झापाका ६ लाख ६३ हजार ३११ जना मतदाताले ५ वर्षका लागि आफ्ना प्रतिनिधि छान्दै
जनमतले अनुमोदित भइ सत्ता सञ्चालनको चावी ५ वर्षका लागि लिने अवसरका रूपमा रहेको आम निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको छ । संघीय संसदका लागि ५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि १० वटा प्रत्यक्ष क्षेत्रमा समेटिएको झापामा १५ वटा स्थानीय तह तथा १ सय ३१ वटा वडा रहेका छन् । ५ वर्षे अवधिका लागि झापामा यस निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाताले मतदान गर्न पाउने छन् । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष र ३ लाख ३२ हजार २ सय ५९ महिला तथा अन्य ८ जना मतदाताले झापाबाट जनप्रतिनिधि छान्न पाउने छन् । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी छन् । झापामा सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र झापा ५ हो भने कम मतदाता भएको क्षेत्र झापा १ रहेको जिल्ला निर्वाचन कार्यालयको मतदाता विवरणले देखाउँछ । यस निर्वाचनका लागि झापामा ७ सय ६८ मतदान केन्द्र र २ सय ८५ वटा मतदानस्थल कायम गरिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा झापा १ मा पुरूष ६० हजार दुई सय ३७ र महिला ६० हजार एक सय ३८ जना गरी एक लाख २० हजार तीन सय ७५ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ४५ वटा मतदान स्थल तथा १ सय ३४ मतदान केन्द्र रहेका छन् । प्रदेश सभा (क) तर्फ पुरूष मतदाता ३६ हजार एक सय ९८ जना र महिला मतदाता ३५ हजार सात सय ७९ जना गरी ७१ हजार नौ सय ७७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा २८ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् । प्रदेश सभा (ख) मा २४ हजार ३९ पुरूष मतदाता तथा २४ हजार ३ सय ५९ महिला मतदाता गरी ४८ हजार ३ सय ९८ मतदाता रहेका छन् । यस क्षेत्रमा १७ वटा मतदान स्थल र ५४ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै झापा क्षेत्र नम्वर २ अर्जुनधारा नगरपालिकाका सबै ११ वडा, विर्तामोड नगरपालिकाका ९, बुद्धशान्ति गाउँपालिकाका ३ र कन्काई नगरपालिकाका २ वडा गरी २५ वटा वडामा समेटिएको छ । यस क्षेत्रमा १ लाख ३४ हजार ९१ मतदाता छन् । जसमा पुरूष मतदाता ६६ हजार ६ सय ५७ जना र महिला ६७ हजार ४ सय २९ तथा अन्य ५ जना रहेका छन् । प्रदेश क्षेत्रका आधारमा (क) तर्फ पुरूष २९ हजार ५ सय ३२, महिला २९ हजार ७ सय ७० र अन्य २ जना गरी ५९ हजार ३ सय ४ जना मतदाता छन् । यस्तै (ख) मा ३७ हजार १ सय २५ पुरूष, ३७ हजार ६ सय ५९ महिला र ३ जना अन्य मतदाता रहेका छन् ।
झापा–३ नम्वर क्षेत्र प्रदेश (क) तर्फ पुरूष मतदाता ३३ हजार सात सय ८२ जना र महिला मतदाता ३३ हजार चार सय ६६ जना गरी ६७ हजार दुई सय ४८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ३६ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र (ख) मा ३२ हजार दुई सय ७९ पुरूष मतदाता तथा ३१ हजार ९ सय ५ महिला मतदाता गरी ६४ हजार १ सय ८४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३१ वटा मतदान स्थल र ७५ वटा मतदान केन्द्र रहेका छन् । झापा ३ मा पुरूष ६६ हजार २२ जना र महिला ६५ हजार तीन सय ७१ जना गरी एक लाख ३१ हजार चार सय ३२ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६७ वटा मतदान स्थल तथा १ सय ५५ मतदान केन्द्र रहेका छन् ।
झापा ४ मा प्रदेश (क) तर्फ २६ हजार ७ सय ५५ पुरूष, २६ हजार ४ सय ४९ महिला र अन्य १ जना गरी ५३ हजार २ सय ५ जना मतदाता रहेका छन् । यस्तै प्रदेश (ख) मा पुरूष ३५ हजार २ सय ७० तथा महिला ३४ हजार ६ सय ५२ गरी ६९ हजार ९ सय १९ जना मतदाता छन् । पुरूष ६२ हजार २२ जना, महिला ६१ हजार १ सय १ र अन्य १ जना मतदाता गरी झापा ४ मा जम्मा १ लाख २३ हजार १ सय २४ मतदाता छन् । यस क्षेत्रमा ६३ वटा मतदान स्थल तथा १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् ।
त्यस्तै झापा ५ मा प्रदेश सभा (क) तर्फ पुरूष ३७ हजार ५ सय ६४, महिला ३७ हजार २ सय ६९ र अन्य १ जना गरी ७४ हजार ८ सय ३४ जना मतदाता रहेका छन् भने प्रदेश सभा (ख) मा ३८ हजार ५ सय ३ पुरूष, ४० हजार ९ सय ५१ जना महिला र १ जना अन्य गरी ७९ हजार ४ सय ५५ जना मतदाता रहेका छन् । पुरूष ७६ हजार ६७ जना , महिला ७८ हजार २ सय २० जना र अन्य २ जना गरी झापा ५ को समग्र मतदाता संख्या १ लाख ५४ हजार २ सय ८९ रहेको छ । झापा ५ मा ६१ वटा मतदान स्थल तथा १ सय ७६ वटा मतदान केन्द्र रहेका छन् ।