लेखशिक्षा

 अनकन्टार गाउँकाे उपन्यास – ‘याङरूप’ !                                   

नकुल काजी 
युगकाे परिवर्तनसँगसँगै सामाजिक वातावरण बन्नु र सामाजिक वातावरण बमाेजिम साहित्यिक वातावरण कायम हुनु भनेकाे एक अर्थमा प्राकृत विषय हाे र हाे हरेक समय-सालका लागि अन्तर्वाेधकाे विषय पनि । वसन्त र भानुभक्तले कृष्ण र राम भज्नु, राजीलाेचन र माेतिरामले मनाेरञ्जक रचना रच्नु र अझ पछिका लेखनाथ, देवकाेटा र बालकृष्णले प्रवुद्ध काव्यतिर लम्कनु भनेकै सामाजिक प्रतिक्रिया हाे । धरती टेकेकाे साहित्य सामाजिक परम्परा र त्यस परम्परागत विचाधाराकाे आधारमा खडा भएकाे हुन्छ । त्यसलाई अघिल्ला काल-परिस्थितिका सिर्कनाले दपेट्नु न्याय हाेइन मात्र हाेइन, सरासर अन्याय नै ठहर्छ । यस्ताे  समयाेचित निर्क्याेल त ताजा वर्तमानकाे समाजले गरिरहेकाे हुन्छ नै ।

अर्थात् , मैले ज्ञानु बुढाथाेकीकाे उपन्यास ‘याङरूप’ पढिसिध्याएपछि उपर्युक्त विचार पूर्वदिप्तीकाे नाङ्लाेमा छिन्किएँ । किनभने, मैले सुनेकाे छु याे पुस्तक  गत २०८१ कात्तिक र माघमा धमाधम दुई संस्करण प्रकाशमा आइसकेकाे हाे  र तैस्राे संस्करण पनि प्रकाशाेन्मुख छ । र, याे अहिले पाठककाे दुर्भिक्षकालमा पनि सबभन्दा बढी बिक्री भएकाे पुस्तक पनि हाे । अहिले पुस्तक र पत्र-पत्रिका मनग्गे पढिँदैन, पठनकाे चलन हराएकाे, एक किसिम बञ्जार भएकाे, समय वहाल छ अहिले । यही सुनेर र यस पुस्तकले देशैभरि  भिमलाउँदाे  ‘पहाडी ग्रामीण कथ्य भाषा’-काे सम्मान गरेकाे छ भन्ने सुनेर समेत, मेराे आजकाे चरम अस्वस्थ अवस्थामा पनि पढ्न प्रेरित भएकाे थिएँ म ।                                                           

