राजनीति बदलिनै पर्छ
सम्पादकीय
देश परिवर्तित राजनीतिक बाटोमा छ । परम्परागत सत्ता राजनीति नाफामुखी व्यापारको शैलीमा गएपछि युवाहरूको विद्रोहले लगभग कमाउधन्धा परम्परामा विकास हुँदै गएको राजनीति समाप्त गरिदियो । जसको परिणाम परम्परागत राजनीतिका खेलाडी र नयाँ उदाउँदै गरेका राजनीतिक खेलाडी बीच द्वन्द्वका चरण पनि सुरू हुँदै गएको संकेत समेत देखिन थालेको छ ।
राजनीतिक समय भनेको अनिवार्य बदलिने भित्ताको पात्रो जस्तो विलकुल हुँदैन । यसलाई बदल्न सूत्र जरूरी हुन्छ । संकल्प, दृष्टिकोण, एकता, सामूहिक चाल, मिहिनेत, त्याग र अन्तरविश्वास अनिवार्य छ । त्यसबाट शक्ति हासिल गरेर आत्मविश्वासलाई उचाइमा र अन्तरविश्वासलाई गहिराइमा जब राजनीतिले पुर्याउने अठोट गर्छ, तब देशले विकासको गति लिन्छ । यस सत्यलाई परम्परागत राजनीतिका खेलाडीले स्वीकार गरेनन् जसको परिणाम सत्ता राजनीतिबाट च्यूत हुनु परेको छ ।
नयाँ पुस्ताले सुरू गरेको राजनीतिले पनि माथिको सत्य स्वीकार गर्ला जस्तो देखिदैन । राजनीतिले सही गति नलिएकै कारण देशले युग अनुकुल विकास पाउन सकेन । दशकौंदेखिको व्यक्तिको महत्वकाँक्षा केन्द्रीत राजनीतिले नेपालको विकास कागजमा जति राम्ररी भएको छ व्यवहारमा उतिनै कम्जोर अवस्थामा छ ।ं समय सधैं उस्तै रहँदैन भन्ने भाव वर्तमानको विद्रोहले देखाइ दिए पनि पुरातन राजनीतिले बुझेन । नयाँ पुस्ताको क्रान्तिको उद्देश्य माहान भए पनि नेतृत्वको गतिमा परम्परागत राजनीतिकै उभारको दुर्गन्ध उस्तै छ । यो सच्चिन सकेन भने देश र जनताको नियती उही रहने पक्का छ ।
संघीय लोकतान्त्रिक राजनीतिको मर्म र धर्म बुझ्न सत्ता राजनीतिमा पदासीनहरुलाई फुर्सद नहुँदा एक दशकसम्म अभ्यासकाल मै राज्य सत्ता चल्यो । यस समयका कतिपय घटनापरक विषय हेर्दा र निरूपण गर्दा उनीहरुमा ‘चिल्लो पात’ देखिंएन । ‘भदौमा आँखो फुटेको गोरू सधैं हरियै देख्छ’ भने झैं संघीय लोकतान्त्रिक व्यवस्थाको विभिन्न तहको जिम्मेवारीलाई आफ्नो पार्टीको अनुभव र आदर्श लादेर ‘सबैको हुन’–बाट भाग्ने परम्पराले राजनीतिका पुरातन खेलाडी एक्लै बिदा हुनु पर्ने दिन आयो ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका क्रियाकलापले आम अपेक्षाको पूर्ति संभव भएन । परिणाम लोकतन्त्रको संकट सबैभन्दा ठूलो चिन्ताको विषयमा पुगेको छ । स्थानीय सरकारको मर्यादा पाएका स्थानीय तहहरूमा कहीं–कतै कुनै पनि विकृतिले अलिकति टाउको उठायो भने त्यो धरातलीय जनताका आँखामा सिधा पर्छ र बिझाउँछ भन्ने सत्यलाई स्थानीय तहमा जनताबाट चुनिएर निर्णायक कुर्सीमा पुगेकाहरुले आत्मसात गरेनन् प्रदेश र संघीय सरकारले त नागरिक चिनने फुर्सद नै निकालेन । आज लोकतन्त्रलाई जनताले फोस्रो नारा मात्र मान्नुपर्ने दुर्दिन आइसकेको छ । ‘लोक’ शब्द ‘आम जनता’–को पर्याय हो र लोकको कल्याण गर्ने तन्त्र संयुक्त भई ‘लोकतन्त्र’ शब्द बनेको हो । यसर्थ लोकतान्त्रिक अभ्यासद्वारा लोकको अपेक्षालाई उपेक्षा गर्ने क्रियाकलाप लोकतन्त्रका प्रयोक्ताहरुबाटै भयो भने त्यो आत्मघाती सिद्ध हुन्छ भन्ने प्रमाण आउन थालेको छ ।
राजनीतिले ल्याउन नसकेको परिवर्तनको मुहार हेर्दा राज्य सञ्चालनको जिम्मेवारीमा पुगेकाहरूले अहिलेसम्म समय उस्तै र उही रूपमा रहँदैन भन्ने भाव नै बुझ्ने प्रयास गरेनन् । परिवर्तनका नारा त लगाए व्यवहारमा परिवर्तन गर्न सकेनन् । त्यसैको परिणाम स्वरूप आज देश गृहयुद्धको भूमरीमा फस्ने अवस्थामा पुगेको छ । देशका अमूल्य सम्पत्ति दनदन आगोले खाँदा ताली बजाएर खुसी हुने दिन विकृत राजनीतिकै परिणाम थियो । आन्दोलनमा घुषपैठ गरेर होस् या सत्तामा तर मारेर देशलाई घात गर्नेहरू बिरूद्ध निर्मम हुन नसकेसम्म न त परिवर्तनको अर्थ बुझिन्छ, या त परिवर्तनै हुन सक्छ । यसकारण पनि परम्परागत सोच पालेका दल हुन नव युवा जो विद्रोहबाट स्थापित हुन खोजिरहेका छन् द ुवै पक्षले सच्चिनै पर्छ अनि मात्र नेपालको कल्याण हुनेछ ।