राजनीतिसम्पादकीय

समयले दिएको जिम्मेवारी सदुपयोग हुनु पर्छ

सम्पादकीय

समयले कोल्टो फेर्दा नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भएको समय आसपास जन्मिएको पुस्ताले शासन गरिरहेको नेपाली राज्य सत्ता घुमेर नवजवान बालेन्द्र शाहको नेतृत्वमा आइपुग्यो । इतिहास पढ्दा बाहुबलबाट स्थापित जंगबहादुर राणा, राजाको नियुक्ति पाएका तुलसी गिरी र सूर्यबहादुर थापालाई छोड्ने हो भने बालेनले मात्र युवा प्रधानमन्त्रीको कीर्तिमान बनाएका छन् ।

प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट (७५.७५ प्रतिशत) जितेको रास्वपाले समानुपातिक तर्फ ५१ लाख ८३ हजार ४९३ (४७.८४ प्रतिशत) मत पायो । २०१५ सालमा कांग्रेस र २०६४ सालमा माओवादीले पाएको भन्दा यो मत धेरै थियो । महानगर प्रमुखका रूपमा पाएको आकर्षणलाई बालेनले कायमै राख्दा यो तहको लोकप्रिय मत आएको प्रष्ट हुन्छ । आधुनिक नेपालको राज्यसत्ता सम्हाल्ने मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकर्ड राखेका बालेन २०४६ सालको बहुदल पुनस्र्थापनापछि जन्मिएका पुस्ता हुन् । यसलाई नव पुस्ताको काँधमा नेपालको राज्य सत्ता आइपुगेको स्वीकार गर्नु पर्छ ।

पछिल्लो ८ दशकको राजनीतिक इतिहास हेर्दा पनि हरेक परिवर्तनपछि देशको नेतृत्व नयाँ पुस्ता र पंक्तिमा गएको छ । २००७ सालमा राणाशासनको अन्त्य भएपछि मोहन शमशेर जबराकै नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । जबरापछि मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डा.केआई सिंह, सुवर्ण शमशेर जबरा र विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भए ।

यी नेताहरू राणाशासन ढाल्ने आन्दोलनमा थिए । २०१५ सालको पहिलो संसदीय निर्वाचनबाट प्रधानमन्त्री बनेका बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्त गर्दै राजा महेन्द्रले व्यवस्था परिवर्तन गरेपछि पञ्चहरु सत्तामा आए । पञ्चायतकालमा तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द र मरिचमानसिंह श्रेष्ठले सरकारको नेतृत्व गरे । मरिचमान बाहेकले दोहोरिएर प्रधानमन्त्री चलाए ।

२०४६ सालमा बहुदल स्थापना भएपछि पञ्चायतविरुद्ध संघर्ष गरेका नेताहरू प्रधानमन्त्री भए । २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो । यो सरकारले २०४८ सालमा गराएको निर्वाचनबाट एमालेका महासचिव मदन भण्डारी शक्तिशाली नेताका रुपमा उदाए । अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईलाई मदनले हराएकाले कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । २०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारी प्रधानमन्त्री भए । अधिकारी नेतृत्वको सरकार ९ महिनामै ढल्यो, र कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए ।

काँग्रेस एमालेबीच राजनीतिक दुस्मनी बढ्दै जाँदा देउवा नेतृत्वको सरकार ढलेपछि पञ्चायतकै नेताहरु लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा पालैपालो प्रधानमन्त्री भए । यस अवधिमा संसदीय व्यवस्था नै बदनाम बन्ने खेल समेत हुँदा जनआक्रोसले प्रश्रय पायो । २०५६ सालको निर्वाचनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा दोहोरिँदै प्रधानमन्त्री भए । बहुमत पाउँदा समेत एउटै पार्टीभित्र पनि प्रधानमन्त्री फेरिरहने कार्यले माओवादी विद्रोहलाई जनसमर्थन जुट्ने अवसर मिल्यो ।

२०६२÷०६३ को परिवर्तनपछि भएको पहिलो संविधानसभा निर्वाचनपछि दश वर्षे विद्रोहबाट आएको माओवादीलाई पहिलो दल बन्ने अवसर मिल्यो । संविधान जारी गर्न नसकेपछि भएको दोश्रो संविधान सभा निर्वाचनले काँग्रेसलाई पहिलो दल बनाइ दिएपछि २०७२ सालमा संविधान जारी भयो । पहिलो पटक भएको संघीय नेपालको निर्वाचनले वाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) लाई दुईतिहाई हाराहारी मत दियो तर यो गठबन्धनले तीन वर्ष पनि सरकार चलाउन नसकेर तीन टुक्रा हुँदै नेकपा नामक दल विभाजन भयो । २०७४ देखि २०७९ सम्मका निर्वाचनदेखि सरकार गठनसम्म प्रचण्ड राजनीतिको केन्द्रविन्दु बन्दा ओली, देउवा र प्रचण्डकै वरपर प्रधानमन्त्री पदको कुर्सी घुमिरहेको थियो । सुशासनको धज्जी उडिरहेको यस अवधिबाट वाक्क भएका नेपाली नव युवा पुस्ताको आन्दोलनले विकृत राजनीतिको अन्त्य हुने वातावरण निर्माण भयो । जसको परिणाम ३६ वर्षीय युवाको काँधमा नेपाली राज्यसत्ता आइपुगेको छ । यस अवसरको सही सदुपयोग गर्ने दायित्व जिम्मेवारी लिने बालेनको काँधमा छ ।