झापामा मानव हात्ती द्वन्द कहिले घट्ला सरकार ?

झापामा मानव हात्ती द्वन्द्वको सुरूवात कहिलेबाट भएको हो भन्ने राज्यको आधिकारिक निकायले एकिन तथ्य दिन सक्दैन तर सरकारी विवरणले १० वर्षे अवधिसम्मको विवरण देखाउने गरेको पाइन्छ । यस अवधिमा झापामा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । वन डिभिजन झापाको विवरण अनुसार जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने हात्ती छन् भने भारतबाट आउने जङ्गली हात्तीको ठूला साना गरी विभिन्न झुण्ड झापामा आवतजावत गर्ने गर्दछन् । बाली पाकेको समयमा बढी सकृय देखिने हात्ती आक्रमणबाट मानिसको मृत्यु हुने गरेको डिभिजन वन कार्यालय झापाको विवरणले जनाउने गरेको छ । गरिब र अभावमा रहेका नागरिक नै ज्यान गुमाउने सूचिमा अग्रभागमा देखिन्छन् । जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालयको घटना विवरण पुस्तिका उल्लेख भएको पाइन्छ ।

बाहिरबाट आहाराकै लागि हूलमा आउने हात्तीले बालीनाली खाइदिएर तहसनहस पार्छन् भने केही रैथाने हात्ती पनि रहेको झापामा घरभित्र पसेर अन्नपात राखेको ठाउँसम्म पुगेर खाइ दिने काम ती रैथाने हात्तीबाटै बढी हुनेगरेको स्थानीयको अनुभव छ । घरमा जाँड–रक्सी बनाउने गरेको छ भने त हात्तीका निम्ति त्यो प्रिय पदार्थ हुनेगरेको छ । हात्ती–प्रकोपको सामना कसरी गर्ने ? विषयमा एउटै विचार लिएर कोही पनि विज्ञ आउन सकेका छैनन्  । स्थानीय पीडित एकथरी हात्तीसँग प्रतिशोध लिनुपर्ने ठान्छन्, अर्कोथरी सहअस्तित्वका उपाय खोज्नुपर्ने मत राख्छन् । त्यसरी अन्यौलमा रहेका नागरिकप्रति सही सुझाव दिन सक्ने विज्ञ पनि छैनन् । स्थानीय अग्रज व्यक्तिहरूको भनाइ अनुसार वि सं २०४१ साल यता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती मानव द्वन्द्व नियन्त्रणको पटक पटक गरिएको प्रयास अहिलेसम्म सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । तीन दशकसम्म उत्तरी झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती आतङ्क पछिल्ला तीन वर्षयता पूर्व, दक्षिण, पश्चिम गरी समग्र झापाको समस्या बनेर ज्यान लिने खेल भइ रहेको छ । मान्छे र हात्ती दुवै बाँच्ने सहअस्तित्वका उपायहरू नखोजिएको कारण यस्तो भएको हो कि भन्ने प्रश्न पनि उठेको छ । तारबार र जैविक मार्ग हात्ती नियन्त्रणको दीर्घकालिन समाधान हुने कार्य योजनाको लक्ष्य राखेर उत्तरी बाहुण्डागी र दक्षिणको जलथल जंगलमा काम अगाडि बढाइएको भए पनि समस्या हल हुन सकेको छैन ।