मानिस र हात्तीको द्वन्द्व रोकिनु पर्छ
भद्रपुर । गएको आर्थिक वर्षमा झापा जिल्लामा मानव हात्ती द्वन्द्वका क्रममा पाँच जना मान्छे र २ वटा हात्तीले ज्यान गुमाए । हात्तीको प्रत्यक्ष आक्रमणमा परेर ५ जना व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसकै कारणबाट दुई वटा हात्ती मारिएका थिए ।
हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक बढी रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । दैनिक मजदुरी गरी खाने मानिसहरूलाई नै हात्तीले निशानामा पार्ने गरेको समेत देखिन्छ । हात्ती आक्रमणमा पर्नेहरू चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै गर्दा र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणले देखाउछ ।
हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मार्ने गरेको घटना मुचुलका विवरणले देखाउँछ । विगतमा भारतबाट दैनिक हुल बाँधेर आउने हात्तीमध्ये १३ यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मार्ने गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबारमा परेर हात्तीको ज्यान जाने गरेको पाइन्छ ।
झापामा मानव हात्ती द्वन्द्वका क्रममा मानिस र हात्ती मारिने क्रम रोकिन सकेको छैन । यकिन कागजी विवरणले सवै खुलाउन नसके पनि झापामा वि सं २०४१ सालबाट हात्ती र मान्छे बीच प्रत्यक्ष द्वन्द्व सुरू भएको स्थानीय स्तरका अग्रज व्यक्तित्वहरू बताउने गर्दछन् । २०७७ कात्तिकयता झापामा मात्र ३ वटा जंगली हात्ती मृत फेला परिसकेका छन् । यी हात्ती काल गतिले नभएर कुनै न कुनै रूपमा मानवसितकै द्वन्द्वका कारण ज्यान गुमाएका हुन् । पहिलो हात्ती २०७७ कार्तिकमा झापा बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वन क्षेत्रभित्र मृत अवस्थामा भेटिएको थियो । शरीर पछाडि भालाजस्तो धारिलो हतियार प्रहार भएको देखिने उक्त मृत हात्ती स्थानीयको पटकपटकको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालय झापाले अनुमान गरेको थियो । तर वन कार्यालयले हात्तीमाथि आक्रमणबारे खोजी नै गरेन । अघिल्लो शुक्रवार बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा अर्को एउटा हात्ती मृत भेटिएको थियो । यसै गरी गएको बुधवार विहान अर्जुनधारा–४ दहीझोडामा फेरि एउटा हात्ती मृत फेला परेको छ । संरक्षित सूचीमा रहेको जनावर हरेक वर्ष जस्तो मारिँदा पनि वन कार्यालय झापा गम्भीर हुन सकेको छैन । वि सं २०६२ देखि हालसम्म झापामा १५ वटा हात्ती मारिएको विवरण भने डिभिजन झापामा भेटिन्छ तर मरेका हात्तीको पोस्टमार्टम रिपोर्ट भने कार्यालयले सार्वजनिक गर्ने गरेको छैन ।
नेपालमा रहेको कानुनी व्यवस्था अनुसार, कुनै हात्ती कुनै कारणले मर्न गएमा सम्बन्धित क्षेत्रको वन अधिकृतले आवश्यक जाँच÷पड्ताल गरी वा गर्न लगाई मृतकको अन्त्येष्टि कर्म गर्न आदेश दिइनु पर्ने छ । तर, झापामा कुनै जाँच टोली नबनाइ मुचुल्का उठाएर खाल्डोमा गाड्ने चलन छ । वन कार्यालय झापाले अहिलेसम्म यसरी गम्भीर रूपले कुनै अनुसन्धान गरेको सचेत व्यक्ति कसैलाई थाहा छैन । वन कार्यालय झापाको वन्य जन्तु क्षति विवरण पुस्तिकामा हरिण, चित्तल, आदि वन्यजन्तु मारेको आरोपमा धेरैलाई मुद्दा चलाइएको देखिए पनि हात्ती मारेको आरोपमा कसैमाथि मुद्दा चलाइएको देखिँदैन । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐनका अनुसार हात्तीलगायत दुई दर्जनबढी जंगली जनावर संरक्षित सूचीमा छन् । त्यस्ता जनवार बस्ती आसपास मृत फेला परे हत्यामा मानिसको संलग्नता हुने आशंकामा अनुसन्धान गर्नु पर्ने हुन्छ तर झापामा हात्ती मृत्यु प्रकरणमा खोजतलास गरिने परम्परा नैं नपाइनु आश्चर्य जनक अवस्था मान्नु पर्ने हुन्छ । यी वन्य जन्तु गैरकानुनी रूपमा मारेमा ३ वर्षदेखि १० वर्ष र अझ बढी कैद र जरिवाना हुने प्रावधान छ । डिभिजन वन कार्यालय झापाका अनुसार विगत १५ वर्षयता झापामा १५ वटा हात्तीको मृत्यु भइ सकेकोे छ । वनको तथ्यांकलाई आधार मान्ने हो भने हरेक वर्ष सरदर एउटा हात्ती मारिने गर्छ । वर्षमा एउटा हात्ती मारिनु भनेको सामान्य कुरा होइन । झापामा प्रत्यक्ष रूपमा वि सं २०४१ सालदेखि मानव–हात्ती द्वन्द्व जारी छ । यही द्वन्द्वको चपेटामा हात्ती र मान्छे दुवै पक्षको ज्यान जाने गरेको छ । मान्छे र हात्ती दुवैको बर्सेनि मृत्यु भइरहेको भए पनि दुवै पक्षलाई कसरी जोगाउने भन्ने विषयमा सरकार समेत गम्भीर हुन सकेको छैन ।
उत्तरी झापामा पछिल्लो सात वर्षयता भने विद्युतीय घेराबेराले हात्ती आउने क्रम रोकिएको अनुभव गरिरहेका स्थानीयमा पछिल्लो केही समययता फेरि भारतबाट हात्तीको बथान आउने क्रम सुरु भइसकेको हो कि भन्ने त्रास बढेको छ । निर्वाचनका बेला चुनावी मसला बनाएर जीत निकाल्ने नेताहरूले झापामा मानव हात्ती द्वन्द्व घटाउन ठोस पहल समेत गर्न नसकेको परिणाम मानिस र हात्ती मारिने क्रम नरोकिएको हो । पृथ्वीको पर्यावरण सन्तुलनका लागि मानिस जति महत्वपूर्ण छ त्यतिनै हात्तीको पनि आवश्यकता छ । यो पृथ्वी सवैको साझा घर हो भन्ने भावना विकास नभएसम्म मानिसका कारण हात्तीले ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य हुने छैन । यसैले नियामकको भूमिका खेल्ने सरकारी मान्छेहरूले हात्ती मार्ने हत्याराको पनि खोजी गर्नु पर्द छ अनि मात्र पृथ्वीको ठूलो स्थल प्राणी हात्ती संरक्षित हुन्छ । नीतिगत रूपमा हात्ती र मानिस बचाउने गरी सरकारी पक्ष लाग्ने हो भने झापाको मानव हात्ती द्वन्द्व घटेर जाने थियो । खासगरी जंगल अतिक्रमण गर्ने मानवीय प्रवृत्ति पूर्ण रूपमा रोकेर जंगल भित्र हात्तीको आहारा वयवस्थापन हुने वातावरण बनाउने हो भने मानिस र हात्ती दुवै पक्षको जयान जाने थिएन ।