इतिहासले पनि उनीहरूलाई ‘खलपात्र’ नलेख्न बाध्य हुनुपर्ला त ?
नकुल काजी
“व्यक्ति विशेषकाे ‘उदय’ र ‘अस्तय’-काे चक्र नैसर्गिक सत्यमै स्थापित छ । व्यक्तिकाे अस्तयकाल सुखप्रद हुन्छ कि दुःखदायी भन्ने उसकाे कर्त्तव्यपथलाई उबाट प्राप्त यश-अपयशमा निर्भर गर्दछ ।’- याे भनाइ पाश्चात्य दुनियाँका प्रकाण्ड विद्वान चिन्तक एवम् प्रख्यात प्रगतिशील मनाेवैज्ञानवेत्ता येम युङ ( Em Jung)-काे हाे । असलमा यस्तै भइरहेकै देखिन्छ पनि । नेपालकाे सन्दर्भमा चाहिँ २०२८-०८२ काे ५४/५५ वर्षकाे अन्तरालका चलखेलमा खड्गप्रसाद ओली र त्यसपछि केही मात्रामा क्रमशः शेरबहादुर देउवा र पुष्पकमल दहालहरूलाई पनि, यही २०८२ काे फागुन २१ गते अघि र पछिकाे स्थितिमा उदाहरण मान्नु उपयुक्त हुन्छ । अन्ततः देशकै उच्चस्थान-वैशिष्ट्य चुम्दै आएका यी बूढा-पुराना व्यक्तित्वलाई इतिहासले ‘पात्र’-भन्दा ‘खलपात्र’-कै रूपमा चिन्ने याे ताजा वर्तमानले साधार अड्कल-अन्दाज गरिरहेकाे पाइन्छ !
आफ्नो उदयपछिकाे प्रखर कालखण्डहरूमा देशका यी तीन उपल्ला चर्चित पात्रहरूका ठाडाे प्रवञ्चक गतिबिधिले लाेकतान्त्रिक मूल्य-मान्यताहरूकाे तेजाेबध गरेकाे आराेप सबभन्दा धारिलाे छ । अर्थात् ,यथार्थकाे धरातलमा कल्पना पनि कहालिने विकासे याेजना र सुशासनका सिने-सम्वाद जस्ता लाग्ने रटान उनीहरूले नागरिकका सामू धेरै रटे र नागरिकलाई सरासर ढाँटे-हेपे । ती आश्वासनका बाचा बकाइकाे विश्वास पालेर देशका हरेक कित्ता-कान्लावासी, विशेषतः बहुसंख्यक निर्धा-निमुखा र अबाेध नेपालीले, सुख-समृद्धि पर्खे । सपनाका रूपमा ती बकव्रतीका वेदान्तले अस्तित्व पाउने पर्खाइमा दिन-महिना त के, ३५ओैं वर्ष बिते । अतः जनताका बलिदानी संघर्षबाट स्थापित प्रजातन्त्र, लाेकतन्त्र हुँदै संघीय लाेकतान्त्रिक गणतन्त्र समेत एक दशककाे भइसक्तासम्म पनि जन-अनुभूति विगतभन्दा कण्टक, गेगरिलाे र काेक्याइँदाे बन्दै गयाे !
