शिक्षकमाथि शोषण गर्ने प्याब्सन अध्यक्षले माफी नमागे इस्टु प्रतिवादमा उत्रने
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ं झापाले प्याब्सन एन प्याब्सनको आडमा शिक्षक कर्मचारीप्रति बढ्दै गएको शोषण र दुव्र्यवहार नरोके उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन चुनौति दिएको छ ।
विगतमा भएका सहमती विपरित प्याब्सन, एन प्याब्सन नेतृत्वमै रहेकाहरूले शिक्षक कर्मचारीलाई दिनु पर्ने तलव नदिएर कार्यस्थलमै गइ धम्क्याउने प्रवृत्ति अविलम्ब नसच्याए संस्थागत विद्यालय शिक्षक युनियन कडा प्रतिवादमा उत्रदा उत्पन्न हुने परिस्थितिको सामना गर्न चुनौति दिइएको हो ।
जिल्ला अध्यक्ष होमराज खतिवडाले भद्रपुर प्याब्सनका अध्यक्षले सञ्चालन गरिरहेको विद्यालयमा कार्यरत शिक्षिकालाई सहमती अनुसार दिनु पर्ने आठ महिनाको तलव विवाद श्रम तथा रोजगार कार्यालयमा विचाराधिन रहेकै अवस्थामा पूर्व सचिवलाई प्रयोग गरी हाल कार्यरत विद्यालय सञ्चालकलाई धम्क्याउने प्रयास भएको प्रति खेद प्रकट गरेका छन् ।
अध्यक्ष खतिवडाले श्रम कार्यालयमा तलव विवाद बारे २८ जेठमा हुने भनिएको छलफल विरामी भएको बाहनाले सार्न लगाएर भद्रपुर प्याब्सन अध्यक्षले शैक्षिक वर्ष २०८० को पारिश्रमिक दिनु पर्ने शिक्षिकालाई उल्टै धम्क्याउन मान्छे लगाउने काम गरेकाले तत्काल माफी मागेर पारिश्रमिक भुक्तानीको वातावरण निर्माण नगरे शसक्त प्रतिकार गर्ने बताएका छन् ।
प्याब्सन भद्रपुर अध्यक्षले सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत नदिइ काममा लगाइएकी शिक्षिकाले सहमती अनुसारको तलव माग्दा तलव भुक्तानी गर्न अस्वीकार गरेपछि २०८१ बैशाख १३ गतेबाट सो विद्यालय छोडेर अर्को विद्यालयमा काम गर्न थालेकी थिइन् । २०८० अशोजदेखि २०८१ बैशाख १३ गतेसम्म काम गरेको पारिश्रमिक पाउनु पर्ने माग दावी गर्दै श्रम तथा रोजगार कार्यालयमा पुगेकी ती शिक्षिकालाई पारिश्रमिक नदिन प्याब्सनका केही नेता खुलेरै लागिपरिरहेका छन् । उनीहरूकै योजनामा पछिल्लो छलफल बहना बनाएर सारिएको छ भने उनी कार्यरत विद्यालयका स्ंस्थापक प्रिन्सिपललाई शिक्षिका निकाल्न दवाव दिँदै श्रमको विवाद नमिलाए राम्रो नहुने धम्की दिन थालेको पीडितको गुनासो छ ।