राजनीतिलेख

झाँगे जस्ता पूर्ववर्ती हरूवा-चरुवा खुस्केट अैले अनगिन्ती छन् !  

       व्यंग्यनारान पाँडे

अस्तिकाे आइतवार टुइँक्क मातेर पाँडेकहाँ आएकाे र दिग्दारी दिएकाले ‘पाँडे झ्वाँक’-मा परेर गलहत्याइएकाे घटना सायद ऐंसेलु झाँगेकाे सम्झनामा पिटिस्सै रहेकाे थिएन क्यार ! हुन त,  उहिले पञ्चायतीकालमा पनि कस्ता-कस्ता ठूलाठालाले पनि मातेकाे सुरमा कस्ता-कस्ता उपद्राे गर्थे र कुटाइ-धुलाइमा परेपछि भागेकाे भाेलिपल्टै फुइँ हाँक्तै सभा-समाराेहमा ‘विशेष अतिथिकाे आसन ग्रहण’ गरेकाे देखिन्थ्याे । त्यसाे भए, याे त  ‘जे-जस्तै नगर्नुपर्ने दुष्कर्म गरे पनि पार्टीले छुटाइदिने स्वेच्छाचारी तन्त्रकाल’ न हाे । यस्ताे सुबिधाप्राप्त कालमा ऐंसेलु झाँगेले  अघिल्लाे साताकाे कुराे बिर्सेकाे हुनु कुन ठूलाे अचम्म पाे हाे र ! रास्वपाले चुनावमा महाप्रलय नल्याइन्जेल ऊ जुन पाटीकाे हुँ भन्दै, भक्तपुरे गुण्डुकाे सरदारले जस्तै, धाक जमाइखाने प्राणी न हाे । त्यसबेला त्यस पार्टीका  बाबै पनि यस्तै गुणका थिए भने उनै बाबैबाट संक्रमित स्वभावले नकच्चराइँ गर्नु झाँगेकै मात्र दाेष त कहाँ हाे र ? लाज-शरमले न उसका बाबैलाई छाेएकाे थियाे न यसलाई नै छुने गर्छ भन्ने पाँडेलाई भलिभाँती थाहा थियाे !…

     अतः एकै हप्तापछि आज ऊ फेरि चारपाटे बट्टा जस्ताे अनुमान हुने कुनै बस्तुकाे,  मैलाे पुरानाे राताे कपडामा बाँधेकाे, पाेकाे बाेकेर पाँडेकहाँ लुम्रुङ्ग आइपुगेकाे थियाे । ऊ आफै पनि बिहारी ब्राण्डकाे मगन्ते पुजारीकाे जस्ताे भेषमा थियाे आज ।

उसले पाँडेकाे नजिक आएपछि सबभन्दा पहिला -” जए सिरि राम-हनुमानजी, सीताराम-सीताराम ….!”-भन्याे र  बखान्न थाल्याे -“म त जाेतिससाश्र हेर्ने पुरेत पाे गर्न थालें हउ पाँडेजी ! पत्रकार गर्ने पढ्के पेसाे र रा’नीतिकाे पाेल्टिस त झन के गरिरनु, ताे गाढेच्याने हर्रामी कुकर्म ! उस ट्यामका हामेरकाे पाटीका हाेलका हाेलका बा’ जइसा पाेल्टिसकाे खडेन्त्रकारी खेलाडीले त उत्राे घमन-गेजु-गुल्चे पर्खर रूपमा नारेर त केइ खुत्या’नन् , उल्टै  बालिन सहाज्यूले ख्वात्तै उत्तानाे पारेर इन्तु न चिन्तु बनाइसेकाे चर्चाे त सुनेकै हाेलाउ नि तपइँले पनि ? भन्देखुन्, उनै बाबैकाे पराइभेटी कम्पनी जइसाे पाटीमा गाेठालाे-खेतालाे गर्दा-गर्दा फतक्क गलेंर थाकेकाे अब चइँ ! अनिखेर याे जाेतिस बाजे पेसाे समातेकाे आज ठ्याक्कै एक हट्टा भाे !”

उसकाे कन्दने कैरन सुनेर पाँडे बेजाेड हाँस्याे र हाँसाेसँग शब्द छिराेल्दै भन्याे -“अनि तिमीलाई ज्याेतिष हेर्न पनि आउँछ त ? कि हावादारी….”

उसले उछिन्दै भन्याे -“मैले उइले काशी-बनरसमा अध्येन गरिराखेका ट्याममा कउमाेधी ब्याकर्णकाे पाठ पढेकाे हाेइन्त अन्तखेरी ? तर, ताे नभापनि, मलाई ग्र-दशाका नाम फटटट आइहाल्छ ! तेति भएछि लाटा माेरा जन्ता-जन्तीलाई उनका ग्र-दशाे हेराउँ-हेराउँ पार्ने ट्याउटिस् हाँक्न सकिहाल्छु नि । उइले मैले पाटी-पाेल्टिसकाे पेशाे गर्दाखेरि हामेरका उनै सब्से बढ्का हुकुमे बा’ले ‘राम नेपालमा जन्मेका हुन्’ भन्दा पनि उन्का ढाेके, बइठके, डाेबाटे, लम्पटे-झम्पटे, ज्यामिरे, भाेगटेहर्ले ‘हाे-हाे’ भन्दिहाल्थे केरे ! जन्ता पढ्केहेरू कुन स्टाण्डरका रछन् भन्ने उस ट्याममै किल्लेर बुजेकाे हुँ । तेसमाथि पनि मलाई म भूतपूर्बक हुँदा पनि  कमिनिसै भन्-र मान्छेहर्ले अैले पनि चिन्छन् । म धनी, साँहुँ-अछेर चिनेका र पढालिखाका घरमा जाेतिसी गर्न जाँदै जान्न । म त अप्पढिते र साेजा-लठ्ठक खाल्के ग्वाँचहर्का घराँ मात्तै जाेतिसी गर्ने समाजबाधी कमिनिस जाेतिसी हुँ नि फेरि । उउउउ झाेडा गामतिर जान्छु, ओल्लाे घराँ पसेसि पल्ला-तल्ला-माथ्ला घरका नालीबेली रिठ्ठाे नबिराई बुजेर पक्काे हुन्छु र तिन्का घरहेरूमा पस्नासाथ फटटटट तिन्का कैरन कहन्छु र एक्कै मिलिटमा तिनले मलाई बिसबास गरेर ‘इ पँडित त जाेतिस गर्न च्यप्पेन रछन्’ भन्ने मउसुस गर्छन् क्या ।अन्खेरि …”

