झापा प्रहरी प्रमुख खड्काको प्रतिबद्धता
भद्रपुर । झापा प्रहरी प्रमुखको भर्खरै जिम्मेवारी सम्हालेकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले झापाको शान्ति सुव्यवस्थाका लागि प्रतिबद्ध भएर लाग्ने बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हालेपछि पहिलो पटक आफ्नै कार्य कक्षमा झापाका सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै उपरीक्षक खड्काले आसन्न निर्वाचका बेला हुन सक्ने सुरक्षा चुनौतिलाई समेत नियन्त्रणमा लिने गरी काम गर्ने बताएकी हुन् ।
बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट सरूवा भएर आएकी खड्काले कुराकानीका क्रममा बोल्दैे शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी आएकाले शान्ति सुरक्षा कायम गर्न सक्रिय भएर लाग्ने बताइन् । उपरीक्षक खड्काले जिल्लामा कार्यरत प्रहरीहरूले गर्ने काम कारवाहीका बारेमा जानकारी लिन प्रहरी युनिटहरूको अनुगमन गर्ने बताएकी छन् । उनले खराव नियत राखेर प्रहरीको बर्दी दुरूपयोग गर्नेहरू बिरूद्ध कठोर भएर कारवाही गर्ने समेत बताइन् ।
चुनौतिसित लड्नुनै अवसर भएको जनाउँदै उपरीक्षक खड्काले झापाभित्र शान्ति सुव्यवस्था विपरित हुने जस्तासुकै घटना नियन्त्रणमा लिएर सदभाव कायम गर्ने प्रतिबद्धता जनाइन् ।
