महेन्द्र राजमार्ग एसिन राजमार्गका रूपमा स्तरोन्नति हुँदै

 

भद्रपुर । एसिन हाइवेका रूपमा भारतसित जोडिएको पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्ड विस्तार तीव्र गतिमा अगाडि बढ्ने भएको छ ।

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्ग अन्र्तगत स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको हो ।

स्तरोन्नति हुँदा काँकरभिट्टा–लौकही सडकखण्ड भित्र सहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुने सडक विभागको भनाइ छ । यस्तै ग्रामीण बजार क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने जनाइएको छ ।

यो आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी साझेदारीमा काम सम्पन्न हुनेछ । काँकरभिट्टा–लौकही सडक खण्डको लम्बाई एक सय २० किलोमिटरमध्ये ९५ दशमलव ७६ किलोमिटरमा विभिन्न प्याकेजमा ठेक्का लागेको छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टादेखि केर्खा—सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खादेखि इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको सडक निर्माण आयोजनाले जनाएको छ ।

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक १० अर्ब ६ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरेर गत माघ १९ गतेदेखि काम गरिरहेको छ । निर्माण कम्पनीका प्राविधिक कर्मचारीका अनुसार काम सुरु भएदेखि हालसम्मको भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत रहेको छ ।

यस सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सम्पन्न भएको छ भने दुई हजार एक सय रूख डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
यस्तै विद्युत् प्राधिकरणबाट यस क्षेत्रमा पर्ने दुई हजार दुई सय खम्बामध्ये चार सय खम्बा सारिसकेको र अन्य सार्ने क्रममा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् ।

यस सडक खण्डमा पर्ने एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । पूर्वी खण्डअन्तर्गत चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने जनाइएको छ । चारअली जङ्गल क्षेत्रमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ वे बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् । तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि रु पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो ।

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर रहेको छ । उक्त ठेक्का नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता भएको छ । रुख कटान, माटो फिलिङलगायत काम भइरहेको उक्त सडकखण्डको हालसम्ममा सात दशमलव पाँच प्रतिशत भौतिक प्रगति रहेको छ ।

यस्तै प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर रहेको छ । उक्त प्याकेजको ठेक्का सम्झौता चार अर्ब सात करोड ३५ लाखमा गरिएको छ । प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । जुन सम्बन्धित प्याकेजको ठेक्का पाउनेले नै निर्माण गर्नेछन् । हालसम्म सडक सीमाक्षेत्रभित्रका दुवै प्याकेजका छ हजार छ सय २९ रुख काट्ने काम सम्पन्न भएको वन डिभिजनको तथ्याङ्कले देखाउँछ । यसैगरी यस खण्डमा तीन सय मिटरभन्दा लामा रतुवा, बक्रा र लोहन्द्रा पुल निर्माणका लागि पाँच अर्ब ६५ करोड २६ लाखमा सम्झौता गरिएको थियो ।

काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका सवै प्याकेजका योजनाको निर्माण सम्पन्न अवधि तीन वर्ष रहेको छ । बर्खाको समयमा निर्माण रोकिए हिउद सुरू भएसंगै राजमार्ग स्तरोन्नतिको कामले गति लिन थालेको छ ।

एशियन राजमार्गका रूपमा महेन्द्र राजमार्ग स्तर उन्नति हुने भएपछि यस राजमार्ग आसपास क्षेत्रका स्थानीय तथा व्यावसायीमा उत्साह थपिन पुगेको छ भने भारतलगायत तेस्रो देशका पर्यटक स्थल मार्गबाट प्रवेश गरे व्यापार व्यवसाय बढ्ने विश्वास पालिएको छ ।