ओली र लेखक पक्राउ
काठमाडौं । नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनमा भएको दमनलाई सरकारले ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोग बनाएर तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरेको हो ।
तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो । त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो ।
प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै गृहमन्त्री सुधन गुरुङले यो प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं,झ उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।
मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ । उक्त दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
यसैबीच पक्राउ सम्बन्धमा संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् । नवगठित सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि यस्तो टिप्पणी गरेका हुन् ।
‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ’, पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘प्रतिशोध र धरपकडले भलो गर्दैन ।’