यसबाट उत्सर्जित अक्करिला परिस्थितिहरू झन-झन झाङ्गिँदै र उच्छवासित बन्दै जाँदाे भयाे ! फलतः जनताले ‘वार कि पार’-काे मनस्थितिमा वर्तमान विद्राेहलाई निर्विकल्प विकल्पका रूपमा अंगीकार गरेका हुन् । यसकारण, २०४८ यताका उपर्युक्त सबै खाले ‘तन्त्र’ नामे अवधिमा देशमाथि तानाशाही ‘दलतन्त्र’, ‘नेतातन्त्र’, ‘लुटतन्त्र’ बलात् लादिनु नै तत्कालीक हुकुमी मुखिया-(नेता)-हरू स्वयम् ओरालाे लाग्ने दुरन्त दशाकाे सक्कली अन्तर्य बन्याे ! यही कुराे हालैकाे चुनावमा मतदाता बनेका नेपालीद्वारा प्रकट भएकाे हाे । र, त्याे प्रकटीकरण त्यस अवधिभरि पालाे फेर्ने चरम स्वार्थी कुशासकहरूका दलनले प्रताडित नागरिकका अनुतप्त अनुनाद मान्नु पर्दछ । अझ याे अवस्थालाई कुनै भवितव्य लाद्ने दाउमा रहेका देशघातीले पनि युग-उद्दिष्टित नागरिककाे प्राकृत एवम् संवैधानिक अधिकारकाे मर्यादालाई अभिभूत तुल्याएर मात्र बिथाेल्न सक्ने अवस्था सिर्जना भएकाे नागरिक उद्घाेष मान्नु पर्दछ ।
एकदम पुराना कुरा छाेडेर, गणतन्त्राेत्तरकै मात्र राजनीतिक खायलका तीन मुखियमध्ये, सत्ताशक्तिकाे दम्भ र अहंकारले चुस्त भएकाे एउटा नकटाे र त्यसैका पैदाईश हजुरीहरूले शक्तिमै मदान्दित भएर शक्तिकै माैलाेमा १९ अबाेध बाल-बालिकासहित ७६, सदाचार र समृद्ध नेपालका प्रति आत्मनिवेदित, नेपालीकाे बलि चढाएर शक्तिकै करामत देखाएकाे घटना नेपाली मन-मस्तिष्कमा आलै छ । आफूलाई ‘चाणक्य’-काे ‘नेपाली अवतार’ ठान्ने साे नकटाे नै अहिले माझै मुखबाट अहंकार (self-conceit)-काे नकारात्मक परिभाषाका फलाकाेहरू देशी-विदेशी सामाजिक सञ्जालहरूमा वेशरम फर्माइरहेकाे छ । र, त्यसका भजनजीवी ओैंसाहरू हर्षातिरेक समर्थनकाे उल्लाेल उछालिरहेका छन् ! यस्ताे नकचराे समयमा कञ्चन नयाँहरूकाे ‘राज्य’-मा संवैधानिक र कानूनी उपस्थिति सबै दृष्टिले स्वागतयोग्य छ । तर, ‘गलतकै पनि समर्थन’ नगरे काेपभाजनमा परिने डर पाल्ने ‘बाध्यात्मक मानसिकता’ बाेक्ने बानी परेका नेपाली जन-प्रकृतिले याे परिस्थितिलाई कतिकाे कामयाव ऊर्जा दिन्छ भन्ने भने हेर्न पर्खिनु परेकाे छ । याे ‘भाेलि’-काे शासकीय ताैर-तरिका र चलखेलले निर्धारण गर्ने कुरा हाे ।
यद्यपि, ‘पुरानाहरू’-का रंगरंगाेलीमय रजगजकाे माैसम ओरालाे लागेकाे आजकाे नेपालमा नवाेदित प्रतिभाहरू पनि उपर्युक्त मनाेदशाबाट मुक्त छैनन् कि वा हुने छैनन् कि भन्ने पछिल्ला केही घटना छन् । अब परिवर्तित सत्ताकाे बागडाेर सम्हाल्न लागेकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदकाे सूचीमा सूचिकृत विदुषी राणासँग साे पार्टीकाे के नाता थियाे वा छ भन्ने खुल्दुली स्वयम् साे पार्टीभित्रै जम्जमाएकाे छ । ती राणा काठमाडौंकाे कुन राणा खानदानकी महिला हुन् र