विक्रम संवत १९५५ (आजभन्दा १२७ वर्ष पहिले पण्डित गिरीश बल्लभ जाेशी लिखित ‘वीर चरित्र’ )-बाट नेपाली ओैपन्यासिक कालकाे प्राथमिक युग प्रारम्भ भएकाे हाे । साे प्रथम उपन्यास र ‘विरसिक्का’ तथा ‘महेन्द्रप्रभा’-हरू हुँदै वि.सं. १९९० मा साे युग  टुङ्गिएपछि ‘रूपमति’, ‘भ्रमर’ र ‘लगन’ नामका उपन्यासहरूबाट  अर्काे युग प्रारम्भ भएकाे कथा आउँछ । समय अनुसार  समाजकाे स्वरूप  बद्लिनु स्वाभाविक मानिन्छ र समाजकाे व्यक्त-अव्यक्त आग्रह बमाेजिम साहित्य-सर्जकहरू सम्वेदनशील बन्नु पनि, परिवर्तनकाे तकाजामा,  अस्वाभाविक मान्न सकिँदैन । यस क्रममा शिवकुमार राईकाे ‘डाक बंगला’, इन्द्रबहादुर राईकाे ‘आज रमिता छ’-काे निकैपछि भरत जङ्गमकाे ‘कालाे सूर्य’ र ‘ब्यूहचक्र’ आदि जस्ता प्रखर प्रभावी उपन्यासहरू पनि प्रकाशमा आए । तथापि अहिले-कालमा लेखिइरहेका ओैसत कथा-उपन्यासहरू नेपाली समाजकाे माैलिक पहिचान-प्रदायी बनाइँदा  पाठककाे रूची सम्वर्ध्दन हुन नसक्ने सामाजिक परिवेशकृत मनाेवैज्ञानिक त्रास  बढ्दै गएकाले हाेला, ओैसत कृतिहरूमा  पराया भाषिक साहित्यका शैलीकाे बाटामा अनुसरणरूपी वैशाखी टेकेर  हिँड्नेहरूकै बाहुल्य पाइन्छन् । अतः यी सबै कुराहरूका भीडभाबाट ‘याङरूप’ उपन्यास बिल्कुलै अछुताे  छ । यस उपन्यासले अघिल्लाे शताब्दीकाे उत्तरार्द्ध र याे शताब्दीकाे पूर्वार्द्धकाे पहाडी गाउँ  याङरूपकाे सामाजिक जीवनका रहनसहन , बाेली-व्यवहार र जीवन-दैनिकीलाई इमानदारीसाथ चित्रवत् उजागर गरेकाे छ। यही नै यस यसकाे प्रशंस्य पक्ष र सर्वाेपरि सफलता ठाने पनि फरक पर्दैन ।

   यस उपन्यासकाे प्रारम्भदेखिका कथा-प्रकरी र कथालिकाहरू प्रायः सबै नै पूर्वदीप्ति (flash-back)-कै छन् र उपन्यास अगाडि बढ्दै जाँदा ओगटेकाे एक-तृतीयांशमा वर्णित प्रेम-प्रीतिका पीठिकाका सहायतामा  अग्रदीप्ति (flash-forward )-तिर धकेल्न खाेजिएकाे छ । यद्यपि, गाउँले कथ्यले,  पात्र-पात्रा जति नै आधुनिकता(modernity)-मा निखनिन खाेजे पनि,  परिवेश डग्माएकाे छैन । परिवेश (environment) -ले  सर्लक्कै  जाेगाएर ज्यूँकात्यूँ रहन बाध्य गराएकाे छ । ‘समय समातिराख्न सकिन्न न त क्षितिज खुम्च्याउनै सकिन्छ’ भन्ने ‘अन द टिचिङ अफ् राइटिङ्ग’-मा प्रखर फ्रेन्च विद्वान आर्किवाल्ड मेक्सीयसले लेखेका छन् , जसले आधुनिकताले मात्र सिर्जनालाई पाठकका लागि आकर्षकरूपमा  सिँगार्न सकिन्छ भन्ने काैढे  विश्वासमा बगिरहेका  विश्वकै कलमी समाजलाई झस्काएकाे थियाे । तर, व्यक्ति विशेष पनि  ‘समाज’-मै हुर्की बढेकाे हुन्छ र उसकाे मनस्थितिमा परिवर्तन ल्याउने पनि समाज नै हुन्छ । त्यसैले साहित्य, जाे व्यक्तिकाे हाेस् वा व्यक्ति- समूहकाे हाेस् , प्रतिबिम्ब र प्रतिध्वनि हाे भने लेखक त्यसकाे अनुभवकाे पुञ्ज । फेरि पनि साहित्य र समाज एकार्काका सम्पूरक त हुँदै हुन् नै । ‘याङरूप’ उपन्यासले यही यथार्थकाे धरातल टेकेर आफूलाई बलियाेगरी उभ्याएकाे छ । अब कसैले याे उपन्यासकाे समग्रतालाई अनाैपन्यासिक (non-fictional ) पनि ठहर गर्लान्  र जाँ पल सात्रकाे ‘लेस माेट्टाे’, कामूकाे ‘द रिबेल’ , विलियम समरसेट मामकाे ‘ द समिङ्ग अप’, जैनेन्द्रकाे ‘समय ओैर हम’-हरू इत्यादिलाई उपस्थित राखेर साे आराेप सिद्ध गर्ने वकालत पनि गरुन्,  मेराे हेराइमा म अटल छु ।
अतः प्रसिद्ध अंगेजी साहित्यरत्न ल्यूबक आफ्नाे ‘क्र्याफ्ट अफ फिक्सन’-मा लेख्छन -“दृश्यमा पनि फाेटाेग्राफी इमानदारीकाे अतिरिक्त मानवीय विवेकउपर प्रभाव पार्ने गति हुनुपर्दछ ।” यसाे हुँदा नै शाब्दिकभन्दा चित्रात्मक र स्थावरभन्दा गतिमूलक उपन्यासले ग्राह्यता सहजै प्राप्त गर्दछ । लेखक ज्ञानु बुढाथाेकीकाे प्रस्तुत उपन्यास ‘याङरूप’ यसमा पनि अगाडि नै छ भन्ने मेराे बुझाइ छ ।

