सहकारी बदनाम गर्ने गिरोहको पहिचान गर

भद्रपुर । सहकारी शब्दको अर्थ सहकार्य भन्ने हुन्छ । वि सं २०४६ सालको राजनीतिक परिवर्तनसित नेपालको अर्थतन्त्रमा उदारीकरणको प्रवेश भयो । सरकारले तीन खम्बे अर्थनीति अपनाउने रणनीति तय गर्दा सहकारी पनि अर्थतन्त्रको एउटा खम्बा बन्न गयो । यसैको परिणाम गाउँ गाउँसम्म सहकारी बिस्तारको वातावरण बनेको हो । तर, जसरी सहकारी बिस्तार तीव्र गतिमा बढेर गयो त्यसैगरी ठगहरूको प्रवेश पनि सहकारीकर्मीका रूपमा एकाएक बढेर जाँदा सहकारी शब्द नै बदनाम हुँदै गइरहेको छ । देशभर सहकारीका नाममा ठगिने हजारौं पीडित नेपालीहरू आफूले जम्मा गरेको रकम फिर्ता गराइदिन हारगुहार गरिरहेको अवस्थाले राज्य पनि निरिह छ कि भन्ने प्रश्न उब्जन थालेको छ । पछिल्लो पटक झापामा मात्र बचतकर्ताहरूको निक्षेप रकम फिर्ता नगर्ने पाँचवटा सहकारी संस्थामाथि औपचारिक रूपमै उजुरी परेको छ । बचतकर्ताहरुको करोडौं रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि पीडित बचतकर्ताबाट उजुरी परेको हो । यी सहकारी बाहेक झापाको सदरमुकाम भद्रपुरमै रहेर करोड बढी बचत रकम फिर्ता गर्न नसक्ने शुभसाइत सहकारी तथा उत्तरदायित्व सहकारीका बचतकर्ता पनि उजुरीका लागि संगठित हुँदै गएको अवस्था छ । खाइनखाई भविष्यका लागि भनेर सहकारीमा बचत गरेको करोडौं रुपैयाँ बचत फिर्ता गर्न आनकान गर्ने सहकारीका सञ्चालक बिरूद्ध कडा कारवाही गरी बचतकर्ताको बचत रकम फिर्ताको बातावरण सरकारले बनाइ दिनु पर्छ । सरकार नागरिकको अभिभावक हो भन्ने भान दिलाउन पनि नीति र नियमको सही प्रयोग गर्दै बचतकर्ताको बचत रकम हिनामिना गर्ने सहकारीका सञ्चालकबाट असुली गर्दै पीडाबाट मुक्त गराउनु पर्छ ।
सहकारीका नाममा गाउँमाभन्दा सहरमा बढी ठगी भइरहेको पाइन्छ । विभिन्न स्किमका नाम दिएर व्याजको लोभ देखाउँदै बचतकर्तालाई आकर्षित गरेर छोटो समयमा करोडौं निक्षेप रकम संकलन गरी मनोमानी खर्च तथा ऋण प्रवाह गर्ने सञ्चालकद्वारा सर्वसाधारण बचतकर्ता ठगीमा परिरहेका छन् । सहकारीको मुख्य कार्यालय, पदाधिकारी र कारोवारको अवस्था बारेमा अज्ञात रहँदा रहँदै पनि आकर्षक व्याजको लोभमा परेर बचतकर्ता ठगिनु पर्ने दुर्भाग्य छ । पछिल्ला केही वर्षयता सरकारी निकायबाट सहकारीको नियमन हुन सकेको छैन । यही सरकारी दुर्वलताको फाइदा उठाउँदै ठगको गिरोह तयार भएर सहकारीका नाममा ठग्ने प्रवृत्ति बढेको हो । तीन तहका सरकार छन् । संविधान तथा नीति नियमले यी सरकारको सहकारीप्रति स्पष्ट जिम्मेवारी पनि तोकिदिएको छ तर पनि सरकार जिम्मेवार नहुँदा सहकारीको नाममा अनाकमा ठगिने दर तीव्र छ । यस्तो विकराल अवस्था रोक्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार जिम्मेवार हुनै पर्छ । समयमै सरकार सचेत नहुने हो भने नेपालको सहकारी अभियान ठगीको नामले बदनाम भएर सधैंका लागि अन्त्य हुन सक्छ । सहकारीका कारण साहुमहाजनको शोषण अन्त्य भएको सत्य बिर्सनु हुँदैन । नागरिकको आर्थिक उन्नतिमा सहकारीको महत्वपूर्ण उपस्थिति रहेको बास्तविकता सम्झँदै सरकारले सहकारीलाई बदनाम गराउनेहरूको पहिचान गरी ठगी कार्य रोक्नु पर्दछ । राजनीतिको आडमा होस् या पद र पहुँचको बाहनामा सहकारीको रकम अपचलन गरी ठग्नेहरू कानुनको दायरामा ल्याइनु पर्दछ । नागरिकले खाइ नखाई भविश्यको जोहो भनेर बचत गरेको रकम ऋण लिने, दिने वा सुरक्षा गरिदिने बाहनामा निजी सम्पत्ति जस्तै आफ्नो खातामा जम्मा गरी अन्यत्र लगानी गर्नेहरू वित्तिय अपराधी हुन् । यी अपराधीको जालका कारण हजारौ व्यक्ति पैसा लुटिएर खालिहात बन्न बाध्य छन् । सहकारीको भावना विपरित चल्ने जो सुकै सञ्चालक, ऋणी या कारोवारी ऐनको दायरामा आउने वातावरण बनाउन राज्य जिम्मेवार हुनै पर्छ ।