राजनीतिसमाचारस्थानीय

झापामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

भद्रपुर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा विधिवत रूपमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार शुक्रवारबाट निर्वाचन गतिविधि सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो ।

जस अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर –३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । यस कार्यालयको नेतृत्व मुख्य निर्वाचन अधिकृतका रूपमा झापा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुईँटेलको रहने छ ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर —१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि गोपी विश्वकर्माको नेतृत्वमारहने छ । क्षेत्र नम्बर —२ मा निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको प्रशासनिक भवनमा राखिएको छ । क्षेत्र नम्बर —२ मा महेश खत्रीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

तुर्सा हेमरम प्रतिष्ठान कन्काई नगरपालिका —१ मा झापा निर्वाचन क्षेत्र नम्बर —४ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेललाई निर्वाचन अधिकृत तोकिएको छ । दमक —८ मा रहेको अग्र्यानिक कृषि केन्द्रलाई झापा निर्वाचन क्षेत्र नम्बर —५ को निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । त्यसक्षेत्रको निर्वाचन अधिकृत बिदुरकुमार कार्की रहेका छन् ।

निर्वाचन कार्यालय झापाको अभिलेख अनुसार २०७९ मा जिल्लामा तीन लाख ३१ हजार ४४ पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र आठ अन्य गरी कुल मतदाताको संख्या छ लाख ६३ हजार तीन सय ११ जना रहेको थियो । २७ हजार तीन सय दुई पुरुष २२ हजार नौ सय २४ महिला गरी यसपटक ५० हजार दुई सय २६ जना मतदाता थपिएका छन् । त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन —२०७९ मा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा दुई सय ८५ मतदान स्थल र सात सय ६६ मतदान केन्द्र थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन —८२ मा ४९ वटा मतदान केन्द्र थप गरिएको छ ।