भद्रपुरमा डा. महावीर पुनलाई सम्मान
भद्रपुर । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक डा. महावीर पुनले आफ्नो सपना पूरा गर्न लगनशील भएर अविरल यात्रा गर्नु पर्ने बताएका छन् ।
झापा सदरमुकाम भद्रपुर स्थित एमरेल्ड एकाडेमीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा. पुनले कुनै पनि उद्देश्य पूरा गर्ने हो भने लक्ष्यप्रति इमान राखेर अविरल यात्रा गर्नु पर्ने बताएका हुन् ।

उनले ३२ वर्ष अगाडिदेखि नेपाललाई समृद्ध बनाउन प्रविधिको माध्यमबाट आविस्कारका श्रृखंला निर्माण गर्दै हिँडेको स्मरण गर्दै कतिले बौलाहा उपनाम दिए पनि बिकट पहाडी जिल्लामा बिजुली र ताररहित इन्टरनेटको आविस्कार गरेर नेपाललाई सन्सारसित प्रविधिमा गाँसेको सुनाए । पुनले ज्ञान र सीप जहाँ गएर सिके पनि प्रयोग र उन्नति आफ्नै माटोमा गर्नु पर्ने धारणा राखे । उनले ३५ वर्ष अगाडि शिक्षण पेशा छोडेर प्रविधि सिक्न अमेरिका पुगेको सम्झँदै ज्ञान प्राप्त गरेपछि लाखौं रूपैया कमाउने विदेशी जागिर त्यागेर नेपालकै उन्नतिका लागि राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरेको जानकारी दिए ।
डा. पुनले सुन्दर नेपालको परिकल्पना साकार पार्न कृषकका लागि औजार कारखना सञ्चालनमा ल्याएको उल्लेख गर्दै आफूले लेखेको आफ्नो जीवनी तथा आत्मवृत्तान्त पुस्तक बेचेर सो कारखना व्यवस्थित रूपमा सञ्चालन गर्ने सपना साकार पार्न गाउँगाउँ डुल्दै हिडेको जनाए । उनले यो पुस्तक बेचेर विरगञ्ज स्थित औजार कारखना सुचारू गर्छुृभन्दा पनि आफूलाई पागल भयो भनेर आलोचना गर्ने गरेको जनाउँदै त्यस लक्ष्यप्रति निरन्तर इमान राखेर अविरल यात्रा गरिरहेको प्रष्ट पारेका छन् ।
उनले बिगतमा ताररहित इन्टरनेट पश्चिमी पहाडमा जडान गर्छुभन्दा नपत्याउनेहरू अहिले कृषकका लागि औजार कारखना सञ्चालनमा ल्याएर प्राविधिक सहयोग गरी स्वदेशी उत्पादन बृद्धि गर्छुभन्दा पनि हाँसोमा उडाइ रहेको सुनाए । उनले यस देशको उन्नतिका लागि खुट्टा नकमाउने भन्दै सवै विद्यार्थीले नेपालको उन्नतिका लागि केही गर्छु भन्ने संकल्प पालेर अगाडि बढे नेपालको भविश्य सुन्दर हुने समेत सुनाएका थिए ।

विद्यालयका संस्थापक प्रा. डा. पृथ्वीविक्रम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका पूर्व प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, एमरेल्ड एकाडेमीका संस्थापक तिलक प्याकुरेल, ध्रुव भण्डारी लगायतको उपस्थिति रहेको थियो भने विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले सहजीकरण गरेका थिए ।
