मानव तस्करी बन्द गर
यौनव्यापार, मानवअङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबरजस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार नै मानव बेचबिखनका रूपमा रहेको छ । मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाईफकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज , प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरिएको जनाउँछ ।
त्यस्तै अपहरण , शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ । भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढ्दो राजनीतिक अस्थिरता,बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन हुने गरेका छन् ।
नेपालमा विभिन्न स्थानबाट मानव तस्करहरूले बेरोजगार युवा युवतीलाई रोजगारीका लागि भन्दै अबैध बाटोबाट भारततिर लगेर तेस्रो देशमा अघोषित बिक्रीका लागि पठाउने गरेका छन् । पछिल्ला वर्षहरूमा मानव ओसारपसार गर्ने मूल मार्ग बनाएर झापाबाट भारत हुँदै तेश्रो देश बठाउने गिरोह सक्रिय बनिरहेको छ । झापामा वर्षेनी अबैध ओसारपसारका लागि विभिन्न पहाडी जिल्लाबाट ल्याइएका युवा युवती यहीबाट भारतीय मार्ग हुँदै तेश्रो देशका लागि लगिने क्रम बढ्दो अवस्थामा छ । झापा जिल्ला भारतसित १ सय ४४.२ किलोमिटर खुल्ला सीमाना रहेका कारण आवतजावतका लागि दर्जनौँ नाका रहेका छन् ।
यी नाका मध्ये मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले युवायुवतीलाई छिमेकी भारत हुँदै तेस्रो मुलुक लैजाने सहज मार्गका रूपमा प्रयोग गर्ने गरेका छन् । प्रतिबन्धित कामका लागि विशेष गरी नेपालबाट पठाउन नसकिने भएपछि तस्कर समूहले गिरोह निर्माण गरी दुई चार जना गरेर भेला पारेका युवा युवतीलाई खुल्ला सिमानाको फाइदा उठाउँदै भारत छिराउने गरेका छन् ।
यस्ता अपराधिक कृयाकलाप रोक्न प्रहरी युनिट देखि अनेकौं एनजिओ, आइएनजिओ छरपष्ट देखिएका छन् तर ,चेलीबेटी ओसारपसार तथा बेचिने क्रम भने बढेर गएको छ । सीमा क्षेत्रमा घुम्ती राखेर त्यस्ता सङ्घस्थाले कर्मचारी मार्फत निगरानी बढाउन निर्देशन दिरहेका हुन्छन् । प्रहरीले साधा पोसाकमा प्रहरी पनि खटाएको हुन्छ ,तर मानव बेचबिखन रोक्ने जालो तोडन कसैले सकेका छैनन् । भारतीय बजार हिडेको शैलीमा युवा युवतीलाई पारि तार्ने रणनीति अपनाएर हरेक दिन आठ दश जना मानिस भारत पठाइ रहेको अवस्था छ ।
काँकरभिट्टाबाट पानीट्याङ्की नाका हुँदै सिलगुरी तथा भद्रपुरबाट गलगलिया हुँदै सिलगुरीमा जम्मा पारेर मानव तस्करले युवतीहरूलाई युरोप तथा मध्य एसियामा रहेका खाडी मुलुकमा यौनजन्य कृयाकलापका लागि बेच्ने गरेका छन् । घरेलु कामदारका नाममा अबैध बाटोबाट खाडी मुलुक पठाइएका अधिकाम्स युवतीहरू यौन शोषणको शिकार हुने गरेका छन् ।
रोक्ने निकाय सक्रिय देखिए पनि बेचबिखनको गिरोह झनै सकृय भएका कारण मानव बेचबिखन न्यूनिकरण हुन सकेको छैन । जनचेतनामूलक कार्य गरिरहे पनि रोजगारी दिने आश देखाएर दलालले फकाइफुल्याइ अबैध बाटोबाट लैजादा बेचबिखनको घटना घटेको छैन । चेलीबेटी बेचबिखनको मुख्यकारण गरीबी,सामाजिक बिभेद, अशिक्षा, अज्ञानता आदि हुन् ।
मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ मा कानूनी उपचारको व्यवस्था छ । तर बेचिएका अधिकाम्स मानिसले सामाजिक प्रतिष्ठामा आँच आउने वा इज्जत घट्ने सोचेर आफू बेचिएको बारे कसैलाई जानकारी दिन चाहँदैनन् । जसको परिणाम तस्कर समूह निर्वाध मानव व्यपार गर्न पाइरहेको हुन्छ । राज्यको उपल्लो निकायसम्म पहुँच बनाएर बसेको तस्कर नियन्त्रमा राज्य उदासिन रहुञ्जेल मानव तस्करी चलिरहने छ ।
झापा जस्ता जिल्ला अबैध बाटोबाट मानव ओसारपसारको सहज मार्ग बनिरहने छन् । झापाको मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४.२ किलोमिटर सीमा क्षेत्र खुल्ला सिमानाका रूपमा रहेको छ । यस क्षेत्रमा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका सुरक्षा पोष्टहरू पनि रहेका छन् । तर, अबैध मानव तस्करी रोकिन सकेको अवस्था छैन ।
