भक्तपुरको मनोहरा फाँटमा नयाँ पाहुना: नेपालमा पहिलो पटक देखियो ‘साइबेरियन स्यान्ड प्लोभर’
झापा । मध्यपुर थिमी — सिमसिम पानी परेको शान्त बिहान। पन्छीहरू आफ्नो लयमा थिए। यस्तै क्षणमा, मध्यपुर थिमीस्थित मनोहरा फाँटमा अनौठो पन्छी देखियो—पहिलो नजरमै सामान्य जस्तो लाग्ने, तर नजिक जाँदा केही विशेष।
कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले असार ६ गते सो चरा फेला पारेका हुन्। “हामीले तिब्बेती स्यान्ड प्लोभर होला कि भन्ने सोचेका थियौं,” अनुसन्धान टोलीका सदस्य न्यौपाने सम्झन्छन्, “तर घर फर्किएर तस्बिर हेर्दा त्यसमा केही फरक पायौं। त्यसपछि पुष्टि गराउन लाग्यौं।”
यसपछि उनीहरूले नेपाल पन्छीविद् संघमा असार ९ गते फोटोसहित विवरण पठाए। संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँगको सल्लाह र प्रमाणहरू अध्ययन गरेपछि नयाँ प्रजातिको चरा पुष्टि गरेको हो।
यो चरालाई नेपालीमा “साइबेरियाली राजपुत्रिका” नाम दिइएको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा यो चरा नेपालमा पहिलोपटक अभिलेख गरिएको स्पष्ट गरिएको छ।
साइबेरियन स्यान्ड प्लोभर (Siberian Sand Plover) नामको यो चरा सामान्यतः साइबेरिया, मंगोलिया, ताइवान, तिब्बत, भारत, कोरिया, जापान लगायतका देशहरूमा पाइन्छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को अनुसार, यो प्रजाति संकटापन्न सूचकांकमा सूचीकृत छ, जसले यसको संरक्षण आवश्यक रहेको देखाउँछ।
नयाँ पञ्जीकरणसँगै नेपालमा पाइने चरा प्रजातिको संख्या ९०२ पुगेको नेपाल पन्छीविद् संघले जनाएको छ।
यस घटनाले नेपालमा चराप्रतिको गहिरो अध्ययन र जैविक विविधताको खोजीमा संलग्न युवापुस्ताको भूमिका झनै उजागर गरेको छ। (स्रोत : ekantipur.com)