कुन वर्गकाे नामबाट साे सूचीमा पारिइएकी हुन् भन्ने साे पार्टीका केही उपल्ला बाहेक अरूहरूलाई थाहै छैन भनिन्छ । पहिला-पहिला प्रत्यक्षतर्फका सांसद-उम्मेदवार समेत र ‘समानुपातिक’-काे संवैधानिक व्यवस्थाकाे सिद्धान्त बमाेजिम नागरिक-जीवनका विभिन्न कित्ताकाे प्रतिनिधित्व निम्ति पार्टीले तय गर्ने व्यक्तिका ठाउँमा रुपैयाँकाे डाक बडाबड हुन्थ्याे । उदाहरण स्वरूप, दुर्गम क्षेत्रका पछाडि परेका महिलाकाे काेटामा, पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुरकी पत्नी अनि कुनै श्री३ राणा प्रधानमन्त्रीकी धनाड्य नातिनी आरजु राणा मनाेनित भई परराष्ट्र मन्त्रीसम्म भएकी थिइन् भन्ने नै छँदैछ । उनै प्रधानमन्त्री-पत्नी आरजु सांसद पद लगायत विभिन्न आयमूलक पदकाे बिक्रीमा नामूद मानिने त गरिन्थिन् नै ।
त्यसाे त, नेपालकै धनाड्य उद्योगी गाेल्छाका परिवारका श्रीमान् र श्रीमती समेत पालैपालाे, केपी ओलीकाे एकाधिपत्य-हुकुम बिना पात पनि नहल्लिने, कम्युनिष्ट पार्टी (एमाले)-बाट सांसदमा मनाेनीत भएका उदाहरण पनि छन् । त्यसाे त, याे ताजा वर्तमानलाई चख्ल्याँस्स पारेर झस्काउने काम गगन थापा नेतृत्वकाे ‘बद्लिएकाे नयाँ कांग्रेस’ भनिइन थालिएकाे नेपाली कांग्रेसले नै पाे नगरेकाे कहाँ छ र ? स्वयम् सभापति गगनले आफ्ना बयाेबृद्ध ‘ससुरा बा’ अर्जुन नरसिंह केसी तथा शेखर काेइरालाकी पत्नी पुनम काेइराला, चरम विवादित कांग्रेसी नेता विजय गच्छदारकी पत्नी प्रमिलादेवी र पूर्व राष्ट्रपति रामवरणका छाेरा चन्द्रमाेहन यादवहरू आदिलाई ठूलाठाला र तिनका सहाेदर घर-गृहस्त नाताकालाई समानुपातिक सांसद मनाेनीत गरेका छन् । ‘बद्लिएकाे नयाँ कांग्रेस’-काे ढालमा छेलिएर ‘वास्तविक नयाँ’-काे हुरी-हुण्डरीबाट आफूलाई बचाइआएका गगन थापासम्मले त आफ्नाे पुरानाे राजनीतिक आग्रह (political longing ) वा लिप्सालाई ‘समग्र नयाँ’ (exhaustive New)-काे याे समयकाे जब्बर हाँकलाई यसरी चुनाैती दिए भने त्यस जमानाका हैकमी अरूहरू पनि अवसरकाे बाटाे-दाेबाटाे ढुकिरहेका कसाे नहाेलान् त ? – याे प्रश्न महत्वहीन छैन ! भाेलिकाे ‘सहजता’ किटान गर्न यसकारण पनि अप्ठ्यारै छ !
लाेकतन्त्रकाे जीविताभास भनेकाे शासकीय आँखामा लाेक-व्यवहारकाे यथार्थ बिम्बित हुनसक्नु चाहिँ हाे । लाेकतान्त्रिक शासन व्यवस्था चलेकाे देशमा शासकका नजरमा लाेक र लाेककाे जीवनचर्य्या बिम्बित नहुनु भनेकाे लाेकतन्त्रकाे स्वरूप अन्तर्गत आत्मा मरेकाे शरीर जस्ताे मात्र हाे भन्दा पनि अत्युक्ति नहाेला । हिजाेका पछिल्ला दिन, महिना र वर्षहरूमा शासक शिविरका उपल्ला राजनीतिक कुर्सी ओगट्नेहरूले उनमा हुनैपर्ने अनिवार्य ती गुण र याेग्यतालाई लवलेश मान्यता नदिनु नै वस्तुतः आज उनीहरू