नेकपा झापा ३ का उम्मेदवार घिमिरेले २६ बुँदे प्रतिबद्धता सार्वजनिक गरे
भद्रपुर । नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नम्वर ३ का उम्मेदवार डिल्लीराम घिमिरे हिक्मतले आसन्न निर्वाचनमा आफ्ना मतदातासित मतदान गर्न आब्हान गर्दै २६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
भद्रपुरमा सञ्चारकर्मीबीच उम्मेदवार घिमिरेले शिक्षा, स्वास्थ्यमा सुधार, अधुरा पूर्वाधार पूर्ण गर्ने, कृषिको विकासका लागि सिञ्चाई, बजारीकरण, सुरक्षित भण्डारीकरण, नदी कटान रोक्न तटबन्धन निर्माण, हरेक वर्ष तीन हजार व्यक्तिका लागि रोजगार सिर्जना लगायत २६ बुँदामा प्रतिबद्धता जाहेर गरेका हुन् ।
नेकपाका उम्मेदवार घिमिरेले शिक्षा अन्र्तगत सो क्षेत्रभित्र रहेका हरेक पालिकामा कम्तिमा एउटा विद्यालयमा माध्यमिक तहसम्मको बहु प्राविधिक शिक्षा दिने विद्यालयको वातावरण बनाउने, कचनकवल स्थित बनियानीमा स्नातक तह सम्मको बहु प्राविधिक शिक्षालय स्थापना गर्ने, कृषि अन्र्तगत बजारीकरणको वातावरण निर्माण गर्ने,चिस्यान भण्डार निर्माण गर्ने, दुग्ध कृषकका लागि चिस्यान केन्द्र निर्माण गर्ने, अलपत्र परेका विगतका महत्वपूर्ण भौतिक संरचना निर्माण सम्पन्न गराउन पहल गर्ने, हरेक वर्ष कम्तिमा तीन हजार व्यक्तिका लागि रोजगार सिर्जनाको वातावरण बनाउने लगायत प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य पुष्पराज पोखरेलले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा नेकपाको उम्मेदवार मात्र सो परिस्थिति पहिचान गर्ने युवा पुस्ताको नयाँ उम्मेदवार रहेको धारणा राखेका थिए ।
संविधानसभा सदस्य तथा नेकपा झापाका नेता मोहन टुटुले जेनजी आन्दोलनको भावना अनुकुल नेकपा रहेको दाबी गर्दै आफ्नो पार्टीको उम्मेदवारले जित्नेमा कुनै शंका नरहेको धारणा राखेका थिए ।
