आमनिर्वाचन- २०७९

काँग्रेस महामन्त्री शर्मा भन्छन् ः राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि होइन

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरवार र दल भित्रका खराव पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् ।

काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले संघीय गणतन्त्र सुदृढ बनाउन पहिले सिंहदरवार सुधारेर नेतृत्वमा पुग्ने अनि दलका नेताहरूको आचरण सुधार गर्ने अभियानमा आफू लागि पर्ने बताएका हुन् ।

जनजीविकालाई असहज परिस्थितिबाट सहज बनाउने अभियानमा निरन्तर रहिरहेकोछु भन्दै उनले भने, ’स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका झापा १ का लागि निरन्तर रहने छ ।’

नेपाली नागरिकालाई सुखी, खुसी, र समृद्धिको यात्रामा लैजान ढाँटेर, छलेर नहुने भन्दै शर्माले गठबन्धन निर्वाचनका लागि मात्र नभएर राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि रहेको उल्लेख गरे ।

आफू मेची, निन्दा, हडिया र देउनिया किनारमै जन्मे हुर्केको भन्दै शर्माले उत्तरको बाहुण्डागीदेखि दक्षिणमा चन्द्रगढीसम्मको भूगोलमा रहेका हरेक समस्या निहालिरहेको प्रष्ट पारे । उनले जोखिम मोलेरै प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएको उल्लेख गर्दै पार्टी र देशको नेतृत्व गर्ने अठोट समेत राखेका छन् ।

आफ्नो उम्मेदवारी बारे प्रष्ट पार्दै शर्माले झापा १ को उन्नतिका लागि बाहुण्डागी चन्द्रगढी रिङरोड, चन्द्रगढी विमान स्थलको समयानुकुल स्तरीकरण, ऐतिहासिक चन्द्रगढको विकास जस्ता चल्दाबल्दा समस्याको उठान गर्दै नेपाली काँग्रेस युवाको काँधमा आइसकेकोले नेतृत्वका लागि तयारी समेत गरिरहेको स्पष्ट पारेका छन् ।

अबको विकास समयानुकुल हुनु पर्ने भन्दै शर्माले भौतिक पूर्वाधारको उन्नतिसित शिक्षा, स्वास्थ्य, रोजगारी र प्राविधिक पक्षको तीव्र उन्नति आवश्यक रहेको प्रष्ट पारेका छन् । असंभव सपना बाँडेर मात्र विकास नहुने भन्दै उनले जनजीविकाका आधारभूत पक्षको उपलब्धता जरूरी रहेको उल्लेख गरेका छन् ।

भद्रपुर ९ स्थित झापा क्षेत्र नं १ क को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन समारोहको सभापतित्व काँग्रेस भद्रपुर ९ का सभापति चेतनाथ भट्टराई तथा भद्रपुर १० प्रदेश सभा ख को उद्घाटन कार्यक्रमको सभापतित्व वडासभापति विष्णुप्रसाद काफ्लेले गरेका थिए भने कार्यक्रममा प्रत्यक्ष तर्फका प्रदेश सभाका उम्मेदवार गोपभल तामाङ र श्वामबीर लिम्बूले प्रतिबद्धता जायर गर्दै आफ्नो क्षेत्रको चौतर्फी विकासका लागि निरन्तर लागिरहने भन्दै मतदाताका भावना विपरितका कुनै काम नगर्ने समेत अठोट राखेका छन् ।

कार्यक्रममा नेकपा एसका संघीय संसदका समानुपातिक तर्फका उम्मेदवार तारा रूचाल, नेपाली काँग्रेसका प्रदेश सभाका समानुपातिक उम्मेदवार बालजीत राई तथा कालुराम मेचेले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन निसन्देह मतदान गर्न आग्रह समेत गरेका छन् ।