मेची पेट्रोलियम डिलर्स एशोसिएसनमा पिठाकोटे
विर्तामोड । मेची पेट्रोलियम डिलर्स एशोसिएसन, बिर्तामोड–भापाको १८ औँ साधारण सभा तथा छैटौँ अधिवेशन अर्जुनधारा–११ स्थित एशोसिएसनको भवनमा सम्पन्न भएको छ। अधिवेशनबाट टिकराम बहादुर पिठाकोटे अध्यक्षमा निर्वाचित भएका छन् ।
अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा कुल ६२ मतदाता मध्ये ६० मत खसेको थियो भने बदर मत शून्य रहेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए । अध्यक्ष पदमा टिकराम बहादुर पिठाकोटेले ३६ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भूपालराज कटुवालले २४ मत प्राप्त गरेका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा अमित सरिया, उपाध्यक्षमा मदन कुमार राई, महासचिवमा विनोद चापागाईं तथा कोषाध्यक्षमा उत्तम कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सदस्य पदमा खगेन्द्र बहादुर कार्की, गौरी प्रसाद भण्डारी, तारानाथ उप्रेती र भगिरथ रिजाल (माल्दाई) निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पदमा दिपक गड्तौलाले ३६ मत प्राप्त गरी निर्वाचित हुँदा हरि प्रसाद घिमिरेले २४ मत प्राप्त गरेका थिए । सह–कोषाध्यक्ष पदमा मोहन प्रसाद उप्रेतीले ३२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सुरज गोयलले २८ मत प्राप्त गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष नवीन कोईरालाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव विनोद चापागाईंले गरेका थिए । निर्वाचन अधिकृतका रूपमा रुद्र भुर्तेल र विगम श्रेष्ठ रहेका थिए ।
निर्वाचन सम्पन्न पश्चात प्रमुख निर्वाचन अधिकृत खरेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै निर्वाचन प्रमाण-पत्र प्रदान गरेका थिए ।

