राजनीतिसमाचारस्थानीय

बिहारदेखि तिब्बत जोड्ने पहिलो सडक मेची राजमार्ग

सन्दर्भ समचारदाता
भद्रपुर । दक्षिणमा भारतको बिहारबाट उत्तरमा चीनको तिब्तसम्म जोड्ने राष्ट्रिय राजमार्गको मापदण्ड अनुकुल निर्माण थालिएको मेची राजमार्ग शिलान्यासको पाँच दशक पार गर्दा समेत पूर्ण हुन सकेको छैन ।

कोशी प्रदेशको पूर्वी खण्डको उत्तर—दक्षिण जोडने पहिलो राजमार्ग मेची लोकमार्ग हो । यस मार्गलाई झापाको केचनादेखि ताप्लेजुङको ओलाङ्गचुङगोलासम्म राष्ट्रिय सडक बनाउन पहल सुरू गर्ने पहिलो व्यक्तिको रूपमा पञ्चायतका प्रशासक छिरिङतेन्जीङ लामाको नाम भेटिन्छ ।

लामाले पहिलो पटक २०३१ सालमा अञ्चालाधीश भएको बेला मेची राजमार्ग अन्तर्गत चाराआली–केचना सडक निर्माणमा चासो देखाउदै शिलान्यास गरेका थिए । तर, अञ्चालाधीश लामाले सडकको शिलान्यस गरे पनि शिलान्यासले झापा खण्डको निर्माण कार्यलाई गति दिन भने नसकेको इतिहासले देखाउँछ ।

अञ्चालाधीश लामाले सडक बनाउन चासो देखाएपछि भद्रपुरका केही पञ्चायतका प्रभावशाली नेताहरूले निर्माण स्थल बारे बहस र विवाद सुरू गरेको समेत अध्ययनबाट देखिन्छ । सडक ल्याउँदा भद्रपुरबाट नभएर महेशपुरबाट ल्याउनु पर्ने एक समूहको अडान थियो भने अर्को समूहले भद्रपुरको मुख्य बजार क्षेत्रबाटै सडक जोडनुपर्ने भन्दै अडान राखेकाका कारण सो समयमा यो सडक बन्ने काम नै रोकिएको अग्रजहरूको भनाइ छ । नेताहरूको अडान र राजनीतिक खिचातानिका कारण चाराआली केचना सडक निर्माण सुरू भएकै बेलाबाट अवरोधले गर्दा अधुरै रहेको समेत त्यस समयको जानकारी राख्ने अग्रज पत्रकार गोविन्दचन्द छेत्रीको भनाइ छ ।

देशमा बहुदल आएपछि स्थानीय नागरिकले सडक निर्माणको मागलाई जोडतोडका साथ उठाउन थालेपछि नेपाल सरकारले पुनः सडक बनाउने चासो देखाएको समेत छेत्रीको स्मरण छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमण गएको बेला नेपाल सरकारको तर्फबाट भारतसंगको सम्झौतामा हुलाकी सडक र लिङ्क रोडका रूपमा रहेको चारआली केचना सडक निर्माण गर्ने गरी सम्झौता गरेपछि यो सडक निर्माणले सरकारी स्तरमा पहिचान पाएको समेत देखिन्छ ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपाल र भारत सरकार बिच सो सडक निर्माण गर्नका लागि पुनः पटकपटक लिखित सम्झौता समेत भएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भटटराईको पालामा भारतले सम्पूर्ण लगानीमा चाराआली–केचना सडक निर्माण गर्न सहमती गरेको थियो । भारत सरकारले सन् २०११ डिसेम्बरमा यो सडक निर्माण प्रस्ताव माग गर्दै बोलपत्र खोलेर स्वीकृत समेत गरेको थियो ।

३० महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी भारतीय कम्पनी राईट्स अफ लिमिटेडले ठेक्का समेत लियो । ठेक्का पाएको भारतीय कम्पनीको इन्जिनियरसहितको निर्माण टोली झापा आएपछि सडक बन्नेमा स्थानीय नागरिकमा पुनः आश पलाएको थियो । सो कम्पनीले काम थाल्दा यो सडक दोस्रो पटक २०६८ सालमा झापा चोकमा शिलान्यस गरेर निर्माण कार्य सुरु भएको थियो । झापाचोक र केचनाबाट निर्माण कार्य सुरु गरेको भारतीय कम्पनीका प्रतिनिधिलाई स्थानीय तथा टोले गुण्डाहरूले लाखौं चन्दा रकम तथा दर्जनौं पल्सर मोटरसाइकल माग गरेपछि निर्माण कार्यमा असहज महसुस गरेर एक वर्षपछि निर्माण कार्य अधुरै छाडेर ठेकेदारको टोली भारततिरै फकिएपछि सडक निर्माण रोकिएको थियो ।

सो कम्पनीले भन्सार छुटमा ल्याएको उपकरण तथा सवारीसाधन नेपालमै छाडेर फर्किएको थियो । ज्ञानेचोकमा रहेको भन्सार छुटका निर्माण उपकरण र सवारीसाधान कँहा गए ? स्थानीय स्वयम नै जानकार नभएको पाइएको छ । भारत फर्किएपछि सो कम्पनीले नेपालमा सडक निर्माण नगर्ने भन्दै भारत सरकारसंग गरेको सम्झौता तोडिदियो । झण्डै पाँच वर्ष सडक निर्माण कार्य अलपत्र परेपछि केपी ओलीको नेतृत्वको सरकारले भारतसितको सडक निर्माणको सम्झौता खारेज गर्दै सो सडकका लागि भारतले दिने भनिएको अनुदान रकमलाई नेपाल सरकारले स्वीकार्दै मेची राजमार्ग र हुलाकी सडक नेपालकै प्रत्यक्ष निगरानी र लगानीमा बनाउने निर्णय गरी काम थालेपछि करिब ६ वर्षमा चारआली केचना सडक बन्न पुगेको हो ।

 

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले पछिल्लो पटक सडक निर्माणका लागि ठेक्का लगाएको थियो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठेक्का लागेको सडकको भद्रपुरस्थित झापाचोकमा आएर एक भव्य समारोहका बिच २०७३ असोज १७ गते शिलान्यास गरेका थिए । लेखकले गरेको शिलान्यस यस सडक निर्माणका लागि तेस्रो पटक भएको थियो । सो शिलान्यास कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, नेपाली काग्रेसका नेता तथा यस क्षेत्रका सांसद कृष्णप्रसाद सिटौला, एमाले सांसद जितु गौतम लगायत राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको उपस्थिति रहेको थियो । ३० महिना भित्र सडक बन्ने दावीका साथ निर्माण थालिएको सडक केचनादेखि चारआलीसम्म निर्माण सम्पन्न हुन ६ वर्ष कुर्नु परेको थियो ।

एक चरण सडक त बन्यो तर राष्ट्रिय राजमार्गको मापदण्ड अनुकुल निर्माण नहुँदा मेची राजमार्गको चारआली केचना सडक स्थानीय सरकारका भित्री सडकभन्दा साँघुरो र कमशल निर्माण सामग्री प्रयोग भएको स्वरूपमा बन्दा सडक खाल्डाखुलडीमा रूपान्तरण हुन थालिसकेको छ । चीनसित सिमाना जोडिएको ओलाङ्गचुङगोलासम्म जोडिने मेची राजमार्गको ५१ वर्षे निर्माण थालनीको समय व्यतित हुँदा समेत राष्ट्रिय राजमार्गको मापदण्ड अनुकुल निर्माण सम्पन्न हुन सकेको छैन ।

सडकको चौडाइ झापा खण्डको चारआली उत्तर राष्ट्रिय राजमार्गको मापदण्ड अनुकुल बढाउन थालिए पनि दक्षिण केचनासम्म राजमार्गको मापदण्ड अनुकुल हुन सकेको छैन । झापाको केचनादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङसम्म कालोपत्रे भइसकेको यस सडकले ओलाङ्गचुङगोलासम्म निर्माण सम्पन्न हुन अझै समय लाग्ने देखिन्छ ।