झापामा २ लाख ८२ हजारलाई हात्तीपाइले बिरूद्ध औषधी खुवाइने
भद्रपुर । झापामा हात्तीपाइले रोग बिरूद्धको १४ औं चरणको आम औषधी खुवाउने कार्यक्रम ६ वटा पालिकामा सुरूवात गरिएको छ ।
१३ औं चरणको औषधी खुवाउने कार्यक्रम सम्पन्न भएपछि पनि एक प्रतिशत बढी नागरिकमा हात्तीपाइले रोगको किटाणु देखिएका अर्जुनधारा, कनकाई नगर पालिका तथा झापा, बाह्रदशी हल्दिवारी र कचनकवल गाउँपालिकामा १४ औं चरणको आम औषधी खुवाउने कार्यक्रम सुरू गरिएको हो ।
यस अभियानमा ६ वटा पालिकाका २ लाख ८२ हजार नागरिकले औषधी सेवन गर्ने छन् भने तीन सय हाराहारीमा स्वास्थ्यकर्मी परिचालित हुने छन् । प्रति पालिका सरदर एक करोड हाराहारी खर्च हुने अभियान विहानदेखि रातीसम्म निरन्तर खटिएर लक्षित सवै नागरिकलाई प्रत्यक्ष औषधी खुवाएर यसवर्षबाट झापा जिल्लालाई हात्तीपाइले रोगमुक्त जिल्ला बनाउन लागि परिरहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख तेजकुमार दासले जानकारी दिए ।
डब्लुएचओका कार्यक्रम अधिकृत रविन्द्र खनियाले सहजीकरण गरेको सरोकारवालासितको छलफल कार्यक्रममा स्वास्थ्य कार्यालय झापाले प्रस्तुत गरेको विवरण अनुसार हात्तीपाइलेका कारण २३०० हाइड्रोशील र खुट्टा सुन्निएका बिरामी रहेका छन् । यी विरामीहरूका लागि सहज जीवनशैली निर्माण गर्न आवश्यक उपचारमा समेत सरकारले निशुल्क सेवा दिइ रहेको जनाइएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सरूवा रोग नियन्त्र महाशाखाका राम रोकायाले धारणा राख्दै हात्तीपाइले उल्मूलनका लागि तल्लो तहबाटै एक जुट भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
१३ वर्षयता निरन्तर झापामा हात्ती पाइले निवारणका लागि अभियान चलिरहे पनि स्थानीय सरकार तथा मातहतका कर्मचारीले सही रूपमा समन्वय गरेर काम गर्न नसक्दा हात्तीपाइले निवारणको सूचकमा असफल भएको देखिएको छ ।
हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
