चन्द्रगढी वनको २६ औं सभा सम्पन्न
भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २६ औं वार्षिक साधाराण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा परिषद भेला मार्फत समूहको २६ औं वार्षिक साधारण सभामा स्मारिका विमोचन, सहयोगी सम्मान गर्दै सम्पन्न गरिएको हो ।

समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा चन्द्रगढ चन्द्रगढी वन बाटिका स्मारक ग्रन्थको बिमोचन समेत गर्दै विमोचन प्रकाशनमा महत्वपूर्ण योगदान दिने सम्पादक मण्डललाई नगद सहित सम्मान समेत गरिएको थियो ।

समूहको वार्षिक गतिविधि सहित नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले लाभग्राहीका लागि महिला उत्थान, स्वरोजगार प्रर्वधन, कृषि तथा भेटेनरी लगायत विविध कार्यक्रमहरूमा विशेष लगानी गरेर हरित अर्थतन्त्रका लागि काम गरिरहेको र आगामी वर्षमा पनि निरन्तर रहने वार्षिक कार्योजना पेश गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, समूहका निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सव डिभिजन वन कार्यलय झापाका वन अधिकृत कुलप्रसाद भट्टराई, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणि मैनाली, चन्द्रगढ चन्द्रगढी वन बाटिका स्मारक ग्रन्थका प्रधान सम्पादक तारा विविध, ग्रन्थका भाषा सम्पादक हरिनारायण भट्टराई, सम्पादक सदस्य देवीचरण भण्डारी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको संंचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गरेका थिए ।
सभाले आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन गरेको छ भने वन संरक्षणका लागि स्थानीयसित हातेमालो गरेर अगाडि बढ्ने संकल्प समेत पारित गरिएको छ ।
