निर्वाचनले दिनै पर्ने छ । दशकौंदेखि नेपाली राजनीतिको अग्रभागमा रहेका पुरानो पुस्ताका ‘देउवा, ओली, प्रचण्ड पुस्ता’ ले हिजो व्यवस्था परिवर्तनमा ‘सक्षम’ भएकैले अहिलेसम्म अस्तित्व जमाउन पाएका छन् । भोलिको जनताको ‘अवस्था’ परिवर्तनमा पनि ‘आफैं’ सक्षम देख्ने अन्ध सोच अब छोड्न बाध्य पारिनु पर्छ ।
आउँदै गरेको निर्वाचनले नव युवालाई अस्तित्वमा मात्र सिमिति पार्ने होइन अघिल्लो पुस्तालाई विदा गर्ने वातावरण बनिनु पर्छ । खासगरी भदौ २३ को विद्रोहको औचित्य प्रमाणित गर्दै भदौ २४ को बिध्वम्सलाई गलत सावित गर्ने गरी निर्वाचनले नेतृत्व परिवर्तनको खाका कोर्नु पर्ने छ । यस समयको वेग बुझ्न नसकेका यी अग्रजले हिजो आफैंले ‘घोर दक्षिणपन्थी’ भनेको शक्ति ‘राप्रपा’ जस्तो संघीयता सहितको लोकतन्त्रको कठोर विरोधी पार्टी अस्वाभाविक उदय गराएका थिए । प्रगतिशील आन्दोलनले घाटमा पुगेको राजतन्त्र गद्दीमा ल्याउन उफ्रिरहेको राप्रपाले व्यवस्था नै खाने सपना पालेर यस बिचमा बिध्वम्सका लागि उत्तेजक वातावरण दिइरहँदा सिंहदरवार, सर्वोच्च अदालत लगायत देशभरीका सरकारी संरचना जेनजी आन्दोलनका क्रममा रहस्यमय ढंगले जलाइएको छ । त्यो आन्दोलनको उद्देश्य नेपालको पहिचानका रूपमा रहेका धरोहर ध्वस्त पार्नु थिएन तर घुषपैठधारीले पहिचान मेटाउने काम गरेको हिसाव पनि खोजिनु पर्छ ।
विगतमा व्यवस्था परिवर्तनको महत्वपूर्ण हिस्सेदार नेपाली काँग्रेसमा ‘गगन थापा र विश्वप्रकाश शर्माहरू’ले ‘रूपान्तरण र पुस्तान्तरण’को मुद्दा उठाएकै कारण पार्टीको विशेष महाधिवेशन प्रतिनिधिबाट नेतृत्व परिवर्तन गरेर चुनावमा होमिएका छन् । परिवर्तनको संवाहक राष्ट्रिय राजनीतिमा युवाको अर्थपूर्ण उपस्थितिमा एउटा सकारात्मक सन्देश प्रवाहित गर्न यी युवाको उत्साह मतदाताले कुन रूपमा लिने हुन् ? हेर्न बाँकीनै छ । परिवर्तित व्यवस्थाका सहयोद्धा एमाले र माओवादीमा युवा पुस्ताले खुलेर बोल्न नपाएकै कारण महाधिवेशनमा नयाँ उत्साह र तरङ्ग उत्पन्न गर्न सकेनन् ।
भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह, गगनकुमार थापा र केपी शर्मा ओलीलाई अगाडि सारेर रास्वपा, नेपाली काँग्रेस र एमाले सान्दर्भिक पात्र भन्दै दावी गरिरहेका छन् । तर, निर्वाचनअगावै ‘मुलुक सञ्चालनको ड्राइभिङ सिटमा म’ भनेर युवाका तर्फबाट रास्वपाका बालेन्द्र शाह र कांग्रेस सभापति गगन थापाले युवा मतदाताको मनोविज्ञानलाई तान्ने प्रयत्न गरिरहेकै छन् । अर्का पात्र पुरानोे पुस्ताको अनुहार केपी शर्मा ओली पनि प्रधानमन्त्रीकै दावेदारीमा छन् । त्यो संभव होला कि नहोला ? अहिल्यै भन्न सक्ने अवस्था छैन । यी तीन पात्र मध्ये को पहिलो होला ? भन्ने प्रश्नको छिनोफानो मतदाताले गर्नेछन् । यी तीन पात्र मध्ये मतदाताको रोजाइमा जो अब्बल होला त्यो पहिलो बनेर देशको सत्ता सम्हाल्ला ।
चर्चामै चुनावी मैदानमा रहेका यी तीन पात्रले देश बनाउने अवधारणा अगाडि सारेका छैनन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आफूलाई अब्बल देखाउन व्यस्त यी पात्र शुसाशन, समृद्धि र उद्यमशील देशको मुहार निर्माणका लागि के के गर्दै छन् त ? मतदाताले बुझ्न पाउनु पर्छ । हल्ला र भीडको आडमा कसैलाई मत दिनेभन्दा पनि पार्टीको अनुहार होइन व्यक्तिको व्यक्तित्व हेरेर मतदान गर्न सके देशको विगतको दुर्दशा रोकिने थियो । दास मनोविज्ञानबाट उर्जाशील जीवन शैलीको पद मार्ग रोजेर मतदान गर्ने हो भने खराव तथा पथभ्रष्ट पात्रहरू जनप्रतिनिधिको खोल ओडेर देश लुट्ने ठाउँमा पुग्ने थिएनन् । यस कारण पनि विगतका निर्वाचनभन्दा यस पटकको निर्वाचन भिन्न र गर्व गर्न लायक जनप्रतिनिधि छान्ने आधार बनिनु पर्छ । पैसा र पहुँचको बलमा चुनाव जित्छु भन्नेहरू बढारिनु पर्छ ।
