पाथिभरा नर्सिङ कलेजका विद्यार्थी समुदायको समस्याको पहिचान गर्दै
भद्रपुर । भद्रपुर ७ स्थित ओम साई पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू पढ्दै समुदायको समस्याको पहिचानमा जुटिरहेका छन् ।
नर्सिङ विषयमा अध्ययन गरिरहेका ४० जना छात्र छात्राहरूले परियोजना कार्य अन्र्तगत सामुदायिक स्वास्थ्यका क्षेत्रमा स्थलगत अध्ययन गरी आर्थिक, सामाजिक अवस्था र रोगको संक्रमण बारेमा अनुसन्धान गरिरहेका हुन् ।
छात्राहरूले यस पटक हल्दिवारी ३ लाई अध्ययनको केन्द्र बनाएर एक महिनायता गरिरहेको अध्ययन सार्वजनिक गर्दै दिएको जानकारी अनुसार नसर्ने रोगको प्रकोप निकै उच्च देखिएको छ । नमुना छनौट विधि अपनाएर ५ सय जना स्थानीयको अध्ययन गर्दा उच्च रक्तचाप, क्यान्सर, मधुमेहका रोगी ६० प्रतिशतभन्दामाथि भेटिएको छ भने सरूवा रोग ४० प्रतिशतमुनि देखिएको छ । उनीहरूको अध्ययनको निष्कर्ष अनुसार बदलिदो जीवन शैली र बढ्दो विषाक्त खाद्यन्नका कारण नसर्ने रोगले समाजमा प्रभाव बढाउन थालेको हो ।

हल्दिवारी ३ स्थित रामेश्वर आधारभूत विद्यालयमा कलेजद्वारा आयोजित सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत स्वास्थ्य चेतना कार्यक्रम एवम् निशुल्क एक दिने आँखा जाँच स्वास्थ्य शिविर समेत सम्पन्न गरिएको थियो ।
विद्यार्थीहरूले स्वास्थ्य जीवन शैलीका लागि आवश्यक विभिन्न खाद्य पदार्थ, औषधी लगायतको निर्माण, उपयोग बारेमा विविध जानकारी दिँदै सामग्री प्रदर्शनी समेत गरेका थिए । आँखा जाँच स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थी लगायतले लाभ समेत लिएका थिए भने प्राविधिक तथा विशेषज्ञ सेवा ओम साई पाथिभरा अस्पतालका डाक्टरहरूको रहेको थियो ।
विद्यार्थी प्रियंका बोगटीको सभापतित्व रहेको कार्यक्रमको उद्घाटन कलेजकी प्रिन्सिपल उपमा शिवाकोटी र विद्यालयकी प्रधानअध्यापक मेनका शर्मा दाहालले गरेका थिए भने सहजीकरण विद्यार्थी रोजिना बस्नेत, रितिका सापकोटाको रहेको थियो ।
