नेपालको विकासका लागि सोच्नु पर्छ
दशकौंदेखि उठिरहेको एउटा प्रश्न—नेपालको विकास किन हुन सकेन ? यस प्रश्नको उत्तर दिने ठाउमा रहेकाहरूले प्रश्नकर्ताको चित्त बुझाउने गरी उत्तर दिन नसकेकै कारण देश छोडेर विदेश पलायन हुनेको लर्को बढिरहेको छ । उत्तर दिनेले कहिलै राष्ट्रको जीवनमा आरोह–अवरोहका सानातिना घटना भई नै रहन्छन् भनेर भन्न पनि सकेनन् । यस्ता आरोह—अवरोहले शासन सञ्चालन प्रणालीमा जीवमा बेलाबखत रुघाखोकी–झाडापखालाको समस्या भइरहने जस्तै, स्वाभाविक मानिन्छ भन्ने आधार पनि दिन सकेनन् । भूगोलले नै इतिहासिककालदेखि असहज विकास स्वीकार्दै आएको विषय हो पनि भन्न नसक्ने । कहिले शासक र शासितबीचको द्वन्द्वका कारण, कहिले मानवसिर्जित विद्रोह र आतंकका कारण, कहिले प्राकृतिक प्रकोपका कारण त कहिले बाहिरी शक्तिशालीका छुद््रयाइँका कारण नेपाल राष्ट्रका जीवनमा विकासको गति सुस्त बनेर समस्या सिर्जित छन् । यस समयक्रममा, इतिहासको आदिदेखि नै स्वतन्त्र र पवित्र रहिआएको राष्ट्रिय स्वाभिमानी नेपालीको देश—नेपाल, सुख सुविधाको नाममा परदेशीको दासी मानसिकता भएका नागरिक जन्माउने भूमिका रूपमा अछुतो रहन सकेको छैन । यो, भूपरिवेष्टित देशको सवाल राष्ट्रको निम्ति ठूलै दुर्भाग्यको दूरगामी असरदार विषय बन्दै गइरहेको छ । छिमेकी देश भारत र चीनको चेपुवामा नेपाल पर्नुको प्रमुख कारण समुन्द्रभन्दा टाढा रहनु नै हो । विकास र उन्नतिको चुनौति यहीँ लुकेको छ । शासकले चुनौतिको सामना गर्नेभन्दा विदेशीको दासता स्वीकार गरेकै कारण नेपाल विकासको गतिमा जान सकेन ।
नेपालको भौगोलिक अवस्था धेरै जटिल र कठिन छ । देशको कुल भूभागको करिब १५ प्रतिशत हिमाली क्षेत्र, ६८ प्रतिशत पहाडी क्षेत्र १७ प्रतिशत तराई क्षेत्रका रूपमा देखिन्छ । वन मन्त्रालयको विवरण अनुसार ३९ प्रतिशत वन क्षेत्र छ । कृषि विभागको अभिलेखमा करिब ३० प्रतिशत खेती योग्य कृषिभूमि छ । हाम्रो भौगोलिक अवस्था र छरिएर रहेका बस्तीका कारण शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटोघाटो जस्ता आधारभूत पूर्वाधार पु¥याउन निकै कठिन छ । एकीकृत बस्तीको अवधारणा लिएर सरकार अगाडि आउने हो भने यो काम निकै सहज हुने थियो । विकास हुनु भनेको देश चौतर्फी बलियो हुँदै र आत्मनिर्भर हुँदै जानु हो । सार्वभौम जनताको निर्णय क्षमता र शक्ति बढ्नु पनि हो। शिक्षा, स्वास्थ्य, मानव अधिकार, सुशासन, सामाजिक चेतना, जलवायु परिवर्तन आदि नाममा गरिबी र अभावको फाइदा उठाएर देशभित्र विद्रोह मच्चाउन आउनेहरू कमजोर हुँदै जानु पनि हो । शासक सही गतिमा हिडे भूराजनीतिक दाउपेचका खेलाडीहरू कमजोर हुन्छन्, देश बलियो हुन्छ र आफ्नै श्रोत साधनबाट विकासको गति लिन सकिन्छ ।
नेपालमा असल शासक नभएका पछिल्ला केही नमुना घटना हेरौं—भुटानी शरणार्थी घोटाला, सुन तस्करी काण्ड, गिरीबन्धु जग्गा घोटाला, माओवादी क्यान्टोनमेन्ट घोटाला, सहकारीको बचत हिनामिनाका जस्ता केही घटनाले मात्र पनि राजनीतिज्ञहरू नै भ्रष्टाचारमा संलग्न भएको उदाहरण देखाइरहेको छ । कमिसनले राजनीतिका प्रमुख खेलाडीहरू देश र जनताको पक्षमा जान सकेनन् त्यही कारण देशले विकासको गति लिन सकेन भनिरहेको अवस्था छ । असल शासनका लागि असल मान्छे चाहिन्छ । शासन व्यवस्था जति राम्रो भए पनि शासक वा नेता खराब भएपछि जनताले दुख पाउंछन् । शासन व्यवस्था राम्रो नभए पनि नेता वा नेतृत्व असल छ भने समाज र देश राम्रो बन्न सक्छ । विकासले तीव्र गति पाउँछ अनि नागरिकले सोचे जस्तै देशको अनुभूति पाउँछन् ।
महान् नेता नेलसन मन्डेला जसबाट त्याग र निष्ठाको राजनीति सिक्न सकिन्छ भने विकास र समृद्धिका धरोहर ली क्वान यू, महाथिर मोहम्मद र देङ स्याओपिङ विकसित सिंगापुर, मलेसिया र चीनका सूत्रधार हुन् । उनीहरूबाट राष्ट्र निर्माणका असल गुणहरू सिक्न नेपाली नेताले सकेनन् । विगतमा विकास र आर्थिक उन्नतिमा नेपालभन्दा निकै पछाडि छोडिएका विश्वका कयौं देश आज नेपालभन्दा निकै अगाडि बढेर समृद्ध र विकसित भइसकेका छन् । अव पनि राजनीतिक नेतृत्वले नसच्ने हो भने नेपाल बनाउन अर्कै युगले सपूत जन्माउला भनेर कुर्नुको बिकल्प छैन ।