उसले त्यही सुताले बाँधेकाे पाेकाे खाेल्याे । त्यसमा, अगाडि र पछाडिका पन्ना दाेब्रिएर-कुच्चिसकेका र मैलाेले थाेत्राे देखिने, गजबै माेटाे किताब रहेछ । उसले त्यसलाई काखमा ठड्याएर फररर पल्टायाे ।  पाँडेले चिन्याे – त्याे पुरानाे भार्गवकाे बनारसी नेपाली-हिन्दी डिक्सनेरी रहेछ । र, साेध्याे -“याे त डिक्सनेरी हाे त, याे किन चण्डीकाे पुस्तकलाई जस्तै राताे कपडामा बेरर बाेकेकाे नि ?”

उसले लगत्तै भन्याे -“मेलै जाेतिस गरेर र उनेरका भुँडीसुँडीमा ट्यान्सिन-उन्सिन भका ट्याममा थालाँ अछेता एताउति खेला’र झार्फुक झाँक्री गरेर दच्छिना लुँड्याउने घरका मेरा जे-जेमानहेरू यल्लाई नै धरमकरमकाे पुज्जे साश्रकाे पाेस्तक मानिहाल्छन् र यस्का माथ्याड जेथासक्के भेटी राखेर ढाेकढाक गरिहाल्छन्, तपइँले डिस्न्यारी भन्ने चिनेर के नापिन्छ ! मलाई नै जाेतिस गर्नेका नाताेमा कस्सैले डारबिन पर्साद, कस्सैले फेरि सराइज्याक निउँटिन पर्साद भन्-र चिन्छन् भने कस्सैले बिभेकान्द प्रसाद खँदाल भन्-र पनि चिन्छन् । ती सप्पै यइ पाेस्तककाे करामत हाे । अनिखेर, उइले उनी पाओरफुलमा हुँदाकाे ट्याममा मैले पनि बा मानेका ती क्या त पटक-पटक पर्दानमन्त्रीकाे च्याँखेमा दाउ मार्ने बूढाले पनि एस्तै पाेस्तक काखाँ राखेर ‘राम भग्बान नेपालमै जन्मेका हुन् , साे हिस्टाेरीकाे किताप मेरा काखैमा छ’ भनेका थे र सप्पैले ‘ए…हाे र ?’ पनि नभनी मानेका थे र तेस ठाममा सर्खारी मन्दिर पनि बनेकाे थ्याे । उन्ले तेसाे भनिराकाे सुनिराखेका कस्ता-कस्ता हिस्टाेरीकै पीयाच्डी पासहेरूले पनि – ‘खाेइ हेरम् त, साे-उक्त कुराे याे पाेस्तकमा काँ चइँ लेख्या छ ?’- भन्ने कम्फम् नगरी  ‘हाे-हाे’ भन्ने गरेका थे । तेति जान्ने-बुद्नेले त तेसाे गर्छन् भनेसि तपइँलाई पाे पाेस्तककाे बुक पाेस्तक नभ’र डिस्न्यारी हाे त नजान्नेलाई यत्राकाे डिस्न्यारी ?”….

यति भनेर उसले मुन्टाे अर्कातिर माेड्याे र लामाे सास तानेपछि भन्याे -“तपइँ आर्काकाे व्याक्तिगत बिज्न्यासमा भाँजाे हालुम्ला झ्याइँ पाे गर्छउ त ! आज दुला पस्या एलेक्सिनका हरुआहर्ले हामेरका बालिनलाई भाँजाे हाल्न खाेजेकाे पारा पाे ल्याम्दारछउ त हँ ? हइट, म चाइने जाेतिस गर्न गाम-गाममा रफ्फुचक्कड लाम्न छाेडेर एस्ता आरिसेसँग कुराे नारिरँदाे रछु छ्या ! गर न तपइँ पनि मैले जइसै जाेतिसी गर । किन आर्काकाे रीस गरे झ्याइँ गर्छाै हओ,  अनित्याँड काम नपा’र  हँ ? हइट ! लु म चइँ हिने लु अब !…”

ऊ फन्फनाएर हिंड्याे । अनि एकछिन् घाेरिएपछि पाँडेले आफैलाई भन्याे -“आ…के खल्लाे मान्छस् हाै पाँडे ? यस्ता खुस्केट याे झाँगे मात्तै कहाँ हाे र !  अहिले हरूवा पार्टीका पूर्ववर्ती चरुवाहरूमा अनगिन्ती भेटिन्छन् यस्ताहरू  क्या !…
   *