यस उपन्यासमा रूढिगत, जातिगत, धर्मगत अन्धविश्वास र अप्राकृतिक तत्वहरूद्वारा ग्रस्त समाज र त्यसकाे कुनै कालखण्डलाई नाङ्गाे उतारेकाे र कथाेपकथनमा बढी अक्षरहरूलाई दाइएकाे छ ।….छाेराे (पात्र ‘याम’ ) कुनै हेपिएका वा परम्परादेखि अस्पृश्य भनेर दलनमा राखिएका जात-जाति समेतले बनेकाे  समाजकाे व्याख्या  गर्दै अन्धपरम्पराले ‘अछुत’ मानिएकाहरूकाे  उत्थान र समताभाव लक्षित समाजकाे पक्षमा अत्यन्तै दमदार र  चित्तबुझ्दाे प्रगतिशील भाषण गरी डाेकाेभरि प्रशंसा बटुलेर  घर फर्कन्छ, तर घरमा पुग्दैगर्दा ढाेकामा उमाथि ‘सुन-पानी’ छिटिन्छ र मात्र भित्र प्रवेश गर्न दिइन्छ ।…. त्यसाे भए ‘समाजकाे संस्कारमा सम्पृक्त दुराग्रह’ र ‘समय-सापेक्ष प्रगति’-काे दूरी  मेटिने लक्षण खाेइ त ? त्याे भाषणकाे अन्तर्यलाई प्रभावहीन बनाउने सामाजिक तत्व त घरैमा रहेछन् नि ? तर, त्याे पुरानाे विचार र मूढाग्रही सामाजिक साेच-अवधारणा विरुद्धकाे नयाँ अभियान प्रकरण हाे, जाे समाजका लागि सहज र सरल  ग्रह्य छैन ।  सामाजिक जीवन-दर्शनलाई एकैपटक अवराेपण गर्न त कहीँ पनि कहिल्यै सम्भव हुँदैन नै ।

