मेची रंगशालाको चमकले छुन नसकेको अलपत्र जिपी भवन
१८ वर्षपछि पहिलो पटक खेलमय भएको भद्रपुर स्थित मेची रंगशालाको मुहारमा आमुल परिवर्तन भएसंगै आसपासका भौतिक संरचनामा पनि विकासको गतिले राम्रै गतिमा छुँदा मुहारमा परिवर्तन आएको छ । १५ वर्षयता नामविहिन बन्न पुगेको तत्कालिन महेन्द्र पार्कमा समेत उज्यालो स्वरूप निर्माण भइसकेको छ भने मेची राजमार्गको चन्द्रगढी भद्रपुर खण्डको रंगशालासित जोडिएको भागमा निर्माण भएको सडक पेटीले राजमार्गको मुहार नै परिवर्तन गरिदिएको छ तर यही रंगशालासित गासिएको प्रदेश १ कै सर्वाधिक ठूलो भनिएको सरकारी स्वामित्वको गणतन्त्र नेपालको प्रतीकका रूपमा निर्माण थालिएको गिरिजाप्रसाद स्मृति सभाहललाई भने अन्धकारले नछोड्दा अलपत्र रूपमा बेवारिसे बनिरहेको आभाष दिइरहेको छ । पाँच वर्षयता निर्माण कार्य पूर्ण रूपमा रोकिएको यस भवनको अलपत्र स्वरूपले सदरमुकाम भद्रपुरको विकासलाई समेत गिज्याइरहेको छ ।
निर्माण कार्य अधुरो छाडिएको यो भवन अहिले लागु औषध सेवनकर्ता र यौन क्रियाकलाप गर्ने व्यक्तिहरूका लागि सजिलो बस्ने ठाउँका रूपमा परिणत भएको छ । भवन निर्माणको दायित्व पाएको संघीय सरकार भवन बनाउनतिर लाग्न सकेन । सरकारको ध्यान भवन निर्माण सम्पन्न गराउन संघीय सरकारलाई बाध्य बनाउने जनप्रतिनिधि संघीय सांसद गणतन्त्रका कट्ट् बिरोधी निर्वाचित भएपछि नै यो भवन अलपत्रको शृंखला लम्बिदै गएको छ । नेपाल सरकार कै करोडौं रकम खर्च भइसकेको र केही करोड खर्च गर्दा सरकारलाई नै फाइदा पुग्ने यस भवनको अलपत्र अवस्था अन्य गर्र्न सरोकारवाला तथा सम्बन्धित निकाय मौन देखिएका छन् ।
२०७२ साल असार २८ मा तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भव्य समारोहको आयोजना गरी संयुक्त रूपमा शिलान्यास गरेको भवनको वर्तमान अवस्था हेर्दा संघीय गणतन्त्र नेपालको परिवर्तनका पक्षधरहरू निरीह बन्दै गएका छन् भने यस परिवर्तनका बिरोधी शक्तिशाली भएर उदाएका छन् । होइन भने जिपी भवन जस्ता परिवर्तित व्यवस्थाका स्मृतिका रूपमा निर्माण थालिएका सरकारी स्वामित्वका संरचना निर्माणकै चरणमा किन अलपत्र छोडिन्छन् त ? सत्ता र शक्तिमा रहने दल तथा तिनका प्रतिनिधि हुँ भन्नेहरूले जवाफ दिनु पर्दैन त ?
संघीय गणतन्त्रका पक्षधर काँग्रेस, एमाले, माओवादी तथा फोरम लोकतान्त्रिक गरी चारै दलका शीर्ष नेताहरू एकै ठाउँमा उभिएर यस भवनको शिलान्यास गरेकोले तोकिएको समयमै भवन बन्ने स्थानीय बासिन्दाको विश्वास थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाको पालामा शिलान्यासपछि देशमा सातजना प्रधानमन्त्री बनिसकेका छन् । ओली, प्रचण्ड र देउवा दुई—दुई पटक प्रधानमन्त्री बनिसकेका छन् तर कसैले पनि यस भवनको उन्नतिका लागि कुनै पहल गरेनन् । के अब यस भवनले निर्माण सम्पन्न हुने वातावरण पाउादैन त ? दक्षिणी झापाका बासिन्दाले गरिरहेको यो प्रश्नको उत्तर कहिले आउँला ?