काँग्रेस नेता तथा झापा ३ का उम्मेदवार कृष्णप्रसाद सिटौला यस पटक जीत निकाल्न सवैले सघाउँदै

भद्रपुर । झापा ३ बाट संघीय संसदका लागि सातौं पटक होमिएका काँग्रेसका पूर्वमहामन्त्री तथा झापा ३ का उम्मेदवार कृष्णप्रसाद सिटौला यस पटक जीवनको उत्तरार्धमा जीत निकालेरै छोड्न टोलटोलमा पैदल यात्रा गर्दै जनमत बटुलिरहेका छन् ।

प्रदेश सभा (क) मा काँग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका पूर्णप्रसादसिंह राजवंशीलाई प्रदेश सभाको उम्मेदवारका रूपमा साथमा लिएर हरेक दिन गाउँ गाउँ पैदलयात्रा गरिरहेका सिटौलाले युवादेखि जेष्ठ नागरिकसम्मको साथ र समर्थन पाएर जीतका लागि जनमत बटुलिरहेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि झापा ३ ले सिटौलालाई विजयको माला लगाइ दिन पर्खिरहेको भान कार्यर्ताले गर्न थालेका थिए । हुन पनि अघिल्लो निर्वाचनमा संघीयता विरोधी राजतन्त्रका कट्टर अनुयायीले यस निर्वाचन क्षेत्रमा जितेपछि विकासका काम ठप्प हुन पुगेका छन् । दक्षिणी झापाको भलाइ चाहने अधिकाम्स व्यक्ति यस पटक सिटौलालाई जिताउन सघाइराखेका पनि देखिन्छन् ।

त्यसैको परिणाम हुन सक्छ, तीव्र गतिमा मतदाता भेट्न हिडिरहेका सिटौलाले स्थानीयका कुरा सुन्ने, भलाकुसारी गर्ने, सुखदुःखका कुरा गर्ने काम भने समय अभावले गर्न भ्याउँदैनन् । शुभ चिन्तक कार्यकर्तालाई लिएर अघि–अघि हिँडिरहेका नेता सिटौला । उत्तरमा झापाको चन्द्रगढीदेखि दक्षिणमा कचनकवल, बाह्रदशीसम्मको भूगोल रहेको झापा ३ सुगम भन्दा दुर्गम ग्रामीण बस्ती बढी रहेको क्षेत्रमा पर्दछ ।

झापा ३ (क) मा नेपाली काँग्रेसका आदिवासी समुदायका प्रतिभावान व्यक्ति भूमिप्रसाद राजवंशी प्रदेश सभाका उम्मेदवार छन् । शिक्षण पेशामा रहेर दक्षिणी झापाको उन्नतिमा निरनतर सेवा प्रवाह गरेका राजवंशी आदिवासी समुदायका लोकप्रीय नेता समेत हुन् । यस क्षेत्रमा सिटौला प्रत्यक्षतर्फ र समानुपातिक तर्फ ‘ प्रदेश र संघमा काँग्रेसको चिन्ह रूखमा छाप लगाउन मतदातालाई अनुरोध गर्दै टोल टोलमा गएर भोट मागिरहेका छन् । यस क्षेत्रमा पुरूष मतदाता ३३ हजार सात सय ८२ जना र महिला मतदाता ३३ हजार चार सय ६६ जना गरी ६७ हजार दुई सय ४८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ३६ वटा मतदान स्थल र ८० वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी झापा ३ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्णप्रसादसिंह राजवंशी उम्मेदवार छन् । उनी जनयुद्धका सशक्त राजनीतिक कमाण्डर समेत हुन् । सिटौलाले आफू र पूर्णप्रसादसिंहका लागि पनि भोट मागिरहेका छन् । सिटौला ‘ प्रदेशमा माओवादी र संघमा कांग्रेसलाई मतदान गरौं ।’ भन्दै प्रदेश सभा (ख) मा टोल टोलमा गएर भोट मागिरहेका छन् । यस क्षेत्रमा ३२ हजार दुई सय ७९ पुरूष मतदाता तथा ३१ हजार ९ सय ५ महिला मतदाता गरी ६४ हजार १ सय ८४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३१ वटा मतदान स्थल र ७५ वटा मतदान केन्द्र रहेका छन् ।

झापा ३ मा पुरूष ६६ हजार २२ जना र महिला ६५ हजार तीन सय ७१ जना गरी एक लाख ३१ हजार चार सय ३२ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६७ वटा मतदान स्थल तथा १५५ मतदान केन्द्र रहेका छन् ।

सिटौलाको मतदाताप्रतिको प्रतिबद्धता “झापा क्षेत्र नम्बर ३ का समग्र जनताको भावनामाथि उच्च सम्मान गर्दै विकासको विग्रिएको गति सपारेर उन्नतितिर लैजान्छु भन्दै, “यहाँको विकासका लागि जहिल्यै प्रतिबद्ध छु÷ रहनेछु ।” भन्ने गरेका छन् ।