  यस उपन्यासमा युवा पात्रहरू क्रमशः शिक्षित हुँदै गएका छन् र उनीहरू  साथ-संगत, बद्लिँदाे समयकाे मनाेवैज्ञानिक प्रभाव तथा शहरिया डर्रासँग घुलमेलबाट प्रादुर्भूत र संक्रमित चलखेलकाे प्रभाव आदिका कारण पनि भाषा-शब्दमा ‘आधुनिक’ बन्दै गएका आभास दिन थालेका देखिन्छन्  । तर, गाउँमै रहेकाहरू र अघिल्ला पुस्ताकाहरूले नेपाली जातीय बाेलचालकाे ‘कथ्य’ छाेडेका छैनन, जुन यस पुस्तककाे अति सुन्दर पक्ष हाे । सदस्यलाई सदसे र सदस्यकी पत्नीलाई सदसेनी, मान्छेकाे स्वरूपमा भूत-प्रेतकाे झझल्काे भएर संत्रस्त हुनुलाई  भर्मन हुनु, बेइज्जतीलाई बिजाेती, ग्रहशान्तिलाई गरशान्ति, पुवालाई प्वा, ‘पनि’ लाई पुनि वा पिनि, आजदेखिलाई आद्देखि, ठूलाेबाबुलाई ठूलाउ, कान्छाबाबु-कान्छीआमा (काका-काकी)-लाई कान्छाउ-कान्छ्यामा, काइँलाबाबुलाई काइँलाउ, हजुरआमा वा आमैलाई आमाेई, महिनादिनलाई मुइनादिन । त्यस्तै, ताप्केलाई दिउरे, घरधन्धालाई घरधन्ना, निर्णयलाई निर्लये, ‘हामीहरूलाई’ हामेर्लाई, ओजनमा धार्नी- बिसाैली-बाेडी । त्यस्तै बेजेत,लाेदर, लिही, बारैकाल, ओडा, ञाँ, टुकुराे (टुक्राे ?), हत्याैरी, हतासाे, बाउसे, बट्न्यौटाे, कप्टेरा, मित, मितिनी, पुत्नेछाेरी, पाेत्राे, पटुका, बेबार (व्यवहार ?), वाँदेखि, भेस (भेस्ट ?), हुल्दुङ्गा, सरसयाेग, प्यान (पेन्ट), पर्सात (प्रसाद ?) आदि अनेक पुरानाे पहाडे नेपाली परिचायक ‘कथ्य शब्द’-हरू यस उपन्यासमा समाविष्ट छन् । अतः कुनै पनि जातिमा निहित  माैलिकता भाषाबाट प्रष्टिन्छ । बंगलाभाषीहरू ‘अमेरिका’-लाई ‘मार्किन’ , ‘सर’ र ‘बस’-काे उच्चारणमा ‘सार’ र ‘बास’ भन्छन् । बिहारीहरूले लेखाइमा ‘सदस्य, अध्यक्ष, स्थान, स्थानीय, कर्मचारी, पाेखरी आदि शब्दलाई ठिकै लेख्छन् तर बाेल्दा  क्रमशः सदस्स, अदक्छ, अस्थान, अस्थानीए, करमचारी, पाेख्री र अरू पनि कैयन शब्द यसरी नै उच्चारण गर्छन् । यी सबै जातीय परम्पराका प्रतिकाे निष्ठा मानिन्छ, आलाेच्य ठहर्दैन । नेपाली  शब्दाेच्चारण, याङरूप उपन्यासमा यसरी नै ताप्लेजुङ जिल्लाकाे याङरूप गाउँका वासिन्दाकाे मौलिकता-परिचायक रहेकाे छ वा मानिनु पर्दछ र यसले याङरूपवासीकाे चित्रमा सहाेदर रंगकाे श्रृङ्गार भरिदिएकाे मान्नु पर्दछ ।

याङरूप उपन्यासमा पात्र-पात्राकाे ठूलाे भीड छ र साना- साना घटनाहरू पनि महत्व पाएर उपस्थित छन् । कुन घटनालाई मुख्य मान्नुपर्ने भन्ने अन्याेलले भ्रमित तुल्याउँछ । तर, ३११ पृष्ठकाे याे पुस्तककाे एक-तृतीयांशमा याम, अमर, उर्वशी, श्री, चाेलुङ, भुवानी, प्रभारानीहरूकाे चलखेल छ । ती कहिले काेसँग र कहिले काेसँगकाे प्रेममा लहसिएका देखाइएकाे छ । कतै-कतै त ‘प्रेम-त्रिकाेण’ (love triangle )-मा पनि जाेल्ठिन पुगेकाे आभास हुन्छ – ‘अनुराधा’ बिर्साउने किसिमबाट ।  सिगमण्ड फ्राइडकाे ‘याैन मनाेविज्ञान’ र इटालियन एम युङकाे ‘प्रगतिशील मनाेविज्ञान’ अज्ञातै राम्रैसित खेलिएकाे छ पात्र-पात्रामा । तर, प्रस्तुतिलाई कतै-कतै अनावश्यक लम्बाचाैडा (descriptive) बनाइएकाे छ र पाठकले पनि अल्मलिनुपर्ने अवस्था छ । ती युवा पात्र-पात्रा राजनीतिकाे प्रगतिशील धारमा हिँडिरहेका बताउन खाेजिए पनि तिनकाे पारिवारिक विपन्नताका बावजुत जीवन-शैली र गतिविधिमा आदिले प्रगतिशीलतालाई मनग्गे मूर्त्याएकाे छैन । अर्थात् , ती भावनामा इमानदार भए पनि तिनका व्यवहार साे अनुकूल बुझ्न पाउने आधार छैन ।