लाेक-नजरमा निकम्मा सावित हुनुकाे मूल कारण वा कडी हाे । अन्यथा, राज्यका हरेक शासकीय अवयवदेखि स्वतन्त्र हुनैपर्ने न्यायालयसम्म कब्जा गरेर देश दाेहन बर्करार राखिराख्नु र हरेक पालाे फेरुवाले आफूलाई १९ओैं शताब्दीकाे तानाशाही स्वेच्छाचारितामा अवतरित गराएर रजगज गर्ने अवसरकाे अनुभूति गर्ने अभ्यासलाई लाेकतन्त्र भनेर गर्धनका नसा फुलाई-फुलाई साे बतासे बकाइ बक्नु मात्रले भरिभराउ हुनु मात्रलाई ती कालखण्डहरू कुन किसिमबाट चल्दै आएका रहेछन् भनेर टिप्पणी गर्ने त ? नागरिकले लाेकतन्त्रलाई आफ्ना-आफ्नै जीवन-जगतमै प्रत्याभूत भएकाे देख्न चाहन्थे । अथवा, लाेकतन्त्रकाे पहुँच आफ्नाे घर, घरबारी र चूला-चाैकासम्मै देख्न चाहन्थे । तर, देशलाई राजनीतिक लट्टी खेल्ने मैदान बनाउनमै र शासनकाे खाेसाखास्-कसरतमै पुराना-पाका पार्टीहरूका कालखण्डहरू अनुरक्त हुने गरेकाले समयकाे हर्दम अपव्यय हुँदै आयाे ।
अराजनीतिक व्यक्तिवादकाे बाेलवाला बढ्दै गयाे र लाेकतन्त्र ‘व्यक्ति पूजन’-काे नयाँ संस्करणमा अनुवाद हुँदै गयाे अनि नेतालाई तिनका इर्दगिर्दवासी छावाहरूले देवत्वकरण गरेर नागरिक जीवनलाई अक्करिला दलतन्त्र वा नेतातन्त्रमा अल्मल्याइयाे । फलतः कुल जनसंख्याकाे झन्नै एक-तृतीयांश नेपाली विदेशिन बाध्य भए र देश लगभग बृद्धाश्रम-बालाश्रम बनेकाे दयनीय अवस्थामा पुगेकाे छ । यसमा पनि पूर्व शासक शिविरहरू रमाएकै किन देखिए भने विदेशमा पसिना बगाउन पुगेका सामर्थ्य र पाखुरे नेपालीबाट प्रेषित रेमिट्यान्स, उनीहरूकाे लुट र दाेहनकाे लक्ष्यमा सँधै रहने ‘राज्यकाे तिजाेरी’ भर्ने उपादान (element) सिद्ध हुने गर्दै आइरहेकाे त जाे छँदैथियाे नै । अतः नागरिक प्रत्यक्ष-पराेक्ष अनेक किसिमकाे भयका अधीनमा दविएर चूपचाप बस्न बाध्य थिए । जस्ताेसुकै भ्रष्टाचार, कमिशनखाेरी, घुसखाेरी, ढिलासुस्ती, महंगी, अभाव, असुरक्षाभाव इत्यादि सहेर बस्न परे पनि साे सहेरै बस्नुपर्ने बाध्यात्मक स्थिति थियाे नागरिक जीवनकाे ! हरेक फेरबदलपछि सत्तामा आउने दलमार्गीहरूकाे ताण्डव उस्तै हुन्थ्यो ! माैजूदा संघीय लाेकतान्त्रिक गणतन्त्र त झन सँधैकाे राजनीतिक अस्थिरता र त्यही अस्थिरताबाट लाभान्वित हुन पाइने शासन पद्धति नै हाे कि जस्ताे आभ्यासिक दृश्य-परिदृश्य जाे उनै सत्ताभक्तजन लगायत सबैका आँखा अघिल्तिर छत्ताछुल्ल त जाे नभई आएकाे कहाँ थियाे र !!…
अर्थात् , वितेकाे साढे तीन दशक र खासगरी पछिल्लाे एक दशकमा नेपाल र नेपालीलाई सत्ताकाे अख्तियारले सम्पन्न रजगजभाेक्ताहरूबाट दिएका व्यावहारिक र मानसिक पीडा तथा लाेकतन्त्रिक सिद्धान्तकाे सारतत्व (kernel)-माथि नै हुँदै आएका दलन र अत्याचार भनेर वा गनेर सहजसाध्य नै छैन । त्यसैले, बस्, आजलाई यति नै !…