विकास निर्माणका लागि झापा क्षेत्र नम्बर–३ मा कृष्णप्रसाद सिटौलाले संसद हुँदा दर्जनौं आयोजना सम्पन्न गरेका थिए भने उनकै कार्यकालमा निर्माण शुरू भएका दर्जनौ बहुवर्षे आयोजना अलपत्र पनि छन् । उनकै पहलमा चारआली–केचना ४० किलोमिटर सडक निर्माण सम्पन्न भयो । सडक निर्माण नभएसम्म बाटोको अत्यन्तै असुविधा भोगिरहेका स्थानीयले सडक सम्पन्न भएपश्चात सडकको उपभोगमात्रै होइन, ब्यापार–ब्यवसाय प्रवद्र्धन एवं त्यस क्षेत्रको उत्पादनलाई बजारसम्म पु¥याउन सहज भएको र आर्थिक उन्नतिको बाटो खुलेको बताएका छन् ।

सिटौलाले दोश्रो संविधान सभा अन्र्तगत संसद जितेयता झापा क्षेत्र नम्वर–३ ले हुलाकी सडकको पूर्वपश्चिम ट्रयाक भद्रपुर–राजगढ सडक, मेची राजमार्ग अन्र्तगत चारआली केचना सडक, घेरावारी जलथल सडक, पथरिया बगान घेरावारी कृषि सडक, जलथल अधिकारी दल्की सडक, बालुवाडी बनियानी ग्रामिण सडक, बनियानी पाठामारी, केचना रिङ रोड लगायत दर्जन बढी राजमार्ग तथा भित्री सडकका काम नेपाली कांग्रेस पार्टी एवं सिटौलाको पहलमा सम्पन्न गराएका छन् ।

पथरिया मावि भवन, हिमाली मावि भवन, विभिन्न सामुदायिक भवनदेखि तत्कालीन गाविस केचना, पथरिया, घेराबारी, पाठामारी, बालुबाडी, बनियानी, महेशपुर, पृथ्वीनगर, जलथलका सवै भवनहरू निर्माण, पुनरनिर्माणका योजना पनि उनकै पालामा सम्पन्न गराएका छन् भने उनकै पालामा पाठामारी, केचना, पृथ्वीनगर, महेशपुरको सूर्यनगरमा स्वास्थ्यचौकीका भवनहरु निर्माण सम्पन्न भएका छन् र त्यहाँबाट सुचारु सेवाबाट त्यस क्षेत्रका सेवाग्राही लाभान्वीत भइरहेका छन् ।

२०७४ सालको निर्वाचनमा सिटौला पराजित भएपछि उनका पालामा निर्माण शुरु गरिएका दर्जनौ आयोजना अहिले पनि अलपत्र छन् ।

झापा सदरमुकाम दक्षिणको उन्नति प्रगतिमा महत्वपूर्ण भूमिका निभाउने सडक, सिंचाइ, सामुदायिक भवन निर्माण, खानेपानी आयोजना, विद्यालय भवन लगायतका दर्जनौं आयोजनाका लागि सरकारले पठाउनुपर्ने रकम निकासा नगर्दा अलपत्र परेका हुन् । रकम पनि नपठाउने र जितेका उम्मेद्वारले स्थानीयका पीडा पनि नसुन्ने निरन्तरताका कारण नागरिकमा निराशा समेत उत्पन्न भएको छ । यसअघि निर्वाचित सांसदले अलपत्र आयोजनालाई पूर्णता दिने त कुरै छाडौं, अनुगमनमा समेत नगएको स्थानीयको गुनासो छ । सिटौला संसदमा नपुग्दाको असर जनसरोकारका रूपमा रहेका विकासे आयोजनामा परिरहेको स्थानीय बताउँछन् ।

प्रदेश १ कै ठूलो सभाहलको पहिचान पाएको भद्रपुर ८ स्थित मेची रङ्शाला पश्चिमपट्टि निर्माण सुरू भएको गणतन्त्रको पहिलो स्मारक जनाउने गिरिजाप्रसाद कोइराला स्मृति सभाहल आधा काम भएपछि अलपत्र परेको ५ वर्ष पूरा भयो । दोस्रो जनआन्दोलन अघि र पछि सबै दलहरुलाई साझा एजेण्डामा ल्याएर नेतृत्वदायी राजनेताको छवी बनाएका कोइरालाको स्मृतिमा निर्माण शुरु भएको अधुरो सभाहलले स्थानीयबासीलाई नै गिज्याइरहेको छ । सिटौलाले जितेका भए यो भवन पक्कै पनि सबैको साझा सम्पत्ति र शानका रुपमा चन्द्रगढीमा ठडिने थियो ।