७१ औ स्थापना दिवसको अवसर पारेर महासंघ झापा शाखाको ९ बुँदे प्रतिवद्धा
भद्रपुर । नेपाल पत्रकार महासंघ ७१ औ स्थापना दिवसको अवसर पारेर महासंघ झापा शाखाले पत्रकारिता शुद्धीकरण र सुदृढीकरण सम्बन्धि ९ बुँदे प्रतिवद्धा मुलक वाचापत्र जारी गरेको छ ।
झापाको काकडभिट्टामा आयोयोजित कार्यक्रममा झापाली सञ्चारकर्मीहरूले विकृतिरहित पत्रकारिताका लागि शुद्धीकरण र सुदृढीकरण गर्न ९ बुँदे वाचापत्र जारी गरेका हुन् ।

वाचापत्र निर्माण संयोजक मोहन काजी न्यौपानेले स्वच्छता मर्यादित र दलीय छाँयाविहिन स्वतन्त्र निष्पक्ष पत्रकारिताका लागि ९ बँुंदा समेटिएको पत्रकार आचारसंहिता सहितको सुदृढीकरण पत्र पेश गरेका थिए ।
सो प्रतिबद्धता पत्र माथि सहभागी पत्रकारहरूले आ—आफ्नो सुझाव राख्दै परिमार्जनसहित अनुमोदन गरिएको थियो । यस पत्रको कार्यान्वयनका लागि महासंघ झापाले शुद्धता र सुदृढीकरणका विषयमा अनुगमन गर्दै जानू पर्नेमा सहभागीको सुझाव थियो ।
कार्यक्रममा ६५ वर्ष माथिका झापाका जेष्ठ पत्रकार सदस्य क्रमशः चिन्तामणि दाहाल, गोविन्दचन्द छेत्री, गन्जबहादुर दाहाल, चन्द्र भण्डारी, गोपाल गिरी, केशव आचार्य ,लक्ष्मी लुईटेल लगायतका १३ जना पत्रकारलाई जनही १५ हजारका दरले पत्रकार वृत्तिकोष मार्फत नगद प्रदान गरिएको थियो । महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष एकराज गिरीले झापाको पत्रकाररितामा शुद्धता र सुदृढीकरण गर्न थप आवश्यक रहेको भन्दै निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको बताए ।
महासंघ झापा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संयोजक मुक्ति पौड्याले स्वागत र सचिव राजु पाठकले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्का, महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी ,महासंघका पूर्व महासचिव चन्द्र भण्डारी लगायतले मन्तव्य राख्दैे पत्रकारिता समाजको वास्तविक ऐना हुनु पर्ने मान्यता पालनामा चुक्नुनहुने उल्लेख गर्दै राज्य पक्षले नेपाली पत्रकारिताको संरक्षणमा ध्यान नदिँदा पत्रकारिता संकटतिर ढल्कदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
