दिगो वन व्यवस्थापनका लागि चन्द्रगढी वनको विषेश साधारण सभा
भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको तेस्रो विषेश साधाराण सभा तथा परिषद भेला सम्पन्न गरिएको छ ।
दिगो वन व्यवस्थापनका लागि कार्यादेश लिन समूहको तेस्रो विषेश साधाराणसभा परिषद भेला मार्फत सम्पन्न गरिएको हो ।
भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा सम्पन्न सभाको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले विरूवामा पानी हालेर उद्घाटन गरेकी थिइन् ।

समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अनुज खतिवडाले दिगो वन व्यावस्थापन गर्न सके वनको संरक्षण र स्थानीय उपभोक्ताको जीविकोपार्जनका लागि महत्वपूर्ण अवसर निर्माण हुने तथ्य पेश गरेका थिए । अध्यक्ष खतिवडाले दिगो वन व्यवस्थापनको उपयोगिता बारे जानकारी दिदै प्रस्तावित वन कार्यविधिको उद्देश्य, सञ्चालन हुने प्रकृया तथा वन कार्योजनाका बारेमा विस्तृत विवरण समेत प्रस्तुत गरेका थिए ।
डिभिजन वन कार्यलय झापाका वन विज्ञ परमेश्वर पासवानले कार्यक्रमको सहजीकरण गर्दै दिगो वन व्यावस्थापन गर्न आवश्यक रूपमा वन सुधार गर्दै लैजानु पर्नेमा जोड दिए । उनले वन सम्पदालाई व्यवस्थित रूपमा सञ्चालन गर्न पनि वैज्ञानिक वन व्यवस्थापन आवश्यक पर्ने जानकारी दिँदै उपभोक्ता, समिति र वन प्राविधिकको त्रिपक्षीय सहभागितामा दिगो वन व्यवस्थापन सफल हुने प्रष्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकालाल अधिकारी , नेपाली कांग्रेसका चेतनाथ भट्टराई , राप्रपाका गोकुलप्रसाद ढकाल, अग्रज व्यक्तित्व विष्णुप्रसाद शिवाकोटी, वन महासंघका वेदप्रकाश भण्डारी, समितिका पूर्व अध्यक्ष हिराप्रसाद पोखरेल लगायतले मन्तव्य राख्दै पर्यावरण सन्तुलनका लागि वन सम्पदा महत्वपूर्ण रहेको भन्दै विनास र चोरी तस्करी रोक्ने गरी दिगो वन व्यवस्थापन हुनु पर्ने धारणा राखेका थिए ।
समूका अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष श्रीमननारायण पौडेल र सञ्चालन सचिव कमला थापाले गरेकी थिइन भने सभाले वन समूहले राखेको वैज्ञानिक वन व्यवस्थापनको कार्यादेश सर्वसम्मत पारित गर्दै दिगो वन व्यवस्थापनका लागि बाटो खोलिदिएको छ ।
दिगो वन व्यवस्थापनको अवधारणा अनुसार ८ वटा ब्लकमा वन क्षेत्र विभाजन गर्दै पुराना रूख हटाउँदै जाने र नयाँ विरूवा उमार्ने, हुर्काउने र वन क्षेत्र हरावरा बनाउने गरी वन व्यवस्थापन गर्ने नीति सरकारी स्तरमा रहेकोले सोही अनुसार समूहले पनि यस अवधारणामा जान आम उपभोक्ताबाट स्वीकृति लिएको हो ।