  उपन्यासकाे अन्तिम अध्याय ( ‘आभार…’) हटाएर र पात्रहरूकाे उपचारक्रमका जाँच र ओैषधाेपचारका विवरणात्मक र व्याख्यात्मक (medical terminologyहरू समेत ) लिखत छाेट्याएर लेखन-उपस्थापना एवम् कलम हिँडेकाे बाटाेकाे मूल्यांकन गर्ने हाे भने ‘याङरूप’ (उपन्यास)-ले ओैपन्यासिक बजारमा एउटा नयाँ-खासा सम्बल दिएकाे मान्नै पर्दछ – अन्यथा अन्याय हुनेछ भनी , म एउटा साहित्य बुझेर पढ्ने पढन्ते पाठक, सही-छाप गर्दछु।

   लेखक ज्ञानु बुढाथाेकी क्यान्सर राेगले आक्रान्त व्यक्ति । उहाँले याे ‘जीवन’-कै अति सन्दिग्ध र  संकटाकीर्ण विषयलाई यसै पुस्तककाे प्रस्तुति-मन्तव्यमा स्वयम् लेख्नु भएकै छ । त्याे पनि ‘जीवन’-का प्रतिकाे संवेनान्दाेलित विषय हाे । कुन स्थिति र परिस्थितिमा याे पुस्तक लेख्न केले प्रणाेदित तुल्याएकाे वा करकाप गरेकाे रहेछ त भन्ने जान्न ‘याे उपन्यास किन लेखें ?’ शीर्षकरूपी भूमिका  साक्षी छँदैछ ।

उपन्यासलाई पढेर मैले जे बुझें त्याे लेखें । इण्डियाका सुप्रसिद्ध लेखक श्रीलाल शुक्लाले, नाेवेल पुरस्कारका लागि याेग्य भनी भारतीय साहित्य एकाडेमीले सिफारिश गर्नयाेग्य, उसन्यास केवल आधा किलाेमिटर क्षेत्रभित्रकाे समाजमाथि लेखेका ‘राग दरवारी’ हाे । आजभन्दा १५/१६ वर्ष अघि त्याे पढेपछि मैले पनि झापाकाे बैगुनधुरा गाउँलाई नित्य केन्द्र बनाएर सँधियार गाउँहरूलाई आठाेपाँजाे छुँदै मेराे छैठाैं उपन्यास ‘क्रान्तिकाे पहिलाे चरण’ लेखें । अहिले लेखक समाजका सर्वथा नयाँ सदस्य ज्ञानु बुढाथाेकीले त झन् अति दुर्गम, अविकसित र अत्यन्तै विपन्न पहाडी गाउँ याङरूपलाई केन्द्र बनाएर त्याे  गाउँकाे, एक अर्थमा, शल्यक्रिया नै गर्नु भएकाे छ । याे उहाँकाे जीवनकाे पहिलाे प्रयासले धुरी छाेएकाे मानिनु पर्दछ । र, यसका निम्ति म उहाँलाई आभ्यन्तरिक निश्शेष बधाई दिन्छु । बस् ।         २२ साउन, २०८२]     **************     [ प्राज्ञ टाेल, भद्रपुर (झापा)