धिमाल जाति र यसको मूल पर्व
केदार धिमाल
धिमालहरूको मौलिक र सबैभन्दा ठूलो पर्व जातिरी र सिर्जात हो । यो पर्व नयाँ वर्षको बैशाख २ गतेबाट लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीबाट सुरु भएर असार २ गते उर्लाबारी नगपालिका वार्ड न ३ मा रहेको धिमाल परियोजना स्थलमा तीन महिनापछि समापन हुने गर्दछ । यो पर्वमा प्रकृतिको पूजा गर्ने चलन छ । यो पर्व र लेटाङको गहिरो सम्बन्ध भएकाले लेटाङको बारेमा धिमालहरूको धारणा प्रस्तुत गर्ने कोशिश गर्छु ।
लेटाङ शब्द धिमाल भाषाको शब्दबाट अपभ्रमंश भएर बनेको हो । धिमालहरूले आफ्नो राजकाज लेटाङ नगरपालिका वार्ड न १ मा रहेको राजारानीमा गरेका थिए । यो विषयमा केही दन्त्यकथाहरू छन् । यस विषयलाई थप पुष्टि गर्न मानवशास्त्री, समाजशास्त्री तथा इतिहासविदहरूले पनि लेखेका छन् ।
लेटाङ नगरपालिकाले प्रकाशन गरेको स्मारिकामा पनि धिमालहरूको राज्य भनेर उल्लेख गरेको छ । लेटाङ समग्रमा धिमालहरूले आवाद गरेर वस्ती बसाएका थिए । यसको बिषयमा थप जानकारी लिन हाम्रो धिमालहरूको साझा संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा मिति २०७६ साल फागुन २ गते लेटाङ नगरपालिकाको स्थानहरू भ्रमण गर्दा प्राप्त भयो ।
लेटाङ बजारको दक्षिणी भेगमा रहेको कमलपुरबाट भ्रमणको शुरुवात गरेका थियौँ । कमलपुर कमल धिमालको नेतृत्वमा ढालफाँड गरी वस्ती बसाईएको थियो र उहाँकै नाममा कमलपुर राखियो । धिमालहरूको राजकीय दरबार सर्बेटार पनि धिमाल शब्द साबाउबाट अपभ्रंश भएर बनेको हो । साबाउ भनेको भेला बैठक गर्ने ठाउँ हो । धिमालहरूले राज्य सञ्चालनका लागि छलफल गर्न यो साबाउमा बोलाउने प्रचलन रहेको थियो । बाहिरी दुश्मनको आक्रमणबाट बच्न यो साबाउमा छलफल गर्ने चलन थियो । यो ठाउँमा अहिले दरबारका ईटाहरू मात्र छन् । जग्गा प्लटिङ गरिएको छ । अहिले यो दरबार भूमाफियाको हातमा परेको छ ।
हर्दिया र लोकरा धिमाल शब्दबाटै राखिएको ठाउँहरू हुन् । जसको अर्थ क्रमशस् बेसार र चितुवा भन्ने लाग्छ । लक्ष्मीपुर लक्ष्मी धिमालको नामबाट राखिएको ठाउँ भने र कीर्तिमान कीर्तिमान धिमालको नामबाट राखिएको ठाउँ हुन् । धिमाल र लेटाङको लामो गहिरो ऐतिहासिक सम्बन्ध छ । थप यसको बारेमा अधययन, अनुसन्धान र खोज गर्न आवश्यक देखिन्छ ।
६० को दशकपछि धिमालहरूमा चेतनाको लहर अलि मजबुत भएको पाईन्छ । धेरै गाउँहरूले यो जातिरीर सिर्जात गर्न छाडेका थिए । चेतनाको कारण जुन गाउँहरूमा यो जातिरीरसिर्जात गर्न छाडिएको थियो । फेरि धेरै गाउँहरूमा यसको सुरुवात गरिएको छ । माईपूर्व यो पर्व कतै मनाईन्न थियो । तर २०७० देखि दान्ता बाराङ पूजा विर्तामोड नगरपालिकामा रहेको धिमाल गढमा गर्न सुरु गरिएको छ । पहिला त्यहीँ ठाउँमा पूर्खाले पूजा गर्ने गरेका थिए । बीचमा आएर गर्न छाडिएको थियो । धिमालहरूमा सांस्कृतिक क्षेत्रमा पुर्नजागरण (चभलबष्ककबलअभ) आउँदै गरेको अनुभूति गर्न सकिन्छ